काठमाडौं, ७ फागुन/रासस

च्यासल युथ क्लब फ्रेन्ड्स क्लबसँग पराजित भएसँगै शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबलबाट रेलिगेशनमा परेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिवार भएको खेलमा फ्रेन्ड्स क्लबसँग २–१ गोलअन्तरले पराजित भएपछि च्यासल युथ क्लब एक खेलअगावै ‘बी’ डिभिजनमा घटुवा भएको हो । विसं २०७३ मा च्यासल ‘ए’ डिभिजनमा बढुवा भएको थियो ।

फ्रेन्ड्सको जीतमा जमौल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे । खेलको ३८औं मिनेटमा जमौल एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ४३औं मिनेटमा जमौल एन्थोनीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाए ।

च्यासलका अभिषेक लिम्बूले पेनाल्टी क्षेत्रभित्र एन्थोनीलाई लडाएपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो । त्यसपछि खेलको ५६औं मिनेटमा च्यासलका मौसा अबगानाले एक गोल फर्काए । मौसाले पेनाल्टीबाट एक गोल फर्काए पनि च्यासल २–१ ले पराजित भयो ।

फ्रेन्ड्सका गोलकीपर राहुल यादवले पेनाल्टी क्षेत्रभित्र राजीव लोप्चनलाई फउल गर्दै लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो । यो जीतसँगै फ्रेन्ड्सले १२ खेलमा १० अङ्क जोडेको छ । फ्रेन्ड्स लिगको १२औं स्थानमा छ । च्यासल १२ खेलमा छ अङ्क जोडेर अङ्कतालिकाको अन्तिम स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here