काठमाडौं, ५ फागुन/रासस

आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह ‘ए’को खेल भोलि शुक्रवारदेखि ओमानमा हुने भएको छ  । ओमानको एकेडेमी १ मा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ शुक्रवार ओमानको सामना गर्नेछ ।

विश्वकप ग्लोबल छनोटको तयारीस्वरूप नेपालले यसअघि चार देश सम्मिलित टी–ट्वान्टी सिरिज खेलेको थियो । यसमा नेपालले ओमानलाई छ विकेटले पराजित गरेको थियो ।

सोही सिरिजको अन्य खेलमा संयुक्त अरब इरिमेटसँग (युएई) २५ रन र आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो ।

त्यसअघि नेपालले ओमानसँग टी–ट्वान्टीमा पछिल्लोपटक सन् २०१९ मा खेलेको थियो । जसमा ओमानले नेपाललाई छ विकेटले पराजित गरेको थियो ।

विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह ‘ए’ मा विभिन्न आठ राष्ट्र सहभागी छन् ।

जसमा आयोजक ओमानसहित नेपाल, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

ती आठ टोलीलाई पनि दुर्ई समूहमा विभाजन गरिएको छ । समूह १ मा नेपाल, क्यानडा, फिलिपिन्स र ओमान छन् भने समूह दुर्ईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

प्रतियोगिता फाइनल पुग्ने दुर्ई टोलीले आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, आरिफ शेख, जीतेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, लोकेश बम र गुलशन झा छन् । वैकल्पिकमा भने कुशल मल्ल, साहब आलम र प्रदीप ऐरी छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here