राधेश्याम पटेल, वीरगंज, २५ फागुन/
देशकै प्रमुख नाका वीरगंज नाकाबाट चालू आर्थिक वर्ष २०७८/७९ को सात महीनामा गत वर्षको तुलनामा करीब ४३ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ ।
इन्धन शीर्षकमा डिजेल, पेट्रोल, एलपी ग्याँस, मटीतेल तथा हवाई इन्धन भएपनि यस नाकाबाट डिजेल, पेट्रोल र एलपी ग्याँस अत्यधिक भित्रिने गरेको छ । भारतबाट सबैभन्दा छोटो दूरीको वीरगंज नाकाबाट सबैभन्दा बढी इन्धन भित्रिने गरेको छ । यो नाकाबाट ढुवानी भाडा कम पर्ने भएकोले इन्धन माथिल्लो पाँच आयातित वस्तुको सूचीमा पर्ने गरेको छ ।
गत आव २०७७/७८ को पहिलो सात महीनामा यो नाकाबाट ४५ अर्ब ६६ करोड ५८ लाख ९८ हजार मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्याँस भित्रिएको थियो भने चालू आवको गत साउनदेखि माघसम्म ८९ अर्ब ३९ करोड ५१ लाख नौ हजार मूल्य बराबरको इन्धन भित्रेको वीरगंज भन्सारले जनाएको छ । जुन गत आवभन्दा ४३ अर्ब ७२ करोड ६२ लाख सात हजार बढी मूल्यको डिजेल, पेट्रोल तथा एलपी ग्याँस भित्रिएको वीरगंज भन्सार कार्यालयको तथ्याङ्क शाखाले जनाएको छ ।
राजस्व सङ्कलनको हिसाबले हेर्ने हो भने गत आवको सात महीनाभन्दा चालू आवको सात महीनामा ११ अर्ब ९३ करोड २३ लाख १७ हजार रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ । चालू आवको सात महीनामा डिजल, पेट्रोल र एलपी ग्याँसको आयातबाट वीरगंज भन्सारले ४१ अर्ब ७५ करोड ९५ लाख ९६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आवको पहिलो सात महीनामा ३० अर्ब ८२ करोड ७२ लाख ७९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत दीलिप केसीले जानकारी गराए ।
वीरगंज नाका भएर चालू आवको माघ मसान्तसम्म रु २५ अर्ब ७६ करोड ३४ लाख ८१ हजार राजस्व तिरेर ५२ अर्ब ९६ करोड ७५ लाख ३७ हजार मूल्य बराबरको सात लाख १८ हजार ७६९ केएल डिजेल भित्रिएको छ भने गत आवको सोही अवधिमा रु १९ अर्ब २३ करोड २३ लाख ८८ हजार राजस्व तिरेर २७ अर्ब १८ करोड ६१ लाख २७ हजार मूल्य बराबरको पाँच लाख ८१ हजार १३३ केएल डिजेल भित्रिएको थियो । डिजेल आयातको परिमाणलाई तुलना गर्ने हो भने गत आवभन्दा २४ प्रतिशत बढी डिजेल आयात भएको छ भने राजस्व पनि पोहोरभन्दा ३४ प्रतिशतले वृद्धि भएको छ । चालू आवको माघसम्म सात महीनामा कुल राजस्व सङ्कलनमा डिजेल आयातबापतको राजस्वले २१.७६ प्रतिशतको योगदान गरेको छ ।
त्यसैगरी, चालू आवको माघसम्म रु १२ अर्ब ६२ करोड ६१ लाख ३९ हजार राजस्व तिरेर १८ अर्ब ३६ करोड ७७ लाख ४० हजार मूल्य बराबरको दुई लाख ३९ हजार ९३२ केएल पेट्रोल भित्रिएको छ । गत आवको सोही अवधिमा नौ अर्ब ८६ करोड ११ लाख २३ हजार राजस्व तिरेर नौ अर्ब १८ करोड ५२ लाख ९७ हजार मूल्य बराबरको एक लाख ९५ हजार ६७२ केएल पेट्रोल भित्रिएको थियो । गत आवको सो अवधिमा कोरोना महामारीको कारण पेट्रोलबाट चल्ने सवारीसाधनको सञ्चालन कम भएकोले पेट्रोल न्यून परिमाणमा भित्रिएको थियो । गत आवभन्दा चालू आवमा पेट्रोलको परिमाण १८ प्रतिशतले वृद्धि भएको छ भने राजस्व २८ प्रतिशतले वृद्धि भएको छ । चालू आवको माघसम्मको सात महीनामा कुल सङ्कलित राजस्वमा १०.३६ प्रतिशतको योगदान पेट्रोल आयातबाट भएको छ ।
त्यसैगरी, चालू आवको माघसम्म सात महीनामा तीन अर्ब ३६ करोड ९९ लाख ७६ हजार राजस्व तिरेर १८ अर्ब पाँच करोड ६८ लाख २८ हजार मूल्य बराबरको १६ करोड २ लाख ८४ हजार ६५८ किलोग्राम एलपी ग्याँस आयात भएको छ भने गत आवको सोही अवधिमा रु एक अर्ब ७३ करोड ३७ लाख ५८ हजार राजस्व तिरेर नौ अर्ब २९ करोड ४४ लाख ७४ हजार मूल्य बराबरको १४ करोड ३३ लाख ५८ हजार छ सय किलोग्राम एलपी ग्याँस आयात भएको थियो । पोहोरभन्दा चालू आवको पहिलो सात महीनामा एलपी ग्याँसको आयात परिमाण १२ प्रतिशतले वृद्धि भएको छ भने ९४ प्रतिशतले राजस्वमा वृद्धि भएको छ । सो अवधिको कुल राजस्वमा २.७७ प्रतिशत एलपी ग्याँसको योगदान रहेको छ ।
वीरगंज भन्सारले चालू आवको साउनदेखि माघसम्म एक अर्ब १६ अर्ब ७१ करोड १५ लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखे तापनि ४.३ प्रतिशत बढी अर्थात् एक खर्ब २१ अर्ब ७२ करोड ८४ लाख ७७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको वीरगंज भन्सारको तथ्याङ्क तथा सूचना शाखाको तथ्याङ्कले जनाएको छ ।