प्रस, वीरगंज, २५ फागुन/

भारत सरकारको आर्थिक सहयोगमा मधेस प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई एलपी ग्याँस चुलो, ग्याँस सिलिन्डरलगायतका सामग्री उपलब्ध गराउन भारतीय राजदूतावास, काठमाडौं र नेपाल–भारत महिलामैत्री समाजबीच सम्झौता भएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

भारत सरकारको नेरु दुई करोड चार लाख ९० हजार अनुदान सहयोगमा मधेस प्रदेशका तीन जिल्लामा तीन हजारवटा ग्याँस चुलो, सिलिन्डरलगायतका सामग्री नेपाल–भारत महिलामैत्री समाजमार्फत उपलब्ध गराइने विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

यो योजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्ये एक रहेको बताइएको छ ।

दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण क्षेत्रका घरपरिवारसम्म ग्याँस जस्ता सफा खाना पकाउने इन्धनको पहुँच विस्तार गर्न भारत सरकारले ल्याएको “प्रधानमन्त्री उज्ज्वला योजना”बाट यो योजना प्रेरित रहेको विज्ञप्तिमा जनाइएको छ ।

सन् २००३ यता भारतले नेपालमा स्वास्थ्य, शिक्षा, खानेपानी तथा सिंचाइ, विद्युतीकरण आदिका क्षेत्रमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ, जसमध्ये ४६७ वटा सम्पन्न भइसकेका छन् । तीमध्ये सर्लाहीका १९, रौतहटका पाँच र सप्तरीका नौ गरी मधेस प्रदेशमा ८१ वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले यी तीन जिल्लामा हालसम्म ८७ वटा एम्बुलेन्स र तीनवटा स्कूल बस उपहारस्वरूप प्रदान गरिसकेको भारतीय राजदूतावासले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here