प्रस, वीरगंज, २२ फागुन/
राष्ट्रिय रक्तदाता दिवसको अवसरमा आइतवार ब्लड डोनर्स एशोसिएशन, पर्साले छलफल तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
एशोसिएशनका सचिव अरविन्द सिंहले पर्सा जिल्लामा अहिले वार्षिक १२ हजार पिन्ट रगत खपत भइरहेको र १० हजार पिन्ट रगत मात्र रक्तदानबाट सङ्कलन भइरहेको बताए । उनले हाल दर्जनभन्दा बढी अस्पताल खुलेका र रगतको माग बढेको तर रक्तदान कार्यक्रम कोरोनाकालपछि कम भएको बताए । उनले विभिन्न कारणबाट पछिल्लो समयमा रक्तदान कार्यक्रमहरू स्थगित हुने गरेको बताउँदै यसबारे सबै संस्थालाई सक्रिय सहभागिता जनाउन आग्रह गरे ।
सचिव सिंहले पर्सा जिल्लामा कुल रगत खपतको ६० प्रतिशत महिलाहरूको लागि माग हुने गरेको तर कुल रक्तदानमा १० प्रतिशतभन्दा बढी महिला सहभागिता हुन नसकेको बताए ।
रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले तत्काल रगतको अभाव नभए पनि बेलाबखत रगत अभाव हुने गरेको बताए । उनले खासगरी अत्यधिक गर्मी, जाडो र चाडपर्वको बेलामा र पछिल्लो समयमा कोरोनाको कारण रक्तदान प्रभावकारीरूपबाट हुन नसक्दा रगत अभाव हुने गरेको बताए ।
कार्यक्रममा सहभागी जवाहर गुप्ताले पर्सा जिल्लाको ठूलो भूगोल ग्रामीण क्षेत्र भएको र त्यहाँका मानिसहरूलाई रक्तदान गर्न अभिप्रेरित गर्नुपर्ने सुझाव दिए । उनले पर्सा, बाराका ग्रामीण क्षेत्रमा रक्तदानबारे सचेतना फैलाउने हो भने रक्तदान कार्यक्रम प्रभावकारी हुने बताए ।
यसैगरी, सहभागीहरूले १८ वर्षमाथिका युवाहरूलाई रक्तदान कार्यक्रममा सहभागी गराउन सके रगतको अभाव नहुने सुझाव दिएका थिए । वीरगंजमा मात्र १० हजारभन्दा बढी यो उमेर समूहका युवाहरू विद्यालय, कलेजमा अध्ययनरत रहेको र उनीहरूले रक्तदान नगर्दा रगतको अभाव हुने तर रक्तदान गर्दा अभाव नहुनेबारे सचेत गराउँदा आगामी दिनमा रक्तदान कार्यक्रम प्रभावित हुने र वीरगंजमा रगतको अभाव झेल्नुनपर्ने सुझाव दिएका थिए ।
एशोसिएशन, पर्साका अध्यक्ष शत्रुघ्न नेपालको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका प्रचार विभाग सदस्य महेश दास, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछाने, प्रदेश महासचिव श्याम बन्जारा, वुमन फर ब्लड डोनर्स एशोसिएशन पर्साकी अध्यक्ष रोशनी श्रेष्ठ, सानो पाइलाका अध्यक्ष सुदीप लामा, भोलेन्टियर सङ्घका सदस्य राजन श्रीवास्तव, निरञ्जन मिश्र, श्याम सर्राफ, लियाकत अलि, सतीशसिंह राजपूत, दिनेश मिश्र, करण रौनियार, रहुल शर्मालगायतको सहभागिता थियो ।