• सञ्जय साह मित्र

गाउँभन्दा शहर राम्रो कि शहरभन्दा गाउँ राम्रो भन्ने पक्ष र विपक्षमा अनेक तर्क दिन सजिलो छ । वातावरणीय दृष्टिकोणले गाउँभन्दा शहरलाई कमजोर मानिन्छ । गाउँमा वातावरण राम्रो हुन्छ भन्ने आम धारणा छ । यो वातावरण भन्नु प्राकृतिक पर्यावरण हो । प्रकृतिले दिएको घाम, पानी, हावा र जमीन शहरको तुलनामा गाउँमा शुद्ध हुन्छ भन्ने मान्यता छ ।

शहरमा प्रदूषण बढी हुन्छ । प्रदूषणमा जमीन, वायु तथा पानी सबै परेका हुन्छन् । जमीन फोहोर हुन्छ, पानी फोहोर हुन्छ र हावामा धूलो तथा धूवाँको मात्रा बढी हुन्छ । गाउँमा यातायात साधन कम हुने, सडकमा भीडभाड कम हुने तथा उद्योग–धन्दा पनि कम हुने हुँदा सबै किसिमको प्रदूषण कम हुन्छ । शहरमा सुविधा सबै थुप्रिएका हुन्छन् । सबै सुविधा रहने हुनाले केही वर्ष शहरमा बसेका  मानिसलाई गाउँमा बस्न निकै अप्ठ्यारो हुन्छ । शहरमा सुविधाको आधिक्यले मानिस गाउँभन्दा शहरमा बस्न रुचाउँछ ।

परम्परालाई पनि विचार गर्ने हो भने जहाँ मानिसको धेरै लामो समयदेखि बसोवास हुन्छ, त्यहाँ सुविधाको विकास भएको हुन्छ । जापानको टोकियो, चीनको बेइजिङ, भारतको दिल्लीजस्ता शहरको बसोवासलाई ऐतिहासिकताको दृष्टिकोणले विचार गर्ने हो भने धेरै पुराना शहरहरूमा पर्छन् । यस्ता पुराना र प्राचीन शहरहरूले सभ्यताको विकास गरिसकेको हुन्छ ।

शहरको आफ्नै सभ्यता र संस्कृति हुन्छ । शहरी सभ्यता र संस्कृतिभन्दा ग्रामीण सभ्यता र संस्कृति फरक हुन्छ । हो, जहाँको बस्ती प्राचीन छ र त्यसले यदि आफ्नो प्राचीन सभ्यता तथा संस्कृतिलाई बचाउन सकेको छ भने त्यहाँको सांस्कृतिक आलोक अन्यत्र विस्तार भएको हुन सक्छ । यसरी प्राचीन बस्तीहरू जहाँ पनि छन्, तिनका आफ्नै सभ्यता र संस्कृतिको खजाना हुन्छ । प्राचीन सभ्यता र संस्कृति सबै शहरमा पाइँदैन । यसको एउटा कारण यो पनि हो कि त्यो शहर नयाँ हुन्छ । गाउँबाट मानिस आएर शहर बसाउँछन् । त्यसैले अधिकांश मानिसको गाउँमा सम्बन्ध छ र शहरसँग पनि मोह छ । यस प्रकारका मानिस गाउँभन्दा पृथक भएर बस्न खोज्दा ग्रामीण बसाइको तरीका र शहरी बसाइको तरीकामा फरक पर्न जान्छ । लगत्तै अर्को पुस्तामा यो पृथकता झन् बढी हुन्छ र गाउँको संस्कृति हराउँछ, शहरले पनि खासै सभ्यता विकास गर्न सक्दैन ।

आजभोलि नेपालमा पनि कतिपय मानिस गाउँभन्दा शहरलाई कमै मन पराउँछन् तर गाउँमा बस्न सक्दैनन् । कतिपय मानिस गाउँको आलोचना गर्छन् र गाउँमैं बस्न मन पराउँछन् । कतिपय मानिस यस्ता छन् जो गाउँ र शहरमा खासै भिन्नता देख्दैनन् । यद्यपि आधुनिक युगको देनले गर्दा गाउँ र शहरको दूरी कम हुँदै गएको छ । गाउँमैं सबै सुविधा हुनुपर्ने अवधारणाको विकास भएको छ । अझ सूचना प्रविधि र सञ्चारमा भएको तीव्र विकासले गर्दा गाउँमा धेरै सुविधा भएको छ ।

गाउँमा सुविधाको विकासले गाउँ र शहरको दूरी कम गरेको छ तर कतिपय के आलोचना गर्छन् भने गाउँमा शहरले सुविधा पठाउनुका साथै विकृति पनि पठाएको छ । गाउँमा सुविधा मात्र बढेको छैन, विकृति पनि बढेको छ । विकृतिको डरलाग्दो विस्तारले गर्दा पहिलेको गाउँभन्दा अहिलेको गाउँ फरक भएका छन् । गाउँमा अहिले पक्की घरहरूको सङ्ख्या बढिरहेको छ, गाउँका गल्लीहरू पनि पक्की बन्दैछन् तर कतिपय विकृति भने स्थायीरूपमा आएका छन् ।

शहरमा सुविधा त धेरै हुन्छ तर शहरमा केही नियमले पनि काम गरेको हुन्छ । शहरमा नियमले काम गरेको हुन्छ भन्नुको तात्पर्य के हो भने नियम मान्छन्, नियम नमान्नेमाथि निगरानी गर्ने पनि हुन्छन् । उदाहरणको लागि शहरमा यदि साँझ नौ बजे होटल बन्द गर्नुपर्ने भनिएको छ भने नौदेखि सवा नौ बजेसम्म होटल बन्द भइसक्छ । मुश्किलले साढे नौ बजेसम्म कुनै होटल विशेष अवस्थामा खुला रहन्छ ।

यसैगरी मदिरा पसल निर्धारित समयमा खुल्ने र बन्द हुने हुन्छ । तर गाउँमा यही कुरा फरक हुन्छ । विनाइजाजत गाउँमा मदिरा पसल सञ्चालन गर्दा पनि कोही बोल्दैन । कसैले केही नबोल्ने होइन कि यदि कसैले सही तरीकाले सम्झाउन खोज्छ भने उल्टै गाली खानुपर्छ । कहिलेकाहीं झगडा पनि हुन्छ र मदिरा पसल सञ्चालन गर्ने तरीका सम्झाउन आउनेको नै गल्ती ठह¥याइन्छ । अझ यदि कसैले प्रहरी वा प्रशासनलाई यस विषयमा जानकारी दिन्छ भने ठूलो दोषी साबित हुन्छ । दोषी साबित भएर दण्डित हुने अवस्था पनि आउँछ । जबकि शहरमा यो अवस्था आउँदैन ।

शहरमा यदि कसैले मदिरा खाएर जथाभावी बोल्दछ भने उसमाथि समाजको निगरानी अवश्य हुन्छ । समाजले उसलाई सम्झाइबुझाइ गर्ने प्रयास गर्छ । समाजमा जथाभावी बोल्नुहुँदैन भन्ने पक्षमा सबै हुन्छन् तर गाउँमा यसै कुरामा पृथक व्यवहार हुन्छ । पृथक यस अर्थमा कि कोही जतिसुकै कराए पनि यदि कसैको नाम लिएर अपशब्द प्रयोग गरेको छैन भने उसको दोष
मानिंदैन । मदिरापान गरेर बोलेको कुरालाई गलती नै मान्नुहुँदैन । हो, यदि मदिरा खाएर नसाको सुरमा कसैको बिगार गरेको छ भने उसको गलती ठहरिन्छ । कसैले केही भन्नु र नभन्नु आफ्नो ठाउँमा छ, तर मदिरा खानेले जथाभावी बोल्ने स्वतन्त्रता खोज्दछ ।

आजभोलि गाउँमा चुरोट र गाँजा खाने अम्मलीहरूको सङ्ख्या  बढ्दो छ । पहिले गाउँमा बिंडी हुन्थ्यो, चुरोट खाने मानिस ज्यादै कम थिए । पहिले युवाहरू चुरोट वा बिंडी लुकेर खान्थे । आफूभन्दा पाको उमेरका मान्छे देख्दा डराउँथे, थाहा नपाऊन् भनेर सतर्क रहन्थे । मदिरा सेवन त युवाहरूले गर्दै गर्दैनथे । मदिरा सेवन गरेको युवाका अभिभावकले पनि कतैबाट थाहा पाउँदा लज्जाबोध गर्दथे तर अब जमाना बदलेको छ । आजभोलि गाउँमैं चुरोट, गाँजा, रक्सीको खुलेआम सेवन हुँदा पनि कोही रोक्ने छैन ।

यस अर्थमा गाउँमा विकृति प्रवेश गरेको छ । गाउँमा विकृत स्वतन्त्रता छ, स्वच्छन्दता छ । गाउँका धेरै युवा आजभोलि मदिरा नपिउनेलाई हेप्छन्, चुरोट नखाने हेपिन थालिएका छन् । गाउँका किशोरहरूमा समेत यी र यस्ता विकृति बढेको देखेर नै कतिपय गाउँलाई बिग्रिंदै गएको बताउन थालिएको छ र धेरै हदसम्म यो हो पनि । शहरको तुलनामा गाउँमा अशिक्षा छ, अज्ञानता छ, गरीबी छ, शोषण छ ।

गाउँभन्दा शहरमा अवसरको आधिक्य छ, सबै किसिमको सुविधा छ । गाउँको कतिपय सन्दर्भमा मर्यादा उच्च छ । मर्यादाको कारण गाउँको सभ्यता र शहरको सभ्यतामा भिन्नता छ तर कतिपय सन्दर्भ अब यस्तो आउन थालेको छ कि नवीन विकृतिले गर्दा गाउँमा नकारात्मकता बढेको छ । अहिले गाउँमा विनालगाम बढिरहेको विकृतिले कतै शहरी विकृतिलाई उछिन्ने त होइन भन्ने डर लाग्न थालेको छ । कतिपय सवालमा गाउँभन्दा शहरमा नकारात्मक प्रवृत्ति बढेको यथार्थलाई गाउँलेहरू पनि बुझ्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here