प्रस, वीरगंज, १६ फागुन/

जिल्ला प्रहरी कार्यालय, पर्सामा अहिले विभिन्न खाले समस्या लिएर आउनेहरूको भीड बढेको
छ । ससाना समस्याहरूलाई पनि जिल्ला प्रहरी कार्यालयमा आएर पञ्चायती गर्ने प्रचलन बढेपछि भीड बढेको हो ।

यसअघि यो कार्य बारा जिल्लामा हुने गरेको थियो । प्रहरी कार्यालय र जिल्ला प्रशासनमा पञ्चायती गर्ने कार्यले नियमित कामहरू प्रभावित हुने गरेका छन् । पर्सा जिल्लाभरि प्रहरी चौकी, इलाका प्रहरी कार्यालय र महानगरका सामुदायिक सेवा केन्द्रहरू यस्ता सामान्य झगडाका लागि गठन गरिएका छन् तर त्यहाँ समस्या समाधान नगरी जिल्ला प्रहरी कार्यालयमा आएर भीड लगाउने प्रवृत्ति बढेसँगै बिचौलियाहरूको चहलपहल पनि बढेको छ । प्रहरीको नाममा कतिपय मानिस ठगिने गरेका छन् ।

जिप्रकामा अहिले धेरैजसो महिला हिंसाका घटना, जग्गा खिंचलो, झैंझगडा, लेनदेनजस्ता विवादहरूको पञ्चायती हुने गरेको छ । जिल्ला प्रशासन कार्यालय, पर्सामा दर्ता हुने यस प्रकारका घटनाहरू पनि जिल्ला प्रहरी कार्यालयमा मिलापत्र गराउने कार्य भइरहेको छ, जसले गर्दा प्रहरीले आफ्नो नियमित काम गर्न सकेको छैन । प्रहरीले विभिन्न खाले अपराध नियन्त्रणका लागि योजनाहरू पनि बनाउन सकेको छैन । राजनीति दलका नेता, कार्यकर्ताहरूको दबाब पनि बढेको
छ ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले नियमित कामहरू प्रभावित भएको बताए । उनले दिनभरि यसैमा व्यस्त हुने भएकोले अपराधका अन्य घटनाहरू नियन्त्रण सम्बन्धमा योजना बनाएर काम गर्न कठिनाइ भएको बताए ।

गाउँघरमा हुने झगडाहरूको छिनोफानो गर्ने क्रममा इलाका प्रहरी कार्यालय, प्रहरी चौकी र सामुदायिक सेवा केन्द्रमा हुने पञ्चायतीमा एक पक्षीय निर्णय हुने गरेका कारण त्यहाँ विश्वास घट्दै जाँदा जिल्ला प्रहरी कार्यालयमा यस्ता घटनाहरू थुप्रिएको उनले बताए ।

दुवै पक्षको कुरा सुन्ने र दुवै पक्षलाई मान्य हुने गरी निर्णय गर्ने क्षमता त्यहाँ नहुँदा जिप्रकामा आश्रित हुनुपरेको एकजना पीडितले बताए । जिल्लामा पनि बिचौलियाहरूको चहलपहल बढेको
छ । प्रहरीको नाममा मुद्दा मिलाइदिने, फैसला आफ्नो पक्षमा गर्ने जस्ता कार्यमा बिचौलियाहरूको सक्रियता बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here