काठमाडौं, ९ फागुन/रासस

ब्रिगेड ब्वाइज क्लब नवप्रवेशी सातदोबाटो युथ क्लबसँग पराजित हुँदै शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबलबाट रेलिगेशनमा परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमवार भएको खेलमा सातदोबाटो युथ क्लबसँग ३–२ गोलअन्तरले पराजित भएपछि ब्रिगेड ब्वाइज क्लब रेलिगेशनमा परेको हो । ब्रिगेड ब्वाइज यस सिजनमा रेलिगेशनमा पर्ने दोस्रो टोली हो । यसअघि च्यासल युथ क्लब रेलिगेशनमा परिसकेको छ ।

त्यसैगरी, ब्रिगेड ब्वाइज तेस्रोपटक रेलिगेशनमा परेको हो । यसअघि २०६३ र २०६८ सालमा रेलिगेशनमा परेको थियो । सातदोबाटोको जीतमा सुशील राई, दीपकराज सिंह ठकुरी र नीरज चौधरीले एक/एक गोल गरे । ब्रिगेडका लागि भने बेर्टरान्ड इबोडे ओट्टोउ र रोशन रानामगरले एक/एक गोल फर्काए । खेलको १३औं मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए तर खेलको १६औं मिनेटमा ब्रिगेड ब्वाइजका बेर्टरान्डले एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यस्तै, खेलको १८औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई २–१ को अग्रता दिलाए । खेलको ५१औं मिनेटमा ब्रिगेड ब्वाइजका रोशनले गोल गर्दै खेललाई २–२ गोलको स्थितिमा ल्याए । त्यसपछि खेलको ८७औं मिनेटमा नीरजले गोल गर्दै सातदोबाटोलाई ३–२ को जीत दिलाए । यस जीतसँगै सातदोबाटोले १२ खेलमा १८ अङ्क जोडेको छ । सातदोबाटो पाँचौं स्थानमा उक्लिएको छ । पराजित ब्रिगेड ब्वाइज १२ खेलमा सात अङ्क जोडेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here