पेरिस, ९ फागुन/एएफपी
अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनले मस्कोले युक्रेनमाथि आक्रमण नगरेसम्म शिखर सम्मेलन गर्न सैद्धान्तिकरूपमा स्वीकार गरेको फ्रान्सेली राष्ट्रपतिले सोमवार घोषणा गरेका छन् । युक्रेनको सिमानामा रूसी सेनाको ठूलो जमघटपछि पश्चिमी शक्तिहरूले युरोपेली युद्ध रोक्न अन्तिम प्रयास गरेका छन् ।
फ्रान्सका राष्ट्रपतिले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र रूसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेको विज्ञप्तिमा जनाइएको छ । उनले राष्ट्रपति बाइडेन र राष्ट्रपति पुटिनबीच शिखर सम्मेलन गर्ने र त्यसपछि युरोपमा सुरक्षा र रणनीतिक स्थिरताबारे छलफल गर्न सम्बन्धित सरोकारवालाहरूसँग प्रस्ताव राखेको जनाइएको छ ।
राष्ट्रपति बाइडेन र पुटिन दुवैले यस्तो शिखर सम्मेलनको सिद्धान्तलाई स्वीकार गरेको दाबी गरिएको छ । बिहीवार २४ फेबु्रअरीमा उनीहरूको बैठकमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन र मन्त्री लाभरोभले छलफलको विषयवस्तु तयार गर्नुपर्नेछ । रूसले युक्रेनमा आक्रमण नगरेको अवस्थामा मात्रै यो गर्न सम्भव हुने बताइएको छ । साथै फान्र्सेली राष्ट्रपतिले यी छलफलहरूको विषयवस्तु तयार गर्न सबै सरोकारवालाहरूसँग मिलेर काम गर्ने जनाइएको छ । रासस