प्रस, वीरगंज, ८ फागुन/

नेपाली काङ्ग्रेस वीरगंज महानगर समितिले महानगरमा रहेका ३२ वटा वडाका बुथ सभापतिलाई सम्मान गरेको छ ।

१४औं महाधिवेशनमा निर्वाचित ३२ वटा वडाका बुथ सभापतिलाई महानगर सभापति भोलाप्रसाद कलवार, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, प्रदेश सदस्य प्रेमशङ्कर सिंह, अनामिका यादव, नेविसङ्घ पर्साका पूर्वअध्यक्ष दीलिपराज कार्की, अनिल श्रीवास्तव, अनिल सिंह, शैलेन्द्र उपाध्यायलगायतले बुथ सभापतिहरूलाई गम्छा ओढाएर टीका लगाएर सम्मानित गरेका थिए ।

सो अवसरमा नगर सभापति कलवारले पार्टी कार्यकर्ताहरूको पनि मूल्याङ्कन गरिनुपर्नमा जोड दिए । उनले केवल ठूला नेताहरूको सम्मान गर्ने परिपाटीको विकास भएकोले आफूले बुथ सभापतिहरूलाई सम्मान गरेको बताए ।

साना कार्यकर्ताहरूबाट ठूला नेताहरूको मानसम्मान हुने भएकोले साना नेता, कार्यकर्ताहरूको पनि मूल्याङ्कन हुनुपर्ने भएकोले आफूले पहल गरेको बताए । कार्यक्रममा सम्मानित भएका बुथ सभापतिहरूले पार्टीका जिल्लास्तर र केन्द्रस्तरका सबै नेताहरूलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरे । उनीहरूले साना कार्यकर्ताहरूमा कुनै पनि किसिमको मनमुटाव, विवाद र गुटबन्दी नभएको तर नेताहरूमा भने एकता नहुँदा काङ्ग्रेस पार्टी बलियो भएर पनि कमजोर देखा परेको बताए ।

उनीहरूले पर्सा जिल्लामा पनि यो रोगको कारण पार्टीले यसअघिका निर्वाचनमा पराजयको पीडा भोग्नुपरेको बताए । उनीहरूले आगामी स्थानीय निर्वाचनमा नेका, पर्सा एकजुट छ भन्ने सन्देश लिएर जानुपर्ने सुझाउँदै त्यसका लागि पार्टीको नगर र जिल्ला अधिवेशनमा सहमति गरेर सन्देश प्रवाह गर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here