काठमाडौं, १३ फागुन/रासस

ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशिपमा सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ। एपिएफले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै लगातार तेस्रो जीत निकालेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रवार भएको खेलमा एपिएफले ललितपुर मेयर्स–११ लाई सात विकेटले पराजित गरेको हो। यसअघि एपिएफले पहिलो खेलमा प्रदेश नं १ र दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई छ विकेटले पराजित गरेको थियो। लगातार तीन खेलमा पराजित भएको ललितपुर मेयर्स प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि ललितपुर पहिलो खेलमा सुदूरपश्चिमसँग ५८ रनले र दोस्रो खेलमा लुम्बिनी प्रदेशसँग दुई रनअन्तरले पराजित भएको थियो।

आजको खेलमा ८१ रनको विजयी लक्ष्य एपिएफले १३ ओभरमा तीन विकेट गुमाएर पूरा ग–यो। एपिएफका लागि ज्योति पाण्डेले अर्धशतकीय पारी खेलिन्। उनले ४५ बल खेल्दै अविजित ५६ रन बनाइन्। यस्तै, रोमा थापाले अविजित ११ रनको योगदान दिइन्। बलिङतर्फ ललितपुर मेयर्सकी अनुराधा चौधरीले एक विकेट हात पारिन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको ललितपुर मेयर्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ८० रनको योगफल बनायो। ललितपुर मेयर्सका लागि सुमन खतिवडाले सर्वाधिक ३० रन जोडिन्। आरती बिडारीले अविजित २१ रन बनाइन्। बलिङतर्फ एपिएफका लागि करुणा भण्डारी र सुमन विष्टले एक/एक विकेट लिए।

अहिले त्रिवि क्रिकेट मैदानमा प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशबीच अर्काे खेल भइरहेको छ। प्रदेश १ ले टस जितेर ब्याटिङ गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here