प्रस, पोखरिया, १ चैत/

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई व्यावसायिक फाइदा मात्र लिने संस्थाको रूपमा नलिन आग्रह गरेका छन् ।

मङ्गलवार पोखरिया नगरपालिकास्थित पोखरिया जिल्ला अस्पतालमा निर्मित शल्यचिकित्सा कक्ष र सघन उपचार कक्षको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले परम्परागत सोचमा परिवर्तन भएको दाबी गरे । उनले निजी क्षेत्रलाई व्यावसायिक फाइदा मात्र लिने संस्थाको रूपमा परिभाषित गरिंदै आएकोमा अहिले परिवर्तन भएको बताए । उनले कोभिडकालमा अस्पतालहरूसँग सहकार्य गरेर आइसोलेशन बनाउने कार्य नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको बताए । उनले पालिकास्तरमा स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा निजी क्षेत्रले भूमिका खेल्ने र यसमा सरकारले सहकार्य गरेको खण्डमा नतीजा राम्रो आउने दाबी पनि गरे ।

वरिष्ठ उपाध्यक्ष ढकालले राजस्वको सत्तरी प्रतिशत निजी क्षेत्रले धान्दै आएको बताउँदै स्वास्थ्य क्षेत्रको विकासमा सहकार्य गरेर जाँदा देशको प्रगति हुने दाबी गरे । उनले पोखरिया अस्पतालमा निर्मित शल्यचिकित्सा कक्ष र सघन उपचार कक्षबाट यस क्षेत्रका जनताले सेवा पाउने बताए । सोही सेवाको लागि वीरगंज धाउनुपर्ने अवस्था अब नरहने र उपचार अभावमा कसैले पनि ज्यान गुमाउनु नपर्ने उनले बताए ।

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले स्वागत गर्दै देश विकासका हरेक क्षेत्रमा निजी क्षेत्रसँग मिलेर काम गरेमा परिणाम राम्रो आउने बताए । उनले निजी क्षेत्रसँग अर्थ भएको र सरकारले नीति निर्माण गर्ने हुनाले दुवैको सहकार्यमा हुने काम प्रभावकारी हुने बताए । उनकै अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य प्रद्युम्न चौहान, नेपाल उद्योग वाणिज्य सङ्घ स्वास्थ्य समिति संयोजक हेमराज ढकाल, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, लोकतान्त्रिक समाजवादी पार्टीका नेता नेजामुद्दीन समानी, पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण वीउवासङ्घका अधिकृत मनोज उपाध्यायले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here