मेक्सिको, ३ फागुन/एएफपी
प्रेम दिवसको रूपमा मनाउने गरिएको भ्यालेन्टाइन्स डेका अवसरमा मेक्सिकोमा सयौं प्रेमी–प्रेमिकाले विवाह गरेका छन् । मेक्सिकोमा सोमवार आयोजना गरिएको सामूहिक विवाह कार्यक्रममा ६६१ जोडीले विवाह गरेको समाचारमा जनाइएको छ ।
विवाह गर्नेमा ७४ वर्षीय फ्रान्सिस्को काल्भो र ६७ वर्षीया रोसाल्बा सिल्भाको जोडी पनि रहेको छ । उनीहरूको भेटघाट पाँच वर्षअगाडि भएको थियो । वैवाहिक कार्यक्रममा सहभागीहरूले वैवाहिक कार्यक्रम निकै रोमाञ्चक र पारिवारिक देखिएको अनुभव सुनाएका थिए ।
“मेरो परिवारका दुर्ई दिदीले यस्तै कार्यक्रममार्फत यसअघि नै विवाह गर्नुभएको हो, उहाँहरू अहिले खुशी नै हुनुहुन्छ, त्यसैले मैले पनि यही तरीका अपनाएँ,” विवाह गरेका ४९ वर्षीय एक व्यक्तिले भने ।
धेरैजनाको विवाह भएकाले व्यवस्थापनमा केही कठिनाइ भने भएको आयोजकहरूले बताएका छन् । उनीहरूलाई कार्यक्रमस्थलमैं विवाह दर्ता प्रमाणपत्र प्रदान पनि गरिएको थियो ।
“एकै ठाउँमा एकैचोटि ६६१ जोडीको विवाह गर्दा चुनौती र कठिनाइ त अवश्य भयो,” व्यवस्थापनमा खटिएकी एकजना महिलाले भनिन् । रासस