प्रस, वीरगंज, १० फागुन/
दलित सरोकार मञ्चले राष्ट्रिय दलित पत्रकार सङ्घ, पर्साको सहकार्यमा वीरगंजमा मङ्गलवार राजनीतिक दलहरूका प्रमुख, प्रतिनिधिसँग स्थानीय निर्वाचनमा दलितको प्रतिनिधित्व बढाउने विषयमा अन्तक्र्रिया गरेको छ ।
अन्तक्र्रियामा नेपाली काङ्ग्रेस, पर्साका सचिव श्याम पटेलले सदियौंदेखि उपेक्षित दलित समुदायलाई नेपाली काङ्ग्रेसले अवसर दिंदै आएको बताए । उनले आफ्नो पार्टीको केन्द्रीय सहमहामन्त्री जीवन परियारले दलित समुदायबाट प्रतिनिधित्व गरेको भन्दै आगामी दिनमा पनि दलित समुदायलाई प्राथमिकता राखेर काम गर्ने प्रतिबद्धता जनाए ।
नेकपा एमाले, पर्साका कार्यवाहक अध्यक्ष डा विश्वम्भर शर्माले आफ्नो पार्टीले दलित समुदायलाई प्राथमिकतामा राखेर काम गर्दै आएको दाबी गरे । यसअघि पनि दलित समुदायको प्रतिनिधित्व गराउने सवालमा एमाले पछि नपर्ने बताए । उनले आगामी स्थानीय निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व बढ्ने गरी काम गर्ने जनाए ।
जनता समाजवादी पार्टी, पर्साका सचिव तबरेज अहमदले उद्देश्य र सङ्ख्यात्मकरूपमा दलित हकहितका लागि कुनै पनि राजनीतिक दलले सन्तोषजनक काम नगरेको बताए । उनले जसपाले यस अर्थमा अन्यभन्दा केही हदसम्म भूमिका निर्वाह गरेको दाबी गरे । उनले दलित समुदायबीच एकता नभएको र अशिक्षा, गरीबीको फाइदा उठाएर राजनीतिक दलहरूले आआफ्नो दुनो सुझ्याउँदै आएको आरोप पनि लगाए ।
नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाले आगामी निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व बढाउने प्रतिबद्धता जाहेर गरे । उनले आफ्नो पार्टीले यो विषयमा कन्जुसी नगर्ने पनि बताए ।
दलित पत्रकार सङ्घ, पर्साका अध्यक्ष श्याम पासवानको अध्यक्षतामा भएको अन्तक्र्रियामा लोसपाका नगर अध्यक्ष ओमप्रसाद सर्राफ, नेपाल पत्रकार महासङ्घ, पर्साका उपाध्यक्ष युवराज खड्का, डा विजयप्रसाद मिश्रलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सङ्घका सचिव सूर्यनारायण विकले गरेका थिए ।