प्रस, पर्सागढी, १६ फागुन/
जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जिल्लामा रहेका धाँगडबस्तीको यकीन तथ्याङ्क नरहेको बताएका छन् ।
वीरगंज महानगर–३१ शान्ति सद्भाव तथा मेलमिलाप केन्द्रले एशियन एकेडेमी पिस फर रिसर्च एन्ड डेभलपमेन्ट काठमाडौंको सहकार्यमा सोमवार आयोजना गरेको हाम्रो संस्कृति हाम्रो अभियान, धाँगड समुदायको संस्कृतिमा युवाको अभियान कार्यक्रमको उद्घाटन गर्दै सप्रजिअ पौडेलले सो कुरा बताएका हुन् ।
उनले जिल्लामा रहेका धाँगडबस्तीबारे आफूलाई जानकारी नभएको बताए । सप्रजिअ पौडेलले धाँगड समुदायलाई सरकारले धेरै सेवा, सुविधा उपलब्ध गराएको तर उनीहरूको यकीन तथ्याङ्क जिल्लामा नहुँदा सेवाप्रवाह हुन नसकेको बताए ।
उनले आगामी दिनमा धाँगड समुदायको सङ्ख्या यकीन गरी राज्यले उपलब्ध गराएका सेवासुविधाले धाँगड समुदायको जीवनस्तर उकास्न पहल गर्ने प्रतिबद्धता जाहेर गरे । उनले लोपोन्मुख जातिको जीवनस्तर उकास्न गरिएको कार्यक्रमको प्रशंसा पनि गरे ।
शान्ति सद्भाव तथा मेलमिलाप केन्द्रका अध्यक्ष रामाकान्त चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अधिकृत नारायण चापागाईं, जीतेन्द्र यादव, बालेश्वर गौरो, अञ्जिला कुमारी, रामबाबू साहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सोनम कुमारीले स्वागत र संस्थाका सचिव केदार पटेलले सहजीकरण गरेका थिए ।