प्रस, वीरगंज, १२ फागुन/

पर्साको धोबिनी गाउँपालिकाले पुसको अन्तिम सातामा खरीद गरेका औषधिहरू गुणस्तरहीन भएको स्वास्थ्यकर्मीहरूले दाबी गरेका छन् । ती औषधिहरूको म्याद सकिने मिति नजीक रहेको उनीहरूको आरोप छ ।

स्वास्थ्य कार्यालयका कर्मचारीका अनुसार औषधि खरीद गर्दा सो समयदेखि म्याद समाप्त हुने मिति कम्तीमा १५ महीना हुनुपर्छ तर गापाले खरीद गरेको औषधिहरूको म्याद २०२२ सेप्टेम्बरसम्म मात्र रहेको छ । गापाले केही महीनाअघि कोटेशनमार्फत रु २० लाखको औषधि खरीद गरेको थियो ।

नेपाल सरकारले औषधिलाई क, ख, ग, घ गरी चारवटा श्रेणीमा वर्गीकरण गरेको छ । धोबिनी गापाले खरीद गरेको औषधि अधिकांश ‘ग’ र ‘घ’ वर्गको रहेको स्वास्थ्य कर्मचारीहरूले जानकारी दिएका छन् ।

धोबिनी स्वास्थ्य चौकीका इन्चार्ज अवधनारायण प्रसादले गापाले खरीद गरी पठाएका औषधिहरू कागजात अनुसार नरहेको बताए । भरपाईमा उल्लिखित परिमाणभन्दा कम परिमाणमा औषधि प्राप्त भएको उनले बताए ।

यस विषयमा धोबिनी गापाका स्वास्थ्य संयोजक सञ्जय यादवसँग बुझ्दा सबै औषधिको म्याद १५ महीनाभन्दा बढी रहेको बताए । आवश्यकता अनुसार गापाले औषधि खरीद गरेको बताए । अपुग औषधिहरू स्वास्थ्य चौकीमा फेरि पठाउने बताए । उनले औषधिको भरपाई आफूले पठाएको बताए ।

गापा अध्यक्ष सुरेश कुर्मीले यसबारे आफूलाई थाहा नभएको बताए । विगतका कर्मचारीहरूले औषधि खरीद गरेकाले यस विषयमा बुझेर बताउने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here