आमाले नौ महीना गर्भमा राखेर जन्माएको शिशुलाई आमा र बुबा अनि परिवारका अन्य सदस्यहरूले खूबै मायाका साथ हेरचाह गर्छन् । उनीहरूको सबैखाले मागलाई आमा र बुबाले प्राथमिकतामा राखेर हैसियत अनुसार पूरा गर्छन् । यो हाम्रो समाजको अहिलेसम्मको दृष्टान्त हो । तर त्यही आमा र बुबा उमेर हदका कारण अशक्त हुन्छन अनि त्यही माया पाएका छोराछोरीबाट हेपिएको, अपहेलित भएका दुष्टान्तहरू हाम्रो समाजमा देखिने गरेका परिदृश्यहरू हुन् । ससाना नानीहरू मायामा पालिने प्रचलन अनि बूढाबूढी भएपछि हेपिएर बाँच्नुपर्ने कारणबाट देशभरमा थुप्रै बूढाबूढी अर्थात् ज्येष्ठ नागरिकहरू पीडित छन् । छोराछोरीहरू खासगरी वैवाहिक जीवनमा बाँधिएपछि आमा, बुबाहरू अपहेलनाको शिकार हुन्छन् । छोरी विवाहित भएर गएपछि घरमा सासू–ससुरासँग आमा र बुबा सरहको व्यवहार गर्न सक्दैनन् भने सासू–ससुराले पनि बुहारीलाई छोरीको दर्जामा राख्न सक्दैनन् । विवाह भएर छोरी अन्यको घरमा जाओस् अथवा अर्काकी छोरी बुहारीको रूपमा आफ्नो घरमा आओस् दुवैतर्फ यसै प्रकारका शृङ्खलाहरू चल्दै आएका छन्, हाम्रो समाजमा ।
युरोप, अमेरिका जस्ता समृद्ध देशहरूमा पनि यो समस्या छ । तर त्यहाँका मानिसहरू आत्मनिर्भर छन् र उनीहरू बुढेसकालमा छोराछोरीको आर्थिक सहयोगमा आश्रित हुँदैनन् । आर्थिकरूपमा सम्पन्न ज्येष्ठ नागरिकहरूका लागि आवश्यक सुविधाहरू सरकारले उपलब्ध गराएका कारण उनीहरूलाई छोराछोरीले नहेर्लान् कि भन्ने चिन्ता रहन्न । तर उनीहरू एक्लोपनको जीवन बिताउनुपरेकोमा दुःखी अवश्य हुन्छन् । किनभने आफुले जन्माएर हुर्काएको छोराछोरीसँग यो उमेर समूहमा आइपुग्दा सँगै बसौं, नातिनातिनासँग खेलौं रमाऔं भन्ने चाहना हरेक मानिसमा हुन्छ । हामी आर्थिकरूपमा कमजोर छौं र हाम्रो समाजका अधिंकाश ज्येष्ठ नागरिक छोराछोरीमाथि आश्रित छन् । सम्पन्न घरपरिवारमा पनि बुहारी भित्रिएपछि र नातिनातिना जन्मेपछि ज्येष्ठ नागरिकहरू अपहेलनाको शिकार हुने गरेको पाइएको छ । त्यसैले एकताका उमेर पुगेका बूढाबूढीहरू मृत्यु कुर्नका लागि परिवारसँग घरमा बस्नुभन्दा धार्मिकस्थलहरूमा एकान्त बस्न मन पराउँथे । हाम्रो देशमा चितवनको प्रसिद्ध देवघाट यसको उदाहरण हो । पछिल्ला समयमा देशका विभिन्न स्थानमा वृद्धाश्रम बनिरहेका छन् । घरपरिवारमा रुमलिएर सम्मानका साथ बाँच्न सक्ने वातावरण नभएकै कारण ज्येष्ठ नागरिकहरू वृद्धाश्रममा बस्नुपरेको कुरालाई आत्मसात गर्नैपर्छ । हाम्रो देशमा ज्येष्ठ नागरिकहरू सम्मानका साथ बस्न पाऊन् भन्ने उद्देश्यले एमाले नेतृत्वको पहिलो नौ महीने सरकारले मासिक सय रुपैयाँ दिने व्यवस्था गरेको थियो । अहिलेसम्म यो सामाजिक सुरक्षा भत्ता मासिक रु चार हजारमा परिणत भएको छ । बदलिंदो समयमा महँगी बढेकोमा यो रकम पर्याप्त छैन तर ज्येष्ठ नागरिकलाई जाउलोसम्म खाने वातावरण बनेको छ । भोकै सुत्नुपर्ने अवस्था छैन ।
केही ज्येष्ठ नागरिकहरू यही सामाजिक सुरक्षाभत्ताका कारण अहिले घरपरिवारमा सम्मानका साथ बाँच्न पाएका छन् । मानिस जन्मेपछि बूढो हुन्छ र जसरी बाल्यावस्थामा आमाबुबाले आफ्ना छोराछोरीको लालन र पालन जिम्मेवारीपूर्वक गर्छन् । त्यसैगरी, वृद्धावस्थामा पनि छोराछोरीले उही तरीकाबाट आफ्ना आमाबुबाको हेरचाह, पालनपोषण गर्नुपर्छ भन्ने सन्देश दिन जरुरी छ ।