राधेश्याम पटेल, परवानीपुर, ८ माघ/

वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयमा करीब १६ करोड मूल्यबराबरको तेल उत्पादन गर्ने कच्चा पदार्थ अलपत्र परेको छ ।

करीब एक महीनादेखि ७० कन्टेनर कच्चा पदार्थ अलपत्र परेको भन्सार कार्यालयमा रहेको प्लान्ट क्वारेन्टाइन शाखाले जनाएको छ । वीरगंजका तीन वटा ट्रेडिङ फर्मको तोरी, भटमासको पिना रोकिएको प्लान्ट क्वारेन्टाइन शाखाका प्राविधिक सहायक रामनरेश साहले जानकारी दिए ।
आयातकर्ताले विदेशबाट आयात गरेको वस्तुको इन्ट्री परमिटमा ननजिएमओ प्रमाणपत्र पेश नगरेका कारण कृषि तथा पशुपक्षी मन्त्रालय मातहतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र काठमाडौंको निर्देशनमा प्लान्ट क्वारेन्टाइन शाखा सुक्खा बन्दरगाहले उक्त सामान रोकेको हो ।

सुक्खा बन्दरगाह भन्सारले वीरगंजको रिलायन्स ट्रेड सोलुशन प्रालिका तीनवटा कन्साइन्मेन्टको ५२५ दशमलव ५ टन तोरी र सोही फर्मको ५५० टन भटमासको पिना, रक्षम इन्टरनेशनल प्रालिको ५६० टन भटमासको पिना र तपन इन्टरप्राइजेज प्रालिको १२५ टन भटमासको पिना गरी कुल एक हजार ७७० टन कच्चा पदार्थ रोकेको हो ।

यी वस्तुको विदेशमा खरीद मूल्य प्रतिटन करीब ७५० अमेरिकी डलर रहेको छ । तोरी अस्ट्रेलिया र क्यानडाबाट आयात गरिन्छ भने भटमासको पिना ब्रजील र अर्जेन्टिनाबाट आयात गरिन्छ । यी देशलगायत ३१ वटा मुलुकबाट तेल उत्पादनका कच्चा पदार्थ पैठारीमा ननजिएमओ प्रमाणपत्र आवश्यक गरिएको छ । जिएमओ भनेको अनुवंश परिमार्जित सामग्री (जेनेटिकली मोडिफाइड अर्गानिज्म) हो ।

कृषि मन्त्रालयले गत वैशाख ५ गतेको मन्त्रीस्तरीय निर्णयको आधारमा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले निकासीकर्ता मुलुकहरूमा जिएमओहरूको व्यापक खेती भइसकेको सन्दर्भमा नेपाल पैठारी हुने कन्साइन्मेन्टसमेतमा जिएमओ हुन सक्ने भएकोले सोबाट बिरुवाको स्वास्थ्य तथा जैविक सुरक्षामा समेत जोखिम बढ्ने कुरालाई मध्यनजर गर्दै सम्भाव्य बिरुवाजन्य वस्तुको ननजिएमओ प्रमाणपत्र पेश गरेर मात्र आयात अनुमति दिइनुपर्छ भनेर विभिन्न भन्सार शाखाका प्लान्ट क्वारेन्टाइन शाखाहरूलाई परिपत्र गरेपछि आयात अनुमति नदिइएको कारण कच्चा पदार्थ सुक्खा बन्दरगाह भन्सारमा रोकिएको हो ।

पहिले भन्सार नाकाको प्लान्ट क्वारेन्टान कार्यालयबाटै सीधैं आयात अनुमति दिइन्थ्यो । तर पछिल्लो समय प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको निर्देशन अनुसार ती वस्तुको आयात अनुमति रोकिएपछि सामान अलपत्र परेको हो ।

यसै सन्दर्भमा नेपालमा आयात गरी तेल निकाल्ने अर्थात् प्रशोधन गर्ने उद्योगको हकमा शर्त अनुसार आयात अनुमति माग गरेको खण्डमा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले छानबीन गरी आयात अनुमति दिन सक्छ । तर ट्रेडिङ व्यवसाय गर्ने फर्मलाई केन्द्रले कडाइ गरेको वीरगंजका एक व्यवसायीले बताए । ट्रेडर्सले आयात गरेको जिएमओसहितको वस्तु बजारमा बिक्री वितरण भयो भने त्यसले जैविक र बिरुवा सुरक्षामा प्रतिकूल असर पार्ने भएकोले रोकेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here