मस्को, ६ फागुन/एएफपी
रूसले युक्रेनको सीमानजीकका क्षेत्रहरूबाट थप ट्याङ्क र अन्य सशस्त्र गाडीहरू फिर्ता लिन थालेको जनाएको छ । “पश्चिमी सैन्य जिल्लाको ट्याङ्क आर्मी एकाइहरूसँग सम्बन्धित कर्मचारी र सैन्य उपकरण बोकेको अर्काे सैन्य ट्रेन निर्धारित अभ्यास पूरा गरेपछि निज्नी नोभगोरोड क्षेत्रमा आफ्नो स्थायी अड्डाहरूमा फर्किए,” रूसी रक्षा मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।
यसैगरी, यसले १० वटा युद्धक विमान मस्को–विलग्न क्राइमियन प्रायद्वीपबाट फिर्ता भएको बताएको छ ।
अमेरिकी सिनेटले सम्भावित रूसी आक्रमणविरूद्ध युक्रेनलाई समर्थन गर्ने प्रस्ताव पारित
मस्को/एएनआई
अमेरिकी सिनेटले बिहीवार राति रूसको सम्भावित आक्रमणको विरुद्ध स्वतन्त्र र प्रजातान्त्रिक युक्रेनको समर्थनमा सर्वसम्मतिले द्विपक्षीय प्रस्ताव पारित गरेको छ । सिनेटले राजनीतिक, कूटनीतिक र सैन्य समर्थन प्रदान गरेर युक्रेन सरकारको क्षेत्रीय अखण्डता पुनस्र्थापना गर्ने निरन्तर प्रयासहरूलाई समर्थन गर्न संयुक्त राज्य अमेरिकाको अटल प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ ।
प्रस्तावमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई युरोपमा शान्ति पुनस्र्थापना गर्न युक्रेनमाथि आक्रमण गरेमा रूसले ठूलो मूल्य चुकाउनुपर्ने र त्यसका लागि अमेरिकाले जस्तोसुकै निर्णय पनि लिन आग्रह गरिएको छ ।
यस प्रस्तावमा कुनै पनि कुरालाई
(१) युद्धको घोषणा वा रूसी सङ्घविरुद्ध सैन्य बल प्रयोगको लागि प्राधिकरण वा (२) युक्रेनमा संयुक्त राज्य सशस्त्र सेनाको परिचयको लागि प्राधिकरणको रूपमा व्याख्या गर्न सकिंदैन,” एजेन्सीले जनाएको छ । पश्चिमी देशहरूले सीमामा सेना परिचालन गरेको भन्दै रूसले युक्रेनविरुद्ध आक्रमणको तयारी गरिरहेको आरोप लगाउँदै आएका छन् । रूसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले मङ्गलवार मस्कोले युक्रेनसँगको सीमाबाट आफ्ना केही सेना फिर्ता गरिरहेको बताएका छन् ।
रूसले युक्रेनमाथि आक्रमण गर्ने कुनै पनि योजना नरहेको बताउँदै आएको छ । रूसी सीमानजीक नेटोको बढ्दो उपस्थितिले आफ्नै सुरक्षालाई खतरामा पारेको उसको बुझाइ छ । रासस