प्रस, रौतहट, ११ फागुन/
मौलापुर पिकनिक पार्क यहाँका मानिसहरूको लागि आकर्षकको केन्द्र बन्दै गएको छ । २०७७ फागुनमा पार्क सञ्चालनमा आएको हो । एक वर्षमा यो पार्क स्थानीयहरूमा लोकप्रिय बनेको
छ ।
एमाले नेता प्रभु साहको पहलमा शहरी विकास मन्त्रालयबाट पिकनिक पार्कको निर्माण भएको थियो । यसैगरी, मौलापुर नगरपालिका कार्यालयको आर्थिक सहयोगमा पार्कमा अन्य आवश्यक कार्यहरू भएको प्रमुख प्रशासकीय अधिकृत रामबाबू साहले बताए । उनले विवाह, व्रतबन्ध, पिकनिक, सभा, समारोह र मानिसहरूको लागि घुमफिर गर्ने थलो भएको बताए । अहिले यो पार्कमा दैनिक २५० जना मानिसले अवलोकन गर्ने गरेको उनले बताए । पार्कमा पाँचजनाले रोजगार पाएका छन् ।
गौर, गरुडा, चन्द्रपुर, समनपुर, भारतको बैरगनिया, घोडासहन, चैनपुरलगायतबाट मानिसहरू पार्क हेर्न आउने र पार्कमा रमाएर जाने गरेको मौलापुर पिकनिक पार्कका सञ्चालक रामबाबूले बताए । सुरुआतको बेला केही दिनसम्म सुनसान रहेको यो पार्कमा अहिले बिहानदेखि बेलुकासम्म मानिसहरूको चहलपहल देख्न सकिन्छ ।
शनिवार र अन्य चाडपर्वहरूमा पार्कमा मानिसहरूको सङ्ख्या बढ्ने र पिकनिक गर्नेहरूको घुइँचो लाग्ने गरेको सञ्चालक रामबाबूले बताए ।