मस्को, १६ फागुन/सिन्ह्वा

रूससँग वार्ताका लागि युक्रेनी प्रतिनिधिमण्डल अहिले बेलारूस पुगेको जनाइएको छ । स्पुतनिकले सोमवार युक्रेनका पाँच सदस्यीय प्रतिनिधिमण्डल वार्ताका लागि बेलारूस पुगेको बताइएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरू गरेको गत बिहीवार बिहान घोषणा गरेका थिए । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रूसको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए ।

रूसले बिहीवार आक्रमण गरेयता दशौं हजार युक्रेनी देश छोडेर भागेका छन् । संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय, युएनएचसीआरले बताए अनुसार अहिलेसम्म कम्तीमा तीन लाख ७० हजार मानिस यस युद्धबाट बच्न विभिन्न विदेशी मुलुकमा शरण लिन पुगेका छन् ।

यदि स्थिति थप खराब बनेमा युएनएचसीआरले ४० लाखसम्म युक्रेनी शरणार्थीको व्यवस्थापन गर्ने योजना बनाएको छ । पोल्यान्ड, रोमानिया, हङ्गेरी र माल्दोभामा युक्रेनी नागरिकले शरण लिएका प्रारम्भिक सूचना छ ।

युरोपियन युनियनद्वारा रूसका उडानमाथि प्रतिबन्ध
ब्रसेल्स/सिन्ह्वा

युरोपियन युनियनले सबै युरोपियन देशका आकाशमा रूसका उडानहरूमाथि प्रतिबन्ध लगाएको छ । युरोपियन कमिशनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिएका हुन् । उनले रूसका सबै प्रकारका उडान बन्द गराइएको आइतवार विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
उनले भनेका छन्–“हामीले रूसका सबै प्रकारका उडान, रूसी एयरलाइन्सका जहाज र रूसबाट उडेका सबै प्रकारका जहाजका लागि युरोपियन देशका आकाश बन्द गरेका छौं । रूसी सैन्य अपरेशनका कारण धेरै विमानहरू उडेका र ती विमान युक्रेनमा हमला गर्नका लागि पुगेका भन्दै त्यसमा प्रतिबन्ध लगाइएको उनले बताए ।

रूसले युक्रेनमाथि आक्रमण गरेको आज पाँचौं दिन पनि रूसी सैनिक युक्रेनको राजधानी किभ शहरमा छन् । राजधानी किभलाई सबैतर्फबाट रूसी सेनाले घेरा हालेको युक्रेनले जनाएको छ । यहाँका नागरिकहरूले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रूसी सेनाका ट्यांकरहरू युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ ।

युक्रेनमाथि गरेको सो आक्रमणको विरोधस्वरूप युरोपियन युनियनले रूसविरुद्ध यो प्रतिबन्ध लगाएको जनाइएको छ ।

युक्रेनद्वारा रूसविरूद्ध १ लाख सेना परिचालन
मस्को/सिन्ह्वा

रूसले युक्रेनमा आक्रमण जारी राखेपछि त्यसविरुद्ध युक्रेनले पनि कम्तीमा १ लाख सेना परिचालन गरेको जनाएको छ । रूसले आइतवार चौथो दिन पनि आक्रमण जारी राखेको बताइएको छ । त्यस्तै आइतवार राति पनि स्थलसेनाले युक्रेनको राजधानी किभमा आक्रमण गरेको थियो ।

यहाँका सेना प्रमुख भेलरी जालुज्नीले सो कुराको जानकारी दिएका छन् । उनले फेसबूकमार्फत भनेका छन्– युक्रेनले १ लाखभन्दा बढी सैनिक परिचालन गरेको छ र तीमध्ये अधिकांश सीमा सुरक्षा क्षेत्रमा कार्यरत सैनिक हुन् । अहिले पनि रूसी सेनाले युक्रेनको राजधानी किभ शहरमा घेरा हालेको बताइएको छ । रूसले आफूलाई पक्राउ गर्न खोजेको तर सफल नभएको युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्की बताएका छन् ।

रूसले आक्रमण गरेको आज चौथो दिन रूसी सैनिक युक्रेनको राजधानी किभ शहरमा छन् । राजधानी किभको उत्तरी भेगमा रूसी सेना पुगेको युक्रेनले जनाएको छ ।

यस अघि युक्रेनले पूर्णरूपमा सेना परिचालन गरेको बताएको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेना परिचालनको आदेश दिएका छन् । यहाँका १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने घोषणा गरिएको छ । उता रूसले भने युक्रेनका राष्ट्रपतिलाई आत्मसमर्पण गर्न भनेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here