वाशिंगटन, १८ फागुन/एएफपी

रूसले युक्रेनमा आक्रमण गरेपछि सिर्जित सङ्कटसँग जुझ्न ‘अमेरिकी स्टेट अफ युनियन’ मा गरेको सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले द्विपक्षीय सहयोग आवश्यक रहेको बताउँदै सबै विधायकलाई एकताका साथ अघि बढ्न आग्रह गरेका छन् ।

विश्वले कोभिड–१९ को महामारीका कारण मारमा परेको अर्थतन्त्रलाई व्यवस्थापन गर्दैगर्दा रूसले युक्रेनमा गरेको आक्रमणले विश्वमा पुनः तनाव बढेको उनले बताए । बाइडेनले पूरै एक घण्टाको सम्बोधन रूसले युक्रेनमा गरेको हस्तक्षेप रोक्ने विषयमा केन्द्रित गरेका थिए ।

बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘रूसी तानाशाह’ को संज्ञा दिंदै युक्रेनी सेनालाई अमेरिकी सहयोग रहिरहने बताए । यद्यपि उनले तत्काल अमेरिकी सेना युक्रेन पठाउने नपठाउनेबारे कुनै प्रसङ्ग उठाएनन् ।

उनले दुष्ट नजर लगाउँँदै अघि बढेको ‘रूसी सम्भ्रान्तको कुटिल डुङ्गा’ जफत गरिछाड्ने प्रतिज्ञा गर्दा अमेरिकी सदनमा सत्तापक्ष र प्रतिपक्ष सदस्यहरूले तालीले स्वागत गरेका थिए, जुन पछिल्लो समय अमेरिकी कङ्ग्रेसमा दुर्लभ दृश्य थियोे ।

रूसविरुद्ध अभूतपूर्व आर्थिक प्रतिबन्ध र उत्तर एटलान्टिक सन्धि सङ्गठनमा आबद्ध नरहेको (गैर–नेटो) मुलुक युक्रेनमा सैन्य सहायता प्रवाह गर्न पश्चिमा सहयोगीहरूलाई एकजुट पार्न हप्तौ काम गरेपछि संसद्मा गरेको सम्बोधनमा बाइडेनले विश्वव्यापी अमेरिकी नेतृत्व पुनर्जीवित भएको चित्र प्रस्तुत गरेका थिए । उनले भने–“लोकतन्त्र र निरंकुशता बीच लडाइँमा लोकतन्त्र अहिलेको अवस्थामा जागिरहेको कुरा सत्य हो ।”

मुख्यतया चार दशकमा उच्चतम मुद्रास्फीतिले गर्दा आफ्नो राष्ट्रपति पदको एक वर्षमा डेमोक्रेट्सले निर्वाचन क्षेत्रहरूमा विरोधको सामना गर्नुपरेको छ । नोभेम्बरको मध्यम संसदीय निर्वाचनमा रिपब्लिकनको जीतलाई लक्ष्Fित गर्दै बाइडेन प्रशासनका लागि परिस्थिति अझ कठिन हुने विश्लेषकहरूले बताइरहेका समय उनको यो सम्बोधन आएको हो ।

ह्वाइट हाउसमा दोस्रो वर्ष प्रवेश गर्दा बाझिनुपरे तापनि सफलताका दुर्ईवटा बलियो आधार अमेरिकी राष्ट्रपतिसँग छ । गत शुक्रवार उनले सर्वाेच्च अदालतमा बसेको इतिहासमैं पहिलो अफ्रिकी अमेरिकी महिलाका रूपमा न्यायाधीश केतनजी ब्राउन ज्याक्सनलाई मनोनीत गरेका थिए । अनि सङ्क्रमण दर घट्दै गएको बेला, देशलाई अझ आशावादी, महामारीपछिको भविष्यमा उन्मुख गर्न बाइडेनले आफ्नो सम्बोधन केन्द्रित गरेका थिए ।

 “गत वर्ष हामीले गरेको प्रगतिको कारण कोभिड–१९ ले अब हाम्रो जीवनलाई नियन्त्रणमा राख्नु आवश्यक छैन”–उनले भने । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here