प्रस, वीरगंज, १३ फागुन/
वीरगंज युथ एकेडेमीको आयोजनामा चैत २ देखि ११ गतेसम्म वीरगंजमा पहिलोपटक वीरगंज महिला गोल्डकप फूटबल प्रतियोगिता हुने भएको छ।
नेपाल पत्रकार महासङ्घ, पर्साको सभाकक्षमा पत्रकार सम्मेलन गरी एकेडेमीका सचिव तथा प्रतियोगिताका संयोजक ऋतु शाक्यले अभावका बावजूद पनि वीरगंजको मानसम्मान बढाउन महिला गोल्डकप फूटबल प्रतियोगिताको आयोजना गर्न लागेको बताए। रु १५ खर्च हुने अनुमान गरिएको प्रतियोगितामा भारतका दुई र नेपालका छ गरी आठवटा महिला टीमले भाग लिने जानकारी गराए।
प्रतियोगितामा बिहारको छपरा, नरकटियागंज र नेपालको वाग्मती युवा क्लब सर्लाही, सिद्धबाबा युवा क्लब अमलेखगंज, वाग्मती खेलकूद विकास समिति खप्परबारी, हेटौंडा युथ क्लब, निजगढ युवा क्लब, वीरगंज युथ एकेडेमी गरी आठवटा टीम सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।
प्रथम हुने टीमलाई रु ३० हजार, दोस्रो हुनेलाई रु १५ हजार, शिल्ड, प्रमाणपत्रसहित पुरस्कृत गरिने संयोजक शाक्यले बताए। कार्यक्रममा मध्यमाञ्चल खेलकूद विकास समितिका पूर्वअध्यक्ष मानदेव हजरा, अन्तर्राष्ट्रिय फूटबल खेलाडी ललित थापा, दीपक तिवारी, ग्रीष्म शाक्यलगायतले मन्तव्य राखेका थिए।