काठमाडौं, २५ फागुन/रासस
राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फूटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा खुमलटारले बाँसवारी क्बललाई १–० गोलअन्तरले पराजित गर्दैै विजयी भएको हो । खुमलटारको जितमा सविन केसी नायक बने । उनले खेलको २९औं मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि निर्णायक साबित भयो ।
जितसँगै खुमलटार तीन खेलबाट ६ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चर्च ब्वाइज युनाइटेड र भगवती क्लबको पनि समान ६ अङ्क छ तर गोल अन्तरका आधारमा चर्च ब्वाइज शीर्ष स्थानमा छ । त्यस्तै भगवती क्लब दोस्रो स्थानमा छ ।
यता बाँसबारीको भने तीन खेलमा दोस्रो पराजय हो । बाँसबारीले तीन खेलमा १ अङ्क जोडेको छ ।