प्रस, पर्सागढी, १६ फागुन/

सबडिभिजन वन कार्यालय, सबैयाले सबैया साझेदारी वन अन्तर्गतका सार्वजनिक जग्गामा गुम्बा बनाउने कार्य रोकेको छ । पर्सागढी नगरपालिका–३ सृजनटोलमा नगरस्तरीय बजेटबाट गुम्बा निर्माण गर्ने क्रममा सोमवार वनकर्मी र सबैया साझेदारी वन उपभोक्ता समितिका पदाधिकारीहरूले गुम्बा निर्माण कार्यमा रोक लगाएका हुन् । उनीहरूले जङ्गल क्षेत्रको सार्वजनिक जग्गामा धार्मिक कार्यक्रमको बहानामा अतिक्रमण गर्ने प्रचलन बढेको भन्दै रोक लगाएका हुन् ।

उपभोक्ता समितिका लखनलाल साहले गुम्बा बनाउन रोक लगाइएको र त्यहाँ रहेका निर्माण सामग्री दुई दिनभित्र हटाउन समय दिइएको बताए । उनले तोकिएको समयमा निर्माण सामग्री सो स्थानबाट नहटाइए वन कार्यालयको जिम्मा लगाउने चेतावनी दिए । सबडिभिजन वन कार्यालय, सबैयाका फरेस्टर पुरुषोत्तम पटेलले वनको सार्वजनिक जग्गालाई विभिन्न बहानामा अतिक्रमण गर्ने कार्य बढेको बताए ।

उनले मन्दिर, गुम्बा, खेलमैदान, श्मशानघाट, बाटो जस्ता बहानामा वन अतिक्रमण गर्ने क्रम बढेकाले सो कार्य नियन्त्रण गर्न गुम्बा निर्माण रोकिएको जानकारी गराए । गुम्बा निर्माणका लागि खनिएको खाल्डो आज वनकर्मी र सबैयाका पदाधिकारीहरूले पुरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here