काठमाडौं, ९ फागुन/रासस
पाकिस्तानी दूतावासको आयोजनामा नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दूतावासले सोमावार आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी मार्च २ (फागुन १८)देखि ९ सम्म सातौं संस्करणको प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिएको हो ।
दूतावासका प्रथम सचिव सकिल अहमदले विगतका वर्षझैं यस वर्ष पनि उक्त प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए । “क्रिकेट पाकिस्तानको महŒवपूर्ण खेल भएकोले यसैबाट दुर्ई देशबीचको सम्बन्ध झन् प्रगाढ बनाउनका लागि प्रतियोगिता गर्दै आएका हौं,” उनले भने । यस्ता खेलले नेपालका क्रिकेटप्रेमीका लागि पनि सहयोग पुग्ने उनको भनाइ थियो ।
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेट एक्सिलेन्स सेन्टरका संस्थापक पारस खड्काले प्रतियोगिता युवा क्रिकेट खेलाडीका लागि एउटा प्लेटफर्मका रूपमा रहेको बताए । उनले यस प्रतियोगिताको मुख्य आकर्षण भनेको युवा खेलाडी तथा राष्ट्रिय टोलीमा नपरेका खेलाडीलाई मौका मिल्ने जानकारी दिए ।
प्रतियोगिताका लागि शुभकामना दिंदै नेपालका लागि पाकिस्तानी राजदूत सइद हैदर शाहले युवालाई उनीहरूको क्षमता प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनले यस प्रतियोगिताबाट पाकिस्तान र नेपालबीचको सम्बन्ध तथा दुर्ई देशका खेलप्रेमीबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने विश्वास व्यक्त गरे । प्रतियोगिता धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा हुनेछ । पत्रकार सम्मेलनमा विजेताले प्राप्त गर्ने ट्रफी पनि सार्वजनिक गरिएको थियो ।