प्रस, वीरगंज, १० फागुन/
पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि हुने साइक्लिङ प्रतियोगितामा वीरगंज महानगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ । नेपाली सेना सिद्धबक्स गण, पर्सा राष्ट्रिय निकुञ्ज, पर्यटन व्यवसायी सङ्घ बारा, टुर एन्ड ट्राभल्स एशोसिएशनलगायतको आयोजनामा जैविक विविधता तथा प्राकृतिक दृष्टिकोणले महŒवपूर्ण पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकलाई आकर्षित गर्न साइक्लिङ प्रतियोगिताको आयोजना हुन लागेको हो ।
पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगत, नेपाली सेनाको सिद्धीबक्स गण आधाभारका मेजर कमानसिंह गुरुङ, होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका महासचिव मोहन शर्मा, नेपाल ट्राभल एन्ड टुर्स एशोसिएशन मधेस प्रदेशका अध्यक्ष मोहन शर्मालगायतको टोलीसँग सोमवार आफ्नै कार्यकक्षमा भेटवार्ता गरेका नगरप्रमुख विजयकुमार सरावगीले नेपाली सेनाको अगुवाइ, मधेस प्रदेश सरकारको नेतृत्व, स्थानीय निकाय र गैरसरकारी संस्थाहरूको सहयोग र सहकार्यमा २०७६ सालमा वीरगंजमा गरिएको म्याराथुनजस्तै यसपटक पर्सा राष्ट्रिय निकुञ्जमा हुने साइक्लिङ प्रतियोगिताले पर्यटन व्यवसायमा सघाउ पुग्ने बताए ।
उनले पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकहरूको आकर्षण बढेको खण्डमा त्यस आसपासका अन्य पर्यटकीय स्थलको विकासमा सहयोग पुग्ने र त्यसको उपयोग वीरगंज महानगरले पनि गर्न पाउने बताए । उनले वीरगंज महानगरलाई पनि पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न यहाँका ससाना पर्यटकीय स्थलको पूर्वाधार संरचना निर्माण गरी ठूला पर्यटकीय गन्तव्य स्थलसँग सञ्जाल बनाएर वीरगंजको विकासमा सहभागिता गराउने महानगरको उद्देश्य रहेको पनि प्रस्ट्याए ।
छलफलमा प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डे, नगरप्रमुखका सल्लाहकार गोविन्द देवकोटालगायतको सहभागिता थियो ।