प्रस, ठोरी, १६ फागुन/
ठोरी गाउँपालिका–४ विजयबस्तीमा सशस्त्र प्रहरीको बेस क्याम्प निर्माण हुन लागेको छ । सशस्त्र बेस क्याम्प निर्माणको लागि सोमवार सशस्त्र प्रहरी उपरीक्षक तेजप्रकाश पोखरेलले शिलान्यास गरे ।
भवन निर्माणको लागि नेपाली काङ्ग्रेस, ठोरीका सभापति मीनबहादुर (सन्तोष) श्रेष्ठले जग्गादान गरेका थिए । शिलान्यास कार्यक्रममा सप्रउ पोखरेलसँगै उनले शिलान्यासको लागि पूजापाठ गरे । सो भवनको निर्माण २०७९ असार मसान्तसम्म सम्पन्न गर्ने गरी ठेक्का सकार भएको छ । ८० लाख ८४ हजार रुपैयाँमा दुईवटा भवन र शौचालय निर्माण गर्न ठेक्का लगाइएको छ ।
अहिले विजयबस्तीस्थित खानेपानी कार्यालयमा अस्थायी बिओपी सञ्चालित छ । स्थायीरूपमा सशस्त्रको बेस स्थापनाको लागि श्रेष्ठले पाँच कट्ठा जग्गा दान गरेका थिए । जग्गादाताको नाममा सो बेस क्याम्पको नाम सशस्त्र प्रहरी बिओपी सुरुचि, विजयबस्ती राखिएको छ । कार्यक्रममा वडाध्यक्ष बहीबहादुर तामाङ, पूर्वअध्यक्ष्F लालबहादुर श्रेष्ठ, एमाले, ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ र आसपासका सशस्त्र प्रहरी बिओपीका प्रमुखहरूको सहभागिता थियो ।