नितेश कर्ण, वीरगंज, १० फागुन/

आन्तरिक पर्यटन प्रवद्र्धन अभियान अन्तर्गत ‘जाऔं है पोखरा’ अभियानले वीरगंजमा सरोकारवालाहरूसँग छलफल र अन्तक्र्रिया गरेको छ ।

अभियानका संयोजक विकल तुलाचन र होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले १० वर्षको द्वन्द्व, महाभूकम्पभन्दा पनि कोरोनाकालमा होटल, पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको बताए ।

उनीहरूले कोभिडका कारण पोखराका होटल व्यवसायीहरू पलायन भएका, खर्बौं लगानी डुबेको र यो क्षेत्रलाई चलायमान गर्न सबैको सहयोग, सहकार्य आवश्यक रहेको बताए ।

उनले होटल तथा पर्यटन व्यवसाय आवतजावत र घुमफिरसँग सम्बन्धित भएको र कोरोनाकालमा यस्ता गतिविधिमाथि रोक लाग्दा होटल तथा पर्यटन व्यवसाय चौपट भएको बताए । उनले विगत बीस वर्षदेखि जाऔं है पोखरा अभियान सञ्चालन गर्दै आएको र अहिले पनि त्यसलाई निरन्तरता दिएको बताए ।

उनले कोरोनाको कारण दुई वर्षदेखि रोकिएको नयाँ वर्षको अवसरमा आयोजना हुने फेवा नववर्ष महोत्सव यस वर्ष आयोजना गरिने बताए । फेवा महोत्सवमा सहभागिता जनाउन उनले निमन्त्रण पनि गरे । सरकार र निजी क्षेत्रसँग सहकार्य गर्दै सुस्ताएको पर्यटनलाई जगाएर नेपाली अर्थतन्त्रमा टेवा दिंदै विकास र समृद्धिलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठले पोखरा नेपालकै रमणीय स्थल भएको बताए । उनले पोखराले विभिन्न कारणबाट आकर्षित गरे पनि त्यहाँसम्म पुग्ने सहज वातावरणको विकास अहिलेसम्म नभएको बताए । उनले पछिल्लो समयमा पोखराको लागि भारतीय पर्यटकहरू आकर्षणको केन्द्र भएपनि रक्सौलदेखि पोखरासम्म जाने र फर्कने सहज वातावरणको विकास नहुँदा चिन्ता जाहेर गरे ।

उनले पोखरामा सय परिवार अटाउन सक्ने होटलको अभाव भएकोले वैवाहिक कार्यक्रम गर्न सम्पन्न परिवार वीरगंजबाट काठमाडौं, विदेश जानुपर्ने अवस्था विद्यमान रहेको बताए । अध्यक्ष लाठले पर्यटकले सुरक्षा र सुविधा खोजेको हुन्छ र त्यो उपलब्ध भएको खण्डमा पोखरामा पर्यटक बढ्ने सम्भावना रहेको बताए ।

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका महासचिव श्याम बन्जाराले पर्यटक आकर्षित गर्न प्रचारप्रसारको भूमिका हुने र यसमा लगानी गर्नुपर्ने बताए । उनले प्रचारप्रसारका लागि सञ्चारकर्मीहरूलाई प्याकेजमा सुविधा उपलब्ध गराएर पोखरा घुमाउने र त्यहाँको बारेमा चर्चा परिचर्चा गर्न लगाएको खण्डमा व्यवसाय फस्टाउने बताए ।

वीरगंज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले बिहारमा मदिरा बन्द भएको र नेपालमा मदिराका लागि पनि त्यहाँबाट विभिन्न उत्सवहरूमा पर्यटकहरू नेपाल भित्रिने भएकोले उनीहरूलाई पोखरासम्म आकर्षित गर्ने प्याकेज उपलब्ध गराउँदा राम्रो हुने सुझाए । उनले वैवाहिक कार्यक्रमहरूमा मदिरा सामान्य भइसकेको र यसैको लागि पनि बिहारका मानिसहरूलाई नेपालतर्फ आकर्षित गर्न सकिने सुझाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here