मोगादिसु, १० फागुन/सिन्ह्वा
संयुक्त राष्ट्रसङ्घले सोमालियाका करीब ५५ लाख नागरिकका लागि तत्काल खाद्य सहायता उपलब्ध गराउनुपर्ने बताएको छ । यहाँ अहिलेसम्म करीब ५५ लाख मानिसले खाद्यान्नको अभाव झेलिरहेका र तीमध्ये १४ लाख बढी बालबालिका रहेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले त्यहाँ विकराल बन्दै गएको र खडेरीका कारण लाखौं मानिसहरू भोकमरीको गम्भीर अवस्था सामना गर्न बाध्य भएको बताएको छ ।सोमालियाका लागि राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रतिनिधि आदम अब्देलमौलाले यहाँ अहिले ठूलो सङ्ख्याका मानिस खाद्यान्न अभावको चपेटामा परेका र उनीहरू खासगरी खडेरीका कारण यस्तो अवस्थामा परेको बताएका छन् ।
उनले चरम भोकमरीका कारण त्यहाँका पाँच वर्षमुनिका लाखौं बालबालिकासमेत कुपोषित भएको र तत्काल उपचार नगरे उनीहरूको ज्यानै जान सक्ने बताए । त्यसैले राष्ट्रसङ्घले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष अपील गरेको पनि उनले बताएका छन् । ती बालबालिकाका लागि आवश्यक खाद्यान्न र उपचारका लागि पनि तत्कालै सहयोग आवश्यक रहेको जनाइएको छ ।
भोकमरीका कारण त्यहाँका करीब पाँच लाख मानिस खानेकुराको खोजीमा अन्य स्थान पलायन भइसकेका छन् । करीब २९ लाख मानिस देशभित्रै विस्थापित भएका छन् । रासस