प्रस, रौतहट, २० फागुन/

गौरस्थित जुद्ध उच्च माविमा विद्यार्थीहरूले शुक्रवार तोडफोड र आगजनी गरेका छन् । विद्यालय प्रशासनले विभिन्न शीर्षकमा शुल्क उठाएको भन्दै विद्यार्थीहरूले आगजनी गरेका हुन् ।

सार्वजनिक विद्यालयले माध्यमिक तहसम्म कुनै पनि बहानामा शुल्क लिन नपाइने भनिए पनि विद्यालयले विभिन्न शीर्षकमा शुल्क उठाएको भन्दै विद्यार्थीहरूले तोडफोड/आगजनी गरेका हुन् ।

विद्यालयले अङ्ग्रेजी माध्यममा पढ्ने विद्यार्थीसँग मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तकको समेत शुल्क लिने गरेको छ ।

गौर नगरपालिका कार्यालयले कुनै पनि बहानामा शुल्क नउठाउन पत्राचार गरे पनि जुद्ध माविले मानेको छैन ।

अनेरास्ववियूका केन्द्रीय सदस्य रवि मिश्रले गौर नगरपालिकाले सूचना नै जारी गरेर शुल्क नउठाउन भन्दा पनि विद्यालयले नमानेको बताए । उनले शुल्क तिर्न नसक्ने गरीब विद्यार्थीले अझै पुस्तक नपाएको बताए । उनले पटक–पटक प्रधानाध्यापकलाई शुल्क नउठाउन तथा पाठ्यपुस्तक निश्शुल्क वितरण गर्न माग गर्दासमेत विद्यालय प्रशासनले अटेर गरेको आरोप लगाए ।

प्रधानाध्यापक चन्देश्वर राउतले विद्यार्थी सङ्ख्या बढी भएको र शिक्षक दरबन्दी कम भएपछि विद्यालयले आफ्नै स्रोतमा अङ्ग्रेजी माध्यमको कक्षा सञ्चालन गरेको र मासिक तीन सयदेखि सात सयसम्म शुल्क लिने गरेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here