• राजेश मिश्र

 ‘ले चल घुमावे बुलेट पर जिजा…’ वर–कन्याबीच औंठी आदानप्रदान भइसकेपछि ठूलो आवाजमा डिजे बजिरहेको थियो । युवायुवतीहरू बेतोड नाचिरहेका थिए । रङ्गीबिरङ्गी फूल र बत्ती आदिको सजावट गरेर झकिझकाउ पारिएको हलमा वर–वधू पक्षबाट गरी झन्डै दुई सयजनाको उपस्थिति थियो । यस्तो लाग्थ्यो कि छेका होइन, वैवाहिक समारोह हो । केही युवाहरू शर्ट फुकालेर हावामा लहराउँदै उफ्रीउफ्री नाचिरहेका थिए । यस्तो दृश्य हेरेर सम्भवतः आधुनिक जमानाका शिक्षित वरलाई पनि नाच्ने खुल्दुली बढ्यो । सोही बेला मदिरापान गरेका एकजना युवकले वरको हात समातेर नाच्ने आग्रह गर्न थाले । यसै बहानामा वरलाई नाच्ने सुअवसर प्राप्त भयो ।

कन्याको मधुर मुस्कानलाई युवतीहरूले नाच्ने अभिलाषाको रूपमा अड्कल गर्न थाले । कन्याको हात तानेर वरसमक्ष ल्याए । हल्लाखल्ला र तालीको गड्गडाहटले माहोल निकै रोमाञ्चक भएको थियो । वर र वधूले यताउति हेरे । लाजशरमका कारण वर–वधू तत्कालै नाच्ने अवस्थामा थिएनन् । त्यसैले शुरूमा लाज र सङ्कोचको भाव अनुहारमा देखिन्थ्यो । केही युवायुवतीहरूले वर–वधूको हात समाएर नचाउने प्रयत्न गर्न थाले । हल्लाखल्ला झन् तीव्र भयो । पहिले वरको र पछि वधूको जीउ बिस्तारै हल्लिन थाल्यो । यसैबीच गीतको ट्रेक परिवर्तन भयो, ‘अब तो मेरा दिल, जागे ना सोता है, क्या करूँ हाय, कुछ कुछ होता है…’ हिन्दी गीत बज्न थाल्यो । त्यसपछि पुनः अर्को गीत ‘दो लफ्जों में लिख दी मैंने, अपनी प्रेम कहानी, तू मेरे दिल का राजा बन जा, मैं तेरे दिल की रानी…’लगायत विविध गीत–सङ्गीतको तालमा वर–वधू रमाउन थाले । लाज, सङ्कोच र अनुशासनको कुनै परिबन्द अहिले थिएन । विभिन्न भोजपुरी र हिन्दी सङ्गीतका साथै अश्लील प्रकृतिका गीत बज्ने क्रम जारी थियो । वर–वधूसँगै युवायुवतीहरू नाच्न र झुम्न थाले ।

माहोल तब भद्रगोल भयो, जब उल्लेख गर्न नमिल्ने एक भोजपुरी गीत बज्न थाल्यो । मदिरापान गरेका युवाहरू अश्लील गीतमा नाच्दै उत्तेजित हुन थाले । नाच्ने बहानामा केही युवाहरूको उदण्डता युवतीहरूसम्म पुग्यो । अभिभावकहरूले थाहा पाएपछि भनाभनबाट शुुरू भएको विवादले उग्र रूप लियो । हात र खुट्टा मात्र होइन, कुर्सी, टेबल, थाल आदिले एकअर्कामाथि प्रहार गर्न थाले । केहीबेरअघिको रमाइलोपन बिस्मातमा परिणत भयो । अधिकांश महिला र पुरुषलाई चोटपटक लाग्यो । घाइते भए । कपडा च्यातियो । मोबाइल हरायो । कसैले खबर गरेपछि प्रहरीको आगमन भयो । घाइतेहरूलाई एम्बुलेन्समा राखी अस्पताल पठाइयो । उपद्रवीहरूलाई प्रहरीले समातेर लग्यो । यति भएपछि हलमा सन्नाटा छायो । सानो स्वरमा एकापसमा खुसखुस हुन थाल्यो । तीमध्ये केहीले पूजामा त्रुटि भएको त केहीले कन्याको लक्षण ठीक नभएको लख काट्न थाले । आआफ्ना मानसिकता अनुसार अपसगुन हुनुका कारण औंल्याइरहेका थिए । माहोल दूषित हुनुको कारक तŒव मांस, मदिरा र अश्लील गीत नै थियो भन्ने आकलन गर्ने मानिसहरू थिएनन् भन्ने होइन ।

यस्तो परिदृश्यका साक्षी बनिरहेका वृद्धवृद्धाहरूमा निराशा छायो । सामाजिक विकृति उपर एकापसमा चर्चा हुन थाल्यो । रामरतनले भने, “हिन्दू धर्म अनुसार वैवाहिक समारोह धार्मिक अनुष्ठान हो । नर र नारीबीच हुने विवाहलाई यज्ञतुल्य मानिन्छ । साŒिवक भोजनले शारीरिक र मानसिक सन्तुलन स्थिर राख्छ । त्यसैले वैवाहिक समारोहमा मानसिक उत्तेजना बढाउने प्रकृतिका क्रियाकलाप कदापि हुनुहुँदैन ।” उनको कुरा नसकिंदै अर्का एक वृद्धको विचार आयो, “वर्तमान परिप्रेक्ष्यमा पूजा, शुद्धता तथा लोकसंस्कृतिलाई महŒवहीन ठान्ने प्रवृत्ति बढ्दो छ । जबकि पुरातनकालदेखि विवाहमा अपनाइँदै आइरहेको प्रत्येक वैवाहिक चरण वैज्ञानिक दृष्टिकोणले पनि अति महŒवपूर्ण छन् ।”

रामरतनले शिर हल्लाएर ती वृद्धको कुरामा सहमति जनाउँदै भने, “कहल जाला कि बियाह होखेवाला लइका के दूर ना जाएके, कल ना चलावे के, सवारी ना चलावे के, इनार ना झाँके के । काहे कहल जाला ? आज के नवठुवा लइका सन के पता बा ? जबकि इ सब प्रश्न के उत्तर पूर्णरूप से विज्ञान में आधारित बाटे ?” अर्थात् “भनिन्छ कि विवाह हुने दुलहाले टाढा जानुहुँदैन, चापाकल चलाउनुहुँदैन, सवारीसाधन चलाउनुहुँदैन, इनारमा हेर्नुहुँदैन । किन भनिन्छ ? आजका ठिटाहरूलाई के थाहा छ ? जबकि यी सबै प्रश्नको उत्तर पूर्णरूपेण विज्ञानमा आधारित छन् ।” दुर्घट्ना हुन सक्ने सम्भावनालाई मध्यनजर गरी विवाहमा अपनाउनुपर्ने थुप्रै नियम बनाइएका छन्, जसको पालना नगर्नु दुर्घटना निम्त्याउनु हो ।” आदि कुरा उनीहरूबीच चर्चा भइरहँदा दिउँसोको चार बजिसकेको थियो । आफन्तजन आआफ्नो घरतर्फ प्रस्थान गर्न थालिसकेका
थिए ।

धनाढ्य आफन्तको छोराको छेकामा रामरतन शहर आएका थिए । गरीब तथा देहाती ७० वर्षीय रामरतन पनि घरतर्फ प्रस्थान गरे । यद्यपि त्यहाँको परिदृश्य उनी भुल्न सकिरहेका थिएनन् । टेम्पुमा सवार उनी घरीघरी उक्त घटनाप्रति केन्द्रित हुन्थे । टेम्पु गुड्यो र उनी आँखा बन्द गरी वर्तमान सामाजिक विकृतिरूपी सागरमा घोत्लिए । अहिले छेकाको स्वरूप फेरिंदै गइरहेको छ । छेकामा पनि विवाह जस्तै भव्य समारोहको रूपमा खर्च गर्ने होड बढ्दो छ । माङ्गलिक लोकगीतको नामोनिसान छैन । उत्सवहरू आन, बान र सान देखाउने प्रवृत्तिमा परिणत हुन थालेका छन् । उहिले वर–वधू पक्षबीच विवाहको टुङ्गो लागिसकेपछि एकाध महीनाभित्र छेक्का गर्ने परम्परा थियो ।

दुवै पक्षका सीमित आफन्त तथा पुरोहित र हजामको उपस्थितिमा छेका हुन्थ्यो । पाँच, सात, एघार वा बढीमा एक्काइसजनाको सहभागितामा छेका हुन्थ्यो । छेका उहिले पूजन सामग्री, वर–वधूको वस्त्र तथा सहभागीजनको नाश्ता र खाना आदिको व्यवस्थामा आधारित थियो । अपवादबाहेक अहिले विवाह जस्तै सयौंको झुन्डमा हुने छेकाको स्वरूप भड्किलो भइसकेको छ । विदेशी संस्कृतिको आँधीबेहरीमा मधेसकोे लोकसंस्कृति लोप हुँदै गइरहेको आदि कुरा सोचेर ती वृद्ध अति चिन्तामग्न थिए । मधेसको संस्कृति कुन दिशातर्फ लम्किरहेको छ ? भन्ने प्रश्नको जवाफमा निरूत्तर उनी घरीघरी आफैंसँग प्रश्न गर्थे । कतिखेर टेम्पु उनको गाउँ पुग्यो, उनलाई पत्तै भएन । रामरतन तब ब्यूँझिए, जब टेम्पु चालकले भन्यो, “बाबा हो, सुत गइल बाड का ? उतरना घरे आ गइल ।”

पत्नीको निधन भएदेखि रामरतन घरको बरन्डामा सुत्छन् । एकातर्फ खाट र अर्कोतर्फ बाख्राबाख्रीहरूको वासस्थान छ । दिनभरिको थकित वृद्ध रामरतनले चाँडै खाना खाए । ओछ्यानमा पल्टिए । टर्च तकियामुनि राखे । छोराले औषधि र बुहारीले पानी ल्याइदिए । औषधि खाए । छोराले एक लोटा पानी खाटसँगै रहेको कुर्सीमा राखिदियो । भित्तामा छडी ठड्याइदियो । झुल लगाइसकेपछि बत्ती निभाएर छोराबुहारी सुत्न गए ।

रामरतनलाई निद्रा लागिरहेको थिएन । डिजेको चर्को ध्वनि, अश्लील गीत, कुर्सी हानाहान आदि इत्यादि कुराहरूको सोचाइबाट उनी मुक्त हुन चाहन्थे । चेतनाशून्य हुन चाहन्थे । विश्राम र निद्रामग्न हुन चाहन्थे । बिस्तारै चार दशकअघिको एक प्रसङ्गमा उनको चेतना विलीन भयो । मस्तिष्कमा छोरीको छेकाको प्रत्येक क्षण दृश्यमान हुन थाल्यो । फिल्मको रिलझैं मस्तिष्कमा चल्न थाल्यो ।

पूर्वनिर्धारित तिथि अनुसार आज फागुन २१ गते रामरतनको छोरीको छेका अर्थात् पुजाइ हुने कार्यक्रम छ । घरपरिवारलाई भ्याइनभ्याइ छ । खुशी र उत्साहले भरिपूर्ण परिवार तथा आफन्तजन आआफ््नो जिम्मेवारीमा तल्लीन छन् । मधेसको दुर्गम उक्त गाउँमा एकाध घरबाहेक सबैजसो खपडा र फुसका घर छन् । खरले छाएको रामरतनको घरको टाटी र भुइँ लिपपोत गरेर चिटिक्क पारिएको छ । उक्त फुसको घरको छानामा राखिएको ‘नियारी’ (धानको डाठ) माथि कागहरू खुट्टाले रोटी च्यापेर मुखले नोचेर खाइरहेका छन् । रोटीको छिनाझप्टीका साथै ती कागहरूको उड्ने र बस्ने खेल चलिरहेको छ । यस्तो लाग्छ कि शायद उनीहरूलाई आज यहाँ भोज हुनेबारे अग्रिम जानकारी थियो । रामरतनको साथीका छोरोले गणेश, शिवपार्वती र रामसीता तथा फूलका केही तस्वीरहरू गुलाबी, हरियो र कालो रङ्ग तथा बाँसको ब्रशले टाटीमा कोरिरहेका छन् । रामरतनको घरको बाटो भएर काँधमा कोदालो बोकेर खेततर्फ जाँदै गरेका एकजना किसानले सोधे, “रामरतन भाइ आजुवे नु बबी के छेका बा, ना ?” अर्थात् “रामरतन भाइ आज नै छोरीको टीकाटालो छ, होइन ?” रामरतनको प्रतिउत्तरमा किसानले दिउँसोसम्म आफू आउने भन्दै सरेहतर्फ प्रस्थान गरे ।

रामरतनकी कान्छी छोरीले पुरानो साडीमा सियो धागोले किनारा सिएकी पर्दा ढोकामा लगाइरहेकी छन् । रामरतनका जेठो छोरा तथा उसका तीन/चार जना साथीले पूरै गाउँ चहारेर बल्लतल्ल काठका सातवटा कुर्सी, दुईवटा बेन्च र एउटा ‘चौकी’ (काठको खाट) लिएर आइपुगेछन् । त्यसको केहीबेरमा पसिनाले लपतप रामरतन आए । उनले पल्लो गाउँबाट फूलगोबी, पातगोबी, भन्टा, आलु र प्याज गरी दुई बोरा तरकारी शिकहरमा बोकेर ल्याएका छन् । रामरतनकी पत्नी छिमेकी महिलाहरूलाई ‘गीतगारी’ (मङ्गलचार) गाउन आउनका लागि भन्न गएकी रहिछन् ।

टाटीले घेरिएको सानो आँगनमा काठको खम्बामाथि चार/छ वटा प्वाल भएको काठको एक खोप छ । बकबकुँ–बकबकुँको ध्वनिसँगै परेवाहरूको खोपमा बस्ने र उड्ने क्रम जारी छ । शायद ती पक्षीहरू आज मासिहरूको भीड देखेर हर्षित छन् । आँगनको एक कुनामा आधा दर्जन जति पाठापाठी बाँधिएका छन् । डोरीमा बाँधेर टाटीमा झुन्ड्याइएको बाँसको पात पुच्छर हल्लाउँदै उनीहरू खाइरहेका छन् । आज आँगनमा छोरीको पुजाइ कार्यक्रम हुने भएकोले रातरतनका भाइले पाठापाठीहरूलाई डो¥याएर खेततर्फ लगे ।

तीनवटा सुत्ने कोठा भएको घरमा भान्साघर छुट्टै छ । उक्त भान्सामा बुहारीसहित तीन/चार जना महिला मङ्गलगीतका साथै खाना पकाउने कार्यमा व्यस्त छन् । एक महिलाले चामल केलाउनको लागि टाटीमा झुन्डिरहेको डगरा र सुपा झिकिरहेकी थिइन् । अचानक रामरतनले तरकारीको बोरा ल्याउँदै गरेको देखपछि ती महिला घुम्टोले अनुहार छोप्न थालिन् । भान्साघरमा बिरालो र मुसा आदिबाट खानेकुरा सुरक्षित राख्ने दुई/चार वटा ‘शिकहर’ छानामा झुन्डिरहेको छ । खाटको गोडा मुनि चार/चार वटा इँट जोडेर उचाइ बढाइएको खाटको छेवैमा दुईजना महिला गीत गाउँदै जातोमा चामल पिसिरहेका छन् । यसै बखत रामरतनका दुईजना सालोले दुई ‘तसला’ (सिल्वरको भाँडो) दही लिएर आइपुगे । “बबुवा, दही चौकी के निचा रख द लोगन,” रामरतनकी पत्नी भाइहरूलाई हेरेर खुशी हुँदै दही खाटमुनि राख्न भनिन् । फुपू र फुपाजु छोराछोरीसहित एक दिनअगावै आइसकेका थिए । गाउँका युवाहरूले द्वार सफाइ गरिसकेपछि पानी छर्किरहेका थिए । वयस्कजन टाटीको छेकबार भएको आँगनमा सजाउने काममा तल्लीन थिए । आँगनमा दुईतिर काठको कुर्सी र एकातर्फ बेन्च सजाएर राखे । त्यसपछि प्लास्टिकको बोराले सिलेको त्रिपाल भुइँमा बिछ्याए ।

मुख्य कच्ची सडकसँग एक शाखा सडकले त्यो गाउँलाई जोडेको छ । वर्षात्को महीनाभरि टापुमा परिणत हुने उक्त गाउँको जनजीवन कात्तिकदेखि जेठसम्म सामान्य रहन्छ । सडकको दुवैतर्फ गहुँको लहलहाउँदो बाला तथा तोरीको पहेंलो फूलले जगमग सरेहको सौन्दर्य हेर्दै पाहुनाहरू आइरहेका थिए । गाउँ लगभग एक किमी टाढा थियो । गाउँको वरै सडकको किनारमा वर्षौं पुरानो एउटा पीपलको अग्लो रूख छ । सोही बोटको छहारीमुनि पाहुनाहरूले विश्रामसँगै अन्य साथीहरूको प्रतीक्षा गर्न थाले । हाँगामा चराहरूको चिरबिर र गुँडमा बच्चाहरूको चिउँचिउँले यस्तो लाग्थ्यो कि उनीहरूले पाहुनाको स्वागतमा सङ्गीत वादन गरिरहेका छन् । सोही पीपलको रूखमुनि बालबालिकाहरू ‘चोरलुकन्त’ (लुकामारी) खेलमा व्यस्त थिए । पाहुनाहरूले ती केटाकेटीहरूलाई रामरतनको घरमा खबर पु¥याइदिनका लागि आग्रह गरे । उता केटाकेटीहरू उप्रिंmदै रामरतनको घरतर्फ लागे । यता प्रतीक्षारत पाहुनाहरू पनि पीपलको रूखनिर आइपुगे । एघारजनाको सङ्ख्यामा पाहुनाहरू थिए । यद्यपि सामग्री बोकेको बयलगाडा अहिलेसम्म आइपुगेको थिएन । अब केवल बयलगाडाको प्रतीक्षा भइरहेको थियो ।

बालबालिकाहरूले पाहुनाहरू आइसकेको कुरा रामरतनलाई बताउँदै भने, “काका हो, पहुना लोग आ गइल बा, पिपर के गाछी तर बाटे लोग ।” रामरतनले पाहुनाहरूको स्वागतमा दुईजना सालो तथा दुईजना छिमेकी गरी चारजनालाई पठाए । उनीहरूलाई गाउँभन्दा एक किमी पर रहेको पीपलको रूखसम्म पुग्न धेरैबेर लागेन । एकअर्कासँग प्रणामपाती हुँदै गर्दा एकजना पाहुनाले ठूलो स्वरमा भने, “होदे, बयलगाडी आवता ।” केहीबेरपछि बयलगाडा आइपुग्यो । त्यसपछि पाहुनाहरू रामरतनको घरतर्फ हिंडे । अघिअघि पाहुनाहरू तथा पछिपछि बयलगाडा हिंडिरहेको थियो ।

गाउँको शुरूमैं एकजना साहुको ‘गोवास’ (गोठ) पर्छ । बाँसको खुट्टीमा बाँधिएका दुई जोड गोरुमध्ये एक नादमा नाक डुबाएर ‘लेदीपानी’ खाइरहेको थियो र अर्को ‘पगुरी’ गरिरहेको थियो । गोठभन्दा पर चोक छ । उक्त चोकको एकातर्फ इनारनिर गाउँका मानिसहरूको जमघट लागेको थियो । गाउँलेहरू पाहुनाहरूको स्वागतमा उभिएका थिए । इनारबाट पानी भरिरहेका महिलाहरूले पाहुनाहरूलाई देख्ने बित्तिकै घुम्टो काढ्दै तीव्र गतिमा घरतर्फ लागे । त्यसै चोकदेखि पूर्वतर्फको गल्लीमा रामरतनको फुसको घर छ । साँघुरो गल्ली हुँदै पाहुनाहरू रामरतनको घर आइपुगे । वृद्ध तथा वयस्कजन पाहुनाहरूको स्वागत र सत्कारमा उभिए । युवाहरूले हातखुट्टा धुनका लागि पानी दिए । त्यसपछि पाहुनाहरूलाई सर्बत पिलाए । सोको केहीबेरमा दही, चिउरा, चिनी, तरकारी, अचार तथा नून–खुर्सानी नाश्ता खुवाइयो ।

पुरोहित पूजाको तयारीमा व्यस्त छन् । रातो रङ्गको चामलले बनाइएको वेदीमाथि माटोको कलश तथा कलशमा आम्रपल्लव र त्यसमाथि ढकनामा चामल र सुक्खा नरिवलमा ‘एकरङ्गा’ (रातो कपडा) बेरेर राखिएको छ । पुरोहित उत्तराभिमुख बसेका छन् । पूजनस्थलको वरिपरि पाँचवटा ‘चङ्गेली’ (बाँसबाट निर्मित डलिया)मा जलेबी, खजुरी, टोपिया मिठाइ, कसार तथा फलफूल आदिमा आम्रपल्लव र फूल राखेर सजाइएको छ । आँगनमा वरपक्षका मानिसहरू बसिरहेका छन् भने वरिपरि बेहुली पक्षका आफन्त तथा गाउँले उभिरहेका छन् ।

समग्र बन्दोबस्त भइसकेपछि वधूलाई पूजनस्थलमा ल्याउन पुरोहितले यजमानलाई आदेश दिए । युवतीहरू रातो वस्त्रमा सुसज्जित वधूलाई लिएर आउँदैछन् । सबैको ध्यान एकटक वधूतर्फ एकोहोरिन्छ । पुरोहितले कन्यालाई पूर्वाभिमुख बस्न भने । मन्त्रोच्चारणका साथ पूजन कार्य प्रारम्भ भयो । यता महिलाहरू पर्दाको पछाडिबाट मङ्गलचार गाइरहेका छन् ।

गाई के गोबर से, महादेव, आँगना लिपाई ।

सुनि ए शिव, शिव के दोहाई…।।

उपरोक्त मङ्गलगीत समाप्त भएपछि अर्को मङ्गलगीत गुञ्जायमान भयो ।

कहली पार्वती कर जोर, शिव जी भँगिया दि ना छोड,

भँगिया पिसते पिसते हाथवा लाल बा, देखे में कमाल बा ना ।

हमरा भोला बाबा के अँखिया लाले लाल बा, देखे मे कमाल बा ना,

भोले बाबा, बसाहा बयलावा तैयार बा, देखे मे कमाल बा ना…।

पूजन कार्य अन्त्यतिर थियो । पुनः एक अर्को मङ्गलगीत गुञ्जायमान भयो ।

अब का लुकइबु हो मछरी, जल के भितारावा,

तहरा के ले जइँहे हो मछरी, जुल्मी हो मलाहवा…।

पूजन कार्य समाप्त भएपछि पाहुनाहरू द्वारमा एकअर्कासँग चिनजान तथा गफगाफ गर्न थाले । यता केही युवाले पाहुनाहरूलाई पुनः कागती पानीको सर्बत वितरण गर्न थाले । उता अन्य युवाहरू खाना खुवाउन बन्दोबस्त मिलाउन थाले । केहीबेरको अन्तरालपछि अहिले पाहुनाहरू आँगनमा खाना खाइरहेका थिए । महिलाजन पुनः मङ्गलगीत गाउन थाले । एकजना पाहुनाले व्यङ्ग्य गर्दै भने, “गारी गीत गावे ना आवेला का ?” पाहुनाहरूको हाँसोठट्टा भइरहेको बेला महिलाहरूको तर्फबाट गारीगीत गुञ्जायमान भयो ।

चमचम चमके फूल के थाली, फूल जइसन भात हे,

एगो चावल गिरइब सम्धी, तुरब ताहार दाँत हे…।

त्यसपछि झन् ठूलो स्वरमा पुनः अर्को गीत गुञ्जित भयो ।

अगहन मासे सम्धी काहे ना आइने,

कटहर के होला अधिकारी जी ।

कोवा हीं फोर, रउवा थारी परोसब,

मुवडी करव, रउवा गाँडी जी…।

खाना खाइरहँदासम्म लोकगीतको बौछार भइरह्यो । माहोल निकै उत्साहप्रद थियो । सबैको मुहारमा हाँसो र खुशी थियो । खाना खाइसकेपछि बेसारले रङ्गिएको धोती र नगदका साथै सुपारी, छोहोडा, बदाम आदि पाहुनाहरूलाई दिइयो । फागु पर्व नजीकै भएकोले जीउमा रङ्ग र मस्तकमा अबिर दलियो । अन्त्यमा वर र वधू पक्षका समकक्षीहरूबीच अङ्कमाल गरेपछि पाहुनाहरूलाई बिदाइ गरियो । यसैबीच कुखुराको आवाजले रामरतनको निद्रा भङ्ग भयो । उनी ब्यूँझे । आँखा मिच्दै रामरतन मनमनै मुस्कुराए ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here