प्रस, वीरगंज, ३ फागुन/

नेपाली काङ्ग्रेस पर्साको जिल्ला र नगर अधिवेशनको मिति तय भएको छ भने एमाले पर्साको यही फागुन ६ गते बस्ने बैठकले नेतृत्व घोषणा गर्ने भएको छ ।

नेपाली काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा, पालिका, क्षेत्र र नगर अधिवेशन हुन बाँकी जिल्लाहरूले यही फागुन १० गते सो निर्वाचन सम्पन्न गर्न र जिल्ला अधिवेशन हुन बाँकी जिल्लाले फागुन १३ गते जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन जारी गरे अनुसार पर्सामा नगर अधिवेशन र जिल्ला अधिवेशन तोकिएको समयमा हुने तयारी भएको नेका, पर्साका सचिव श्याम पटेलले बताए । उनले पर्सा जिल्लालगायत १६ वटा जिल्लामा जिल्ला अधिवेशन र पर्सा जिल्लामा मात्र नगर अधिवेशन हुन बाँकी रहेको जानकारी गराए । नेका, पर्साको नगर र जिल्ला अधिवेशन मङ्सिरमा सम्पन्न महाधिवेशनपछि हुने तय भए अनुसार पुस २७ गतेका लागि तोकिएको थियो ।

तर राष्ट्रियसभा निर्वाचनका कारण माघ १० गतेका लागि सारिएको र सो अवधिमा कोरोनाको सङ्क्रमण बढेपछि स्थगित गरिएको थियो । अहिले घोषित मितिमा दुवै निर्वाचन सम्पन्न हुने तयारी भएको सचिव पटेलले बताए ।

चुनाव हुँदैन, घोषणासभा हुन्छ –हजरा

यता जिल्ला अधिवेशन उद्घाटन समारोह सम्पन्न गरेर बन्दसत्रमा भएको विवादले स्थगित नेकपा एमाले, पर्साको नेतृत्व निर्वाचन प्रक्रियाबाट नगरी घोषणा गरिने जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य प्रभु हजराले प्रतीकलाई बताए । उनले अधिवेशनको उद्घाटन सत्र सकेर बन्दसत्रमा घोषणासभा हुँदा विवाद भएर स्थगित भएकोले फागुन ६ गते सचिवालयको बैठक बस्ने र घोषणासभाको मिति तय गर्ने बताए ।

नेकपा एमाले, पर्साको जिल्ला अधिवेशन पनि एमालेको महाधिवेशनपछि पुस २७ गते उद्घाटन समारोह सम्पन्न भएको थियो र सोही दिनको अबेर राति बन्दसत्रबाट नेतृत्व घोषणा गरिंदा कुटाकुट, तोडफोड भएर स्थगन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here