प्रस, वीरगंज, ८ फागुन/

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ता नेतृत्वको टोलीले काठमाडौंमा भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईसँग भेटघाट गरेको छ ।

महानिर्देशक भट्टराईको कार्यकक्षमा भएको भेटघाटमा अध्यक्ष गुप्ताले नेपालमा केही वस्तुहरूको आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने गरी नेपाल राष्ट्र बैंकबाट जारी परिपत्रका कारण भन्सार जाँचपास प्रभावित भएको बताए । उनले वीरगंज भन्सार, कोलकाता र विशाखापट्टनम बन्दरगाहमा नेराबैंकको परिपत्रका कारण चार हजारभन्दा बढी कन्टेनर थन्किएको बताए । उनले परिपत्र अगावै सिपमेन्ट भइसकेका मालवस्तुहरू पुरानै प्रावधान बमोजिम भन्सार जाँचपास गरी नेपाल भिœयाउने वातावरण बनाउन आग्रह गरे ।

साथै उनले नेराबैंकले आयात हुने ४७ वटा सङ्केत नम्बरका वस्तुहरूमा शतप्रतिशत र ५० प्रतिशत मार्जिन राखेर मात्रै आयात गर्ने प्रावधान लागू गरेकोमा आपत्ति व्यक्त गरे । उनले ४७ वटा सङ्केत नम्बरका वस्तुहरूमा विलासिताका वस्तुहरू किटान गरी बाँकी रहेका वस्तुहरूको हकमा सुधार गर्नुपर्ने भन्दै महानिर्देशक भट्टराईको ध्यानाकर्षण गराए । उनले शतप्रतिशत मार्जिन राखेर सानो आयातकर्ताहरूलाई ससानो रकम तिरेर वस्तु आयात गर्नु कठिनाइ भइरहेकाले आपूर्ति व्यवस्थासमेत असहज र असन्तुलित भएको बताए । उनले भन्सार राजस्व भुक्तानी विद्युतीय माध्यमबाट गर्ने प्रावधान गरेकोमा स्वागतयोग्य भएको जिकिर गरे । उनले भुक्तानीको लागि तत्काल विद्युतीय माध्यमका साथै म्यानुअल सँगसँगै लग्ने र छ महीना वा एक वर्षपछि म्यानुअललाई विस्थापित गर्र्नुपर्ने सुझाव पनि दिए ।

अध्यक्ष गुप्ताले सिमेन्ट उद्योगका लागि आवश्यक कच्चा पदार्थ क्लिङ्कर र फ्लाइएस आयातमा भारतले कुनै शुल्क नलगाएको तर नेपालमा प्रतिहजार टनको हिसाबले शुल्क लिने गरेकोले सिमेन्ट उद्योगहरूले आफ्नो उत्पादन आम जनतालाई सस्तो दरमा उपलब्ध गराउन नसकेकोमा पनि ध्यानाकर्षण गराउँदै सोबारे विचार पु¥याउन आग्रह गरे ।

अध्यक्ष गुप्ताले आयातसम्बन्धी बैंकले मार्जिन डिपोजिटबापत अग्रिम भुक्तानीसरह आयातकर्ताको खाताबाट १० प्रतिशत रकम रोक्का राख्ने वा कट्टा गर्दै आएको भन्दै बैंकहरूले भन्सार राजस्व भुक्तानीसम्बन्धी चेक जारी नगरे पनि १० प्रतिशत मार्जिन रकम भनी आयातकर्ताको खाताबाट कट्टा गर्ने वा खातामा रोक्का राख्ने गरिएकोमा पनि आपत्ति जनाए । उनले यस्तो परिपाटीलाई अन्त्य गर्न महानिर्देशकको ध्यानाकर्षण गराए । वीरगंज भन्सार, आइसिपी, आइसिडीमा एम्बुलेन्स, वारुणयन्त्र, वाइफाई जोन र सुरक्षाको व्यवस्थाको साथै सौन्दर्यीकरणको लागि पनि पहल गर्न महानिर्देशकलाई सुझाए ।

महानिर्देशक भट्टराईले निजी क्षेत्रको माग र गुनासोलाई चाँडो सम्बोधन गर्ने आश्वासन दिए । उनले नीतिगत समस्याको हकमा आवश्यक गृहकार्य गरी संशोधन र परिमार्जन गर्नेतर्फ प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष हरि गौतम, महासचिव मनोजकुमार दास, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयललगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here