मस्को, १ चैत/सिन्ह्वा

रूसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्किीले रूस र युक्रेनका बीचमा प्रायः दिनहुँ वार्ता भइरहेको जानकारी दिएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थसमेत मानिने उनले सो जानकारी दिएका हुन् ।

उनले रूस र युक्रेनका द्विपक्षीय वार्ता टोलीका तर्फबाट दिनहुँजसो वार्ता भइरहेको बताउँदै तर ठोस निष्कर्ष भने ननिस्किएको जानकारी दिए । उनले सामाजिक सञ्जालमा लेखेका छन्– हामी दिनहुँजसो वार्ता गरिरहेका छौं, हामीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको एजेन्डा अनुसार वार्ता गरिरहेका छौं ।

युक्रेनमा करीब तीन हप्ताअघिदेखि रूसले आक्रमण गरिरहेको छ । रूसले उसको शब्दमा युक्रेनमा विशेष सैनिक कारबाई गरिरहेको छ । जसका कारण यहाँ कैयौं नागरिकको ज्यान गएको छ भने युक्रेनका संरचनाहरू पनि ध्वस्त भइरहेका छन् । तर वार्ताबाट कुनै निकास भने निस्किएको
छैन ।

रूस–युक्रेन द्वन्द्वबाट यहाँको जनजीवन अस्तव्यस्त भएको छ । युक्रेनमा रहेका आफ्ना नागरिकलाई प्रायः सबै देशले फिर्ता लगिसकेको जनाएका छन् । रूसले युक्रेनमाथिको हमला अझै नरोकेकोले यहाँका नागरिकले दिन प्रतिदिन असुरक्षित महसूस गरिरहेका छन् ।

युक्रेनको मिसाइल आक्रमणमा २० जनाको मृत्यु, २८ जना घाइते

मस्को/एएनआई

रूसी विदेश मन्त्रालयले युक्रेनी सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट २० जनाको मृत्यु भएको र २८ जना घाइते भएका बताएको छ ।

सेनाका अनुसार डोनेट्स्कको एक आवासीय इलाकामा टोचका–यु रणनीतिक मिसाइलले आक्रमण गरिएको थियो । युक्रेनी सञ्चारमाध्यमले डोनबासमा भीषण लडाइँ जारी रहेको बताएको छ ।

युक्रेनको सशस्त्र बलका अनुसार १०० जना रूसी सैनिक मारिएका छन् र छवटा गाडी ध्वस्त भएका छन्, द कीभ इन्डिपेन्डेन्टले उल्लेख गरेको छ ।

रूसले डोनेस्क ओब्लास्टमा युक्रेनी प्रतिरक्षा तोड्ने प्रयास गरिरहेको पनि बताइएको छ ।

कीभ इन्डिपेन्डेन्टले उल्लेख गरेअनुसार रूसले खार्किभमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।

खार्किभका गभर्नर ओलेह सिनयेहुबोभले खार्किभलाई रूसमा राखिएको छोटो दूरीको इस्कन्डर ब्यालिस्टिक मिसाइल प्रणालीले प्रहार गरेको दाबी गरेका छन् ।

गत फेबु्रअरी २४ मा डोनेट्स्क र लुहान्स्क जनगणतन्त्रहरूले आफ्नो रक्षा गर्न मदतको लागि अनुरोध गरेपछि रूसले युक्रेनमा विशेष सैन्य कारबाई शुरू गरेको जनाएको छ ।

रूसी रक्षा मन्त्रालयले विशेष अपरेशनले युक्रेनी सैन्य पूर्वाधारलाई मात्र लक्षित गरेको र सर्वसाधारण नागरिक खतरामा नरहेको बताएको छ ।

यद्यपि पश्चिमा देशहरूले रूसीहरूको यी दाबीहरूलाई अस्वीकार गरेका छन्  र प्रतिक्रियामा पश्चिमी राष्ट्रहरूले मस्कोमा व्यापक प्रतिबन्धहरू लगाएका छन् ।

युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट

कीभ/एएफपी

युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलवार बिहानै कम्तीमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन ।

एकजना एएफपी पत्रकारले टाढाबाट धूवाँको मुस्लो उठेको देखेको तर रातिको समय कफ्र्यूका कारण त्यहाँ पुग्न  नसकेको जनाएका छन् ।

रूस–युक्रेनबीच हरेक दिन वार्ता जारी ः प्रतिनिधिमण्डल

कीभ/एएनआई/स्पुतनिक

रूस–युक्रेन वार्ता प्रत्येक दिन भिडियो ढाँचामा चलिरहेको  रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेदिन्स्किीले बताएका छन् ।

 “हरेक दिन हप्ताको सातै दिन युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता जारी छ । यो ढाँचाले समय र पैसाको बचत गरेको छ,”  मेदिन्स्किीले आफ्नो टेलिग्राम च्यानलमा उल्लेख गरेका छन् । उनले राष्ट्रपतिको अपेक्षा र आदेश अनुसार रूसी प्रतिनिधिमण्डलले आफ्नो सबै काम गरिरहेको बताएका छन् ।

पोलिश, चेक, स्लोभेनियाली प्रधानमन्त्रीहरू मङ्गलवार कीभमा

वार्सा/एएफपी

पोल्यान्ड, चेक र स्लोभेनियाका प्रधानमन्त्रीहरूले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटवार्ताका लागि मङ्गलवार कीभ पुगेको पोल्यान्ड सरकारले एक विज्ञप्तिमार्फत जनाएको छ ।

यो भ्रमणको उद्देश्य युक्रेनको सार्वभौमसत्ता र स्वतन्त्रताको लागि सम्पूर्ण युरोपेली सङ्घको स्पष्ट समर्थन पुष्टि गर्नु र युक्रेनी राज्य र समाजको लागि समर्थनको व्यापक प्याकेज प्रस्तुत गर्नु हो, विज्ञप्तिमा भनिएको छ ।

चीन र स्पेनका विदेशमन्त्रीबीच फोनवार्ता

बेइजिङ/सिन्ह्वा

चिनियाँ विदेशमन्त्री वाङ यी र स्पेनिश विदेशमन्त्री जो मानुअल अलवारेसबीच फोनवार्ता भएको छ । उनीहरूका बीचमा सोमवार फोनवार्ता भएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जानकारी दिएको छ । प्राप्त समाचार अनुसार उनीहरूका बीचमा द्विपक्षीय हितका विभिन्न विषयहरूमा कुराकानी भएको थियो । उनीहरूले पछिल्लो समयमा रूस र युक्रेनका बीचको द्वन्द्वका बारेमा पनि कुराकानी गरेका थिए ।

पछिल्लो समयमा युक्रेनमा विकसित भएको परिस्थितिका विषयमा उनीहरूका बीचमा कुराकानी भएको जनाइएको छ । उनीहरूबीच भएको वार्तामा रूस र युक्रेनले तत्कालै युद्धविराम गरी समस्याको समाधान खोज्न आग्रह गरिएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here