प्रस, वीरगंज, १५ फागुन/

वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले पत्रकारहरूको क्षमता अभिवृद्धिको लागि महानगरपालिका संवेदनशील रहेको बताएका छन् ।

वीरगंज महानगरको सहयोगमा नेपाल पत्रकार महासङ्घ, पर्साले आइतवारदेखि शुरू गरेको सञ्चारकर्मी महिलाहरूको दक्षता अभिवृद्धिको लागि पाँच दिने तालीमको उद्घाटन गर्दै नगरप्रमुख सरावगीले आफ्नो कार्यकालमा पत्रकारहरूले भविष्यमा दुःख नपाऊन् भनेर सञ्चार ऐन पारित गराएको बताए । उनले आफूपछिका नगरप्रमुखले पनि सञ्चार ऐनअनुरूप पत्रकारहरूलाई आवश्यक सहयोग गर्दै जाने विश्वास व्यक्त गरे ।

पर्सा जिल्लामा पत्रकारहरूको वृत्ति विकास आवश्यक भएको र यसै क्रममा महानगरले महिला पत्रकारहरूलाई लक्षित गरेर तालीम आयोजना गरेको र आगामी दिनमा पत्रकारिताका अन्य क्षेत्रमा कार्यरतहरूलाई पनि तालीम/प्रशिक्ष्Fण दिने बताए ।

प्रेस काउन्सिलका सदस्य लालबाबू शेखले पत्रकारहरूको वृत्ति विकासको लागि महानगरले महासङ्घसँग सहकार्य गरेर तालीम आयोजना गरेकोमा स्वागत गरे । उनले पत्रकारिताको विकासको लागि वीरगंजमा पत्रकारिता पढाउने विद्यालय सञ्चालनमा ल्याउन सुझाए ।

नेपाल पत्रकार महासङ्घका सदस्य केसी लामिछानेले पर्सा जिल्लाको पत्रकारितामा अहिले पनि सुधार नआएको र कपी पेस्ट गर्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरे । उनले विभिन्न कारणबाट पत्रकारहरू आर्थिकरूपमा पछि परेको र आशाप्रदरूपमा यो क्षेत्रको विकासमा सक्रिय नभएको पनि गुनासो गरे । श्रमजीवी पत्रकारहरूको हकमा पर्सा जिल्लामा कसैले पनि समस्या नराख्ने गरेको र यो अवस्थाले यहाँका श्रमजीवी पत्रकारहरूलाई समस्या नभएको सङ्केत गरेको बताए । उनले श्रमजीवी पत्रकारहरूलाई आफ्ना समस्याहरू खुलेर राख्न सुझाए ।

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका महासचिव श्याम बन्जाराले महिला पत्रकारहरू विशेषतः एफएम केन्द्रित भएको र उनीहरूको क्षमता वृद्धि हुन आवश्यक भएको बताए । उनले महिला पत्रकारहरू प्रशिक्षित हुने तर विभिन्न कारणले टिकाउ नहुँदा महिला पत्रकारको अभाव पर्सा जिल्लामा निरन्तर खड्किरहेको बताए । उनले यही पेशालाई अँगालेर टिकाउ भएर बस्ने सङ्ख्या महिलाहरूमा कम भएको भन्दै तालीमबाट केही मलजल हुने विश्वास व्यक्त गरे ।

महासङ्घका पूर्वकेन्द्रीय सदस्य महेश दासले पत्रकारहरूको वृत्ति विकासमा तालीम सहयोगी हुने बताए । उनले महानगरपालिकालाई पत्रकारिताको अन्य विधामा पनि यसैगरी तालीमको व्यवस्था गर्न आग्रह गरे ।

नगरप्रमुख सरावगीका सल्लाहकार गोविन्द देवकोटाले वीरगंजबाट २७ वटा दैनिक पत्रिका, १० वटा एफएम र दुईवटा टेलिभिजन तथा थुप्रै अनलाइन सञ्चालनमा रहे पनि उनीहरूले समाचारमा पस्कने कुरामा भने इमानदारिता नदेखाएको बताए ।

प्रायः सबै पत्रिकामा कपी–पेस्ट गर्ने चलन देखिएको र यसले पत्रकारिताको स्तर घटिरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले महानगरपालिकाले पत्रकारहरूको क्षमता, दक्षता अभिवृद्धिका लागि कार्य गरिरहेको र यसबाट फाइदा उठाउन आग्रह गरे । उनले महिला पत्रकारहरूलाई लक्षित गरेर फेलोसीपको व्यवस्था गरे पनि अहिलेसम्म कुनै महिला पत्रकारले सोको उपभोग गर्न नसकेकोमा दुःख व्यक्त गरे ।

महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष युवराज खड्काले स्वागत र जियालाल साहले सहजीकरण गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष सुषमा शर्मा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य अच्युत पौडेल, पर्सा शाखा उपाध्यक्ष विजय भण्डारीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here