चिरञ्जीवी सापकोटा, ठोरी, १ चैत/
विश्व उपभोक्ता अधिकार दिवस ठोरी गाउँपालिकामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगंजको आयोजनामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । प्रभातफेरीमा चेतनामूलक प्लेकार्ड बोकी विद्यार्थी, व्यापारी, शिक्षक तथा सरोकार निकायका प्रतिनिधिहरूको सहभागिता थियो ।
ठोरी गापा–२ को सरस्वती माध्यमिक विद्यालयबाट शुरू भएको प्रभातफेरी गौतमनगरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा गापा अध्यक्ष पद्मलाल श्रेष्ठले ठोरीमा जनचेतनामूलक कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए । उनले ग्रामीण भेगका व्यवसायमा लागेका व्यवसायीहरू र उपभोक्ताहरूलाई यस प्रकारको कार्यक्रमले सहयोग पुग्ने बताए । उनले राज्यले मुहानलाई नै सफा गरी निगरानी गर्नुपर्नेमा व्यापारीलाई मात्र निशाना बनाउन नहुने धारणा राखे ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले ठोरी भारतीय सीमासँग जोडिएको भएकोले सामान खरीद गर्दा उपभोक्ता चनाखो र सजग हुनुपर्ने धारणा राखे । उनले सरकारले लगाएको नीति–नियमभित्र रहेर काम गर्न व्यवसायी र उपभोक्तालाई आग्रह गरे ।
वाणिज्य कार्यालय, वीरगंजका निमित्त कार्यालय प्रमुख दीलिपखङ्ग खत्वेको सभापतित्वमा भएको कार्यक्रममा वडाध्यक्ष किशोर तामाङ, सरस्वती माविका प्रधानाध्यापक केशवप्रसाद रेग्मी, व्यवसायी विष्णु विष्ट, नेपाल पत्रकार महासङ्घ, पर्साका उपाध्यक्ष युवराज खड्कालगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सहजीकरण वाणिज्य कार्यालय, वीरगंजका नासु रामप्रवेश यादवले गरेका थिए ।