राधेश्याम पटेल, परवानीपुर, ३ माघ/
वीरगंज भन्सारले चालू आर्थिक वर्षको सात महीनामध्ये माघ महीनामा मात्र लक्ष्य भेटाएन । बाँकी पछिल्लो साउनदेखि पुस मसान्त छ महीनासम्म लक्ष्यभन्दा बढी नै राजस्व सङ्कलन गरेको छ । माघमा राजस्व सङ्कलन लक्ष्य नभेटाए पनि माघसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
वीरगंज भन्सारले माघमा रु १६ अर्ब ४९ करोड ४८ हजारको लक्ष्य पाएकोमा लक्ष्यभन्दा रु ६७ करोड कम राजस्व सङ्कलन गरेको छ ।
माघमा कार्यालयले भन्सार महसूलतर्फ रु छ अर्ब १६ करोड ७३ लाख ९३ हजार लक्ष्य पाएकोमा रु पाँच अर्ब ८१ करोड ४५ लाख ९७ हजार, मूअकरतर्फ रु चार अर्ब ८५ करोड ४९ लाख ३० हजार लक्ष्य पाएकोमा रु छ अर्ब ५० करोड ४७ लाख ४४ हजार, अन्तःशुल्कतर्फ रु दुई अर्ब ५३ करोड ६८ लाख ३५ हजार लक्ष्य पाएकोमा रु एक अर्ब ४० करोड ६६ लाख ७१ हजार, पूर्वाधार करतर्फ रु एक अर्ब ४० करोड ३२ लाख ३५ हजार लक्ष्य पाएकोमा रु एक अर्ब २९ करोड ८८ लाख, सडक निर्माण तथा सम्भार दस्तुरतर्फ रु ८३ करोड ८४ लाख ३२ हजार लक्ष्य पाएकोमा रु ३१ करोड १५ लाख २० हजारलगायत गरी कुल १५ अर्ब ८२ करोड एक लाख ४२ हजार राजस्व सङ्कलन भएको वीरगंज भन्सारको तथ्याङ्क शाखाले जनाएको छ ।
वीरगंज नाका भएर पछिल्लो समय मालसामानको आयातमा गिरावट आएसँगै राजस्व सङ्कलनमा पनि ¥हास आएको भन्सार अधिकारीहरूको जिकिर छ ।
त्यसैगरी, चालू आवको माघ मसान्तसम्मको तथ्याङ्क अनुसार भन्सार कार्यालयले सात महीनाको लागि एक खर्ब १६ अर्ब ७१ करोड १५ लाख ८५ हजार लक्ष्य पाएकोमा रु एक खर्ब २१ अर्ब ७२ करोड ८४ लाख ७७ हजार राजस्व सङ्कलन गरेको छ ।
वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीलिप केसीका अनुसार भन्सार महसूलतर्फ रु ४३ अर्ब ४० करोड ८ लाख २७ हजार लक्ष्य पाएकोमा रु ४४ अर्ब ३९ करोड १९ लाख १२ हजार, मूअकरतर्फ रु ३५ अर्ब ९८ करोड ४५ लाख नौ हजार लक्ष्य पाएकोमा रु ४७ अर्ब ५३ करोड ९२ लाख ४४ हजार, अन्तःशुल्कतर्फ रु १८ अर्ब १४ करोड ५१ लाख २२ हजार लक्ष्य पाएकोमा रु १३ अर्ब ६७ करोड ४८ लाख ३५ हजार, पूर्वाधार करतर्फ रु नौ अर्ब ३२ करोड २६ लाख ४३ हजार लक्ष्य पाएकोमा रु नौ अर्ब २७ करोड २० लाख ३२ हजार, सडक निर्माण तथा सम्भार दस्तुरतर्फ रु दुई अर्ब ९१ करोड ८८ लाख २९ हजार लक्ष्य पाएकोमा रु तीन अर्ब ४० करोड ७८ लाख ८७ हजार गरी कुल एक खर्ब २१ अर्ब ७२ करोड ८४ लाख ७७ हजार राजस्व सङ्कलन गरेको छ ।