- राजेश मिश्र
सरस्वती पूजापछि वसन्तऋतुमा मनाइने अर्को महŒवपूर्ण चाड हो, फागु पर्व अर्थात् ‘होली’ । फागु पर्वसँग अनेकौं कथाहरू जोडिएका छन् । तीमध्ये हरिभक्त प्रह्लादको कथा सबैभन्दा प्रसिद्ध
छ ।
प्राचीनकालमा हिरण्यकशिपु नामक एकजना अति शक्तिशाली राक्षस थिए । शक्तिको अहङ्कारमा उनले आफूलाई भगवान् ठान्थे । राज्यमा उनले भगवान्को नाम लिन प्रतिबन्ध लगाएका थिए । हिरण्यकशिपुका छोरा प्रह्लाद भगवान् विष्णुका भक्त थिए । भगवान्प्रतिको प्रह्लादको भक्ति देखेर क्रोधित हिरण्यकशिपुले प्रह्लादलाई अनेकौं कठोर सजाय दिए । जङ्गलमा फाल्न लगाए, तर सर्प आदि जीवजन्तुले आक्रमण गरेनन् । उम्लिरहेको तेलमा हाल्न लगाए, यद्यपि हरिभक्त प्रह्लादलाई केही भएन । जस्तोसुकै कठोर सजाय दिंदा पनि न प्रह्लादलाई केही भयो, न उनी भक्तिको मार्गबाट विचलित भए ।
अन्ततोगत्वा आक्रोशित हिरण्यकशिपुले बहिनी होलिकाको सहारा लिए, जसलाई अग्निले भस्म पार्न नसक्ने वरदान प्राप्त थियो । प्रह्लादलाई काखमा लिएर आगोमा बस्न हिरण्यकशिपुले होलिकालाई आदेश दिएछन् । आगोमा बस्दा होलिका जलेर भस्म भइन्, तर प्रह्लादलाई केही भएन । यसै कारण भक्त प्रह्लादको सम्झनामा ‘होलिका दहन’ गर्ने र भोलिपल्ट रङ, अबिर खेल्ने परम्परा सदियौंदेखि निरन्तर छ । शत्रुता र उत्पीडनको प्रतीक होलिका (जल्ने काठ) जलेर भस्म हुने र प्रेम तथा उल्लासका प्रतीक प्रह्लाद अर्थात् आनन्द अक्षुण्ण रहने कुरा फागु पर्वले बोध गराउँछ । असत्यमाथि सत्यको विजयको रूपमा फागु पर्व मनाउने परम्परा छ ।
भक्त प्रह्लादको कथाबाहेक फागु पर्वसँग अन्य कथाहरू पनि जोडिएका छन् । जस्तै राक्षसी धुण्डी, राधाकृष्णको रस र कामदेवको पुनर्जन्मसँग पनि जोडिएको छ । यसका साथै भगवान् शिवका गणहरू जस्तै विभिन्न भेषभूषा धारण गरेर जन्तेको रूपमा नाच्ने, गाउने र झुम्मिने परम्परा पनि छ । त्यस्तै, भगवान् श्रीकृष्णले यस दिन पूतना नामक राक्षसीको वध गरेका थिए । त्यसैको खुशीमा गोपी र ग्वालाहरूले रङ खेलेर रासलीला गरेको लोकमान्यता छ ।
सरस्वती पूजाको विसर्जनको दिन मधेसमा धूलो उडाउने लोकपरम्परालाई फागु पर्व आगमनको सूचक मानिन्छ । धार्मिक, ऐतिहासिक एवं सामाजिक दृष्टिकोणले फागु पर्व रङ, अबिरका साथै खुशी र उल्लासको महान् चाड हो । हिन्दू पञ्चाङ्ग अनुसार फागुन मासको पूर्णिमा तिथिको दिन फागु पर्व मनाइन्छ । पछिल्लो समय नेपाल तथा भारतका साथै विश्वभरि फागु पर्व मनाउन थालिएको छ ।
उहिले एक महीनाअघिदेखि फागु पर्वको उल्लास किन प्रकट हुन्थ्यो ? किनभने देवी सरस्वतीको विसर्जनसँगै होली गीतहरू होलीसम्म गुञ्जायमान हुन्थे । त्यसपछि सोही दिन राति ‘चैतावर’ गीतसँगै होली पर्वको समापन हुन्थ्यो । फागु पर्वसँग सम्बन्धित जति पनि स्थानीय लोकभाकाका भजनकीर्तन तथा लोकगीतहरू छन्, ती सबै सन्देशमूलक रचनाहरू हुन् । उहिले धार्मिक ग्रन्थहरूका साथै हारमोनियम, ढोलक, नाल, झाल, कटझाल, डोंफ (डफुली)लगायतका विविध वाद्ययन्त्र देहाती जनजीवनका अभिन्न अङ्ग थिए । गाउँहरूमा दैनिकजसो भजनकीर्तन हुन्थ्यो । मानिस दिनभरि श्रम गर्थे र राति भजनकीर्तनमा रमाउँथे । दैनिक कामकाजको अलावा मानिसहरू लोकसंस्कृतिप्रति कटिबद्ध थिए ।
दिनहुँ हुने भजनकीर्तनले होलीको तरङ्ग जनमनमा तरङ्गित हुन्थ्यो । जब स्थानीय सुर र वाद्ययन्त्रको ताल प्रतिध्वनित हुन्थ्यो, तब माहोल कति गुल्जार हुन्थ्यो, अहिले कल्पना मात्र गर्न सकिन्छ । उहिले गाउँहरूमा सधैंजसो भजनकीर्तन हुने तथा बस्दै र सुन्दै युवाहरूको रुचि बढ्थ्यो । अघिल्लो पुस्ताको रेखदेखमा पछिल्लो पुस्ताले गाउँथ्यो, बजाउँथ्यो र सिक्थ्यो । गायन विद्या सिक्नका लागि न कुनै विश्वविद्यालय थियो, न सरकारबाट नियुक्त शिक्षक । आफ्नो गाउँठाउँ नै विश्वविद्यालय थियो र पुरनियाहरू त्यसका गुरुतुल्य शिक्षक थिए । पुरनियाहरूले गलती बताउँथे, सच्याउन भन्थे र युवापीढी निर्देशनबमोजिम गलती सुधार गर्थे । समयक्रमसँगै युवाहरू क्रमशः वयस्क तथा वृद्धको उमेरमा पुग्थे र नवपुस्तालाई प्रशिक्षित गर्दथे । यसैगरी, पुरातनकालदेखि लोकगीतहरू हस्तान्तरण हुँदै आइरहेका छन् । उहिले अपवादबाहेक कुनै पनि यस्तो गाउँ थिएन, जहाँ दश/बा¥ह जनाको समूहगत एक भजनमण्डली थिएन । त्यसैमध्ये कोही गायक, कोही सहायक, त कोही ढोलक, त कोही हारमोनियमका ज्ञाता हुन्थे । पछिल्लो समय लोकगीत, गायन र वादन एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने क्रम चिन्ताजनकरूपमा सुस्त भइसकेको छ ।
खोजी गर्ने हो भने स्थानीय गायन र वादन देहातका विभिन्न गाउँहरूमा अहिले पनि अस्तित्वमा छन् । लोकसंस्कृतिलाई जोगाउँदै बाँचिरहेका पुस्ता हाम्रालागि आभूषणतुल्य छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहहरूलाई लोकसंस्कृतिको संरक्षण र प्रवर्धनको अधिकार प्रदान गरेको छ । यद्यपि लोकसंस्कृतिको संरक्षणप्रति अधिकांश स्थानीय तह चासोशून्य छन् । पाँच वर्षको कार्यकालमा प्रायः स्थानीय तहहरूले स्थानीय लोकसंस्कृतिको उत्थानभन्दा पनि न्यूनतम रकम खर्च गरेर अधिकतम कुम्ल्याउने मानसिकतातर्फ बढी अग्रसर देखिन्छन् । लोकसंस्कृति संरक्षणको नाममा आन्तरिकरूपमा जति रकम खर्च गरेका छन्, सोबाट के के उपलब्धि हासिल भएका छन् ? यी कुरा सार्वजनिक गर्ने हैसियतमा स्थानीय तहहरू छैनन् ।
भोजपुरी भाषा संरक्षणका नाममा उदीयमान संस्थाहरूको दायरमा भोजपुरी लोकसंस्कृतिको संरक्षण र प्रवर्धन पर्छ वा पर्दैन ? यो प्रश्न गर्नु किन आवश्यक छ भने त्यस्ता संस्थाहरूको पहलमा भोजपुरीभाषीका चाडपर्वको झल्को अनुभूति हुने कार्यक्रम हेर्न/सुन्न पाइएको छैन । पुरनियाहरूका मस्तिष्कमा मात्र होइन, केही व्यक्तिहरूसँग कागजका पानामा अङ्कित महŒवपूर्ण भोजपुरी रचनाहरू उनीहरूसँगै अवसान हुने निश्चित प्रायः छ । आर्थिक वा राजनीतिक फाइदा नहुने विषयप्रति सरोकार नराख्ने आजको मानवीय चरित्रलाई असंवेदनशीलताको पराकाष्ठा नभनी के भन्ने त ? आजका सुरक्षित दस्तावेजहरू भावी पुस्ताका लागि ऐतिहासिक उपलब्धि हुन सक्छ । त्यसैले यस्ता विषयहरूलाई झिनोमसिनो होइन, राज्यको सम्पत्तिझैं संरक्षण गर्नुको विकल्प छैन ।
गत वर्ष होलीको अवसरमा पोखरिया नपा–४ का लोकगायकहरूसँग साक्षात्कार गर्ने मौका पाएको थिएँ । तत्पश्चात् आलेख प्रकाशन भएपछि प्रतीक दैनिकका प्रधानसम्पादक जगदीश शर्मा अंकलको सल्लाह अनुसार गत वर्ष प्रतीक दैनिकको कार्यालयमा भजनकीर्तनको आयोजना भएको थियो । लोकगायकहरूलाई खोज्दै जाँदा यस वर्ष पर्साको पकहामैनपुर गाउँपालिका वडा नं १ धोरे गाउँमा पुगें । वीरगंजदेखि तिलावे र सोको दायाँतर्फको बाटो हुँदै धोरे झन्डै १६ किमी पश्चिम दिशामा पर्छ । मधेसको लोकसंस्कृतिप्रति कटिबद्ध भजनकीर्तन मण्डली धोरेमा पनि अस्तित्वमा छ । सो मण्डलीमा झन्डै ५० देखि ९० वर्ष उमेरका वृद्ध तथा वयस्कहरू आबद्ध छन् ।
धोरेको भजनकीर्तन मण्डलीमा आबद्ध सेवानिवृत्त शिक्षक तथा गायक मुरलीधर प्रसाद, हीरालाल सहनी (व्यास तथा हारमोनियम वादक), प्रभुराम (ढोलक वादक) तथा सहयोगीहरू मनोज पटेल, बडेलाल मेहतालगायतसँग होली र लोकगीतसँग आधारित कुराकानीको संक्षिप्त अंश प्रस्तुत छ ।
ठाडे रहो घनश्याम
गगरीया घरे धरी आउँ,
गगरी धरी आउँ,
चुन्दरी बदली आउँ,
करीआउँ सोरहो शिङ्गार,
गगरीया घरे…।
मुरलीधर प्रसादको मुखारबाट लोकभाकामा आधारित उपरोक्त गीत सुनिरहूँ जस्तो लाग्छ । कर्णप्रिय उनको स्वरमा लोकगीतहरू सुनेपछि मन्त्रमुग्ध नहुने कुरै छैन । केहीबेरको कुराकानीपछि मुरलीधर सर समूहका अन्य व्यक्तित्वहरूलाई खोज्न हिंडे । त्यसपछि म र उनका छोरा सन्तोष एकापसमा बातचित गर्न थाल्यौं । हामीबीच कुरा भइरहँदा ‘शेरु’ नाम राखिएको घरपालुवा कुकुर घरीघरी मेरो जीउ सुँघ्दै मेरो वरिपरि घुमिरहेको थियो । पश्चिमतर्फबाट उड्दै आएको एक काग द्वारमा बस्यो । शेरु कागमाथि शेरझैं झम्टन लागेको बेला गल्ली हुँदै आइरहेका मुरलीधर सरतर्फ मेरो ध्यान आकृष्ट भयो । उनको साथमा अरू साथीहरू थिएनन् । उनलाई एक्लै आइरहेको देखें । मेरो छेउमा आएर उनी थचक्क बसे र भने, “केहु ना भेंटाइल ह, कुछ देर बाद फेर खोजे जाएम ।” शायद पूर्वनिर्धारित समयभन्दा म ढिलो पुगेकोले परिश्रममा आधारित जनजीवन श्रममा व्यस्त भइसकेको थियो । मुरलीधर सर आउनुभएपछि सन्तोषले शेरुलाई लिएर घरभित्र गए । गायकहरूको प्रतीक्षा गर्दै पुनः हामीबीच कुराकानी हुन थाल्यो । मेरो आग्रहमा उनको मुखारबाट एक अर्को होलीगीत गुञ्जायमान भयो ।
खेल रहे दोऊ फाग, रङ्गिले रङ्ग महल में,
केकरा हाथ कनक फिंचकारी ?
केकरा हाथ गुलाल ?
रङ्गिले रङ्ग…।
त्यसपछि ‘बैठ बबुवा, तले हम आवतानी’ भन्दै पुनः उनी साथीहरूलाई खोज्न प्रस्थान गरे । यता म मोबाइलमा रूस र युक्रेनको ताजा समाचारतर्फ आकृष्ट भएँ । दश/पन्ध्र मिनेटपछि मानवीय स्वर र पदचापको मिश्रित ध्वनि मेरो कानमा पुग्यो । मुन्टो उठाएर हेर्दा मुरलीधार सर अघिअघि र अन्य साथीहरू पछिपछि आइरहेका थिए । मुरलीधर सरको घरको बरन्डामा बिछाइएको त्रिपालमा हामी चारैतिरबाट गोल घेरा बनाएर बस्यौं । शुरूमा हामीहरूबीच एकापसमा परिचय आदानप्रदान भयो । उनीहरूमध्ये ‘व्यास’ हीरालाल सहनी र प्रभुरामलाई देखेपछि उनीहरूको मुहार मलाई याद आयो । किनभने एक/डेढ दशकअघि कयौंपटक म उनीहरूको कलाको प्रत्यक्षदर्शी थिएँ । त्यसैले मलाई उनीहरूको मुहार स्मरण भयो र चिने । ‘जहाँ चार यार मिल जाए, वहीं रात है गुल्जार’ भनेझैं गायन विद्याका कलाकारहरू एक ठाउँमा भेला भएपछि माहोल गुल्जारमय नहुने कुरै भएन । वर्षात्को बेला आकाशबाट पानीको फोहरा खसेजस्तै व्यास हीरालाल सहनीको मुखारबाट एकपछि अर्को लोकगीतहरूको वर्षात् हुन थाल्यो ।
होरी खेलत जमुना निकल गये,
कहाँ में हार, कहाँ नकबेसर,
कवन गली में हार टुटे,
होरी खेलत जमुना…।
उपरोक्त गीतको आशय अनुसार गोपिनीहरू श्रीकृष्णसँग होलीको उत्सव र उमङ्गमा यतिविघ्न मग्न थिए कि कतिखेर यमुनापारि पुगे भन्ने कुरा उनीहरूलाई पत्तै भएन । फागुको उल्लासमा मग्न गोपिनीहरूका घाँटी र नाकका आभूषण कहाँ टुट्यो ? र कुन गल्लीमा खस्यो ? भन्ने कुराले फागु पर्वको प्रेममय उत्साहलाई वर्णन गर्दछ । विविध लयमा होली गीतको तारतम्यताले माहोल अति आकर्षक बनेको थियो । गीतको तरङ्गले वरिपरिको माहोल उत्साहपूर्ण भएको थियो । हीरालाल सहनीको मुखारबाट एक विरह गीत गुञ्जायमान भयो ।
पिया गइलें विदेश,
पिया गइलें विदेश,
ए बहुरो कवने कारण,
पिया गइलें विदेश…।
यस गीतमार्फत एक पत्नीले ‘पति कुन कारणले विदेश गए’ भन्ने कुराको विलाप गरिरहेकी छन् । चाडपर्वको अवसरमा परदेशबाट पति आएका छैनन् भन्ने सेरोफेरोमा पत्नीको पीडालाई अभिव्यक्त गर्ने आशयका यस्ता थुप्रै भोजपुरी लोकगीत छन् ।
रामायण सहनीले आफूलाई झन्डै ८९ वर्षको बताए । उनको शारीरिक तन्दुरुस्ती बुढ्यौली भए तापनि जोश युवाभन्दा कम छैन । उनीसँग शृङ्गार रस र हास्यरस विद्यामा आधारित पुरानो पुस्ताका थुप्रै रचना वर्षौंदेखि मस्तिष्कमा सङ्ग्रहित छन् ।
काथिन के रङ्ग बनत हैं ?
काथिन के अबिर ?
गङ्गा जल के रङ्ग बनत हैं,
बालु के अबिर,
सियावर रामचन्द्र की जय…।
जोगिरा शैली अर्थात् प्रश्नोत्तर शैलीको यो गीतमा एक पक्षले प्रश्न गर्छ, ‘के को रङ्ग बन्छ र के को अबिर ?’ र अर्को पक्षले उत्तर फर्काउँछ, ‘गङ्गाजलको रङ बन्छ र बालुवाको अबिर ।’ यस्ता गीतहरू यति कर्णप्रिय लाग्छन् कि सोको बयान गरेर साध्य छैन । उहिले फागु पर्वको अवसरमा प्रायः जोगिरा गाउने चलन थियो । संरक्षणकै अभावमा आज जोगिरा लुप्तप्रायः भइसकेको अवस्था छ । आज जोगिरा गाउने लोकगायकहरू खोज्न मुश्किल छ । त्यसैले वर्तमान समयमा विद्यमान विद्याहरू संरक्षण गर्नु आवश्यक छ । पुनः एक अर्को गीतको गुञ्ज उठ्यो ।
उठ सैंया लिख पाँती भेंज नइहरवा,
झुमका मोरा छुट गइलें, हो कोहबरवा…।
उपरोक्त गीतमा एक पत्नीले सुतिरहेको पतिलाई उठाउँदै भनिरहेकी छन्, “पतिदेव उठ्नुस् र एउटा पत्र लेखेर मेरो माइती पठाइदिनुस् किनभने कोहबर घरमा मेरो कानको झुमका छुटेको छ ।” पुस्तान्तरण हुँदै आइरहेका यस्ता थुप्रै भोजपुरी लोकगीत संरक्षणको अभावमा लोप हुने अवस्थामा छन् ।
होलीको प्रसङ्ग चलिरहेकै थियो । त्यसैले होलीसँग सम्बन्धित विषयहरू स्मरण हुनु स्वाभाविक थियो । मण्डलीका सदस्य मनोज पटलले आफ्नो स्मरण सुनाउँदै भने, “गाँव में जब पुरनिया लोग रोज साँझ के होली के गीत गावे लोग, तब हमनी लइकन सन के पिंmचकारी के चिन्ता बढ जाय, एक महीना पहिले से बाँस के फिंचकारी बनावे के काम शुरू हो जाय ।” अर्थात् “जब गाउँमा वृद्धजन प्रत्येक साँझ होलीको गीत गाउँथे, तब हामी बच्चाहरूलाई पिचकारीको खुल्दुली बढ्थ्यो, एक महीनाअघिदेखि बाँसको पिचकारी बनाउने कार्य शुरू हुन्थ्यो” लगायतका विविध स्मरणहरू उनले सुनाए ।
बाल्यकालदेखि वृद्धजनसँग बस्दै आफूले ढोलक बजाउन सिकेको बताउने प्रभुरामले पनि होलीको ठट्यौली प्रसङ्ग सुनाउँदै भने, “गाँव मे एक दमाद बाड्न, उनकर नाम ह प्रसाद महतो, रङ के नाम सुनते हीं भागे लागे लन, हमर एगो भउजाइ बाडी, उनका के खेद के रङ लगावे ली ।” अर्थात् “गाउँमा एकजना ज्वाइँ छन्, उनको नाम हो प्रसाद महतो, रड्ढो नाम सुन्ने बित्तिकै उनी कुलेलम ठोक्छन्, मेरी एक भाउजू हुनुहुन्छ, उनलाई लेखेटेर रङ लगाउँछिन् ।” होलीको माहोलमा ज्वाइँलाई लखेटेर रङ लगाएको कुरा चलेपछि हाँसोठट्टा नहुने कुरै थिएन । त्यस्तै भयो पनि सबैको हाँसो र ठट्टाजन्य स्वर एकसाथ गुञ्जित भयो ।