प्रस, निजगढ, २ फागुन/

निजगढ तिलगङ्गा सामुदायिक आँखा अस्पतालको भवन निर्माणको लागि सोमवार निजगढ–९ मा शिलान्यास भएको छ । कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालले निजगढ तिलगङ्गा सामुदायिक आँखा अस्पतालको भवन निर्माणले निजगढमा उच्च विकास निर्माणको थालनी भएको बताए ।

१४ वर्षअघि तिलगङ्गा आँखा अस्पतालको लागि जमीन खोजी भएको स्मरण गर्दै तीन वर्षअघि सो अस्पताल भवनको निर्माण थालनी गर्ने सम्झौता भएपनि विभिन्न कारणले शिलान्यास हुन नसकेको र आज यस शुभ कार्यको थालनी समयले जुराइदिएको नगरप्रमुख खनालले बताए ।

दु्रतमार्ग, प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, विद्युतीय रेलमार्गलगायतका राष्ट्रिय गौरवका आयोजनाहरूसँगै तिलगङ्गा आँखा अस्पतालले दिने सेवाले निजगढलगायत आसपासका जिल्ला र प्रदेशका जनताले मात्र नभई छिमेकी मुलुक भारतका नागरिकले समेत उपचार पाउने नगरप्रमुख खनालले बताए । निजगढको स्वास्थ्य पर्यटकीय क्षेत्रको रूपमा पहिचान बढ्नेमा आफू आशावादी रहेको बताउँदै लक्ष्य अनुसारको कार्य तोकिएकै समयमा शुरू भई सम्पन्न गर्नसमेत उनले आग्रह
गरे ।

कार्यक्रममा उपप्रमुख लीलादेवी लामिछानेले निजगढमा आँखालगायत अन्य स्वास्थ्योपचारको लागि मोडेल अस्पतालको रूपमा भवन तोकिएकै समयमा पूरा गर्न आफूहरूले गर्नुपर्ने सहयोगमा कुनै कमी हुन नदिने बताइन् । “सबै निजगढवासी विकासप्रेमी छन् । अनि सचेत पनि छन् ।

विकास कार्यका लागि सकारात्मक सोच राखी सहयोग गर्छन् । सो अस्पतालले विपन्न वर्ग, गरीब, असहायहरूको निश्शुल्क सेवा प्रदान गर्नुपर्छ,” उपप्रमुख लामिछानेले बताइन् ।

कार्यक्रममा कलाकार तथा नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य हरिवंश आर्चायले ज्ञान, सीपका कारण डा सन्दुक रुइतलाई भगवान् बुद्धको अवतार भएको बताए ।

कलाकार आचार्यले आँखारोगको चिकित्सकीय पेशाबाट डा रुइतले नेपाल र नेपालीलाई संसारभर चिनाउन सफल भएको बताउँदै ज्योति गुमेका आँखारोगीलाई पुनः संसार देखाउने पुण्य कार्य गरिरहेका उनकै आग्रहमा २७ वर्षअघि आफू यस संस्थासँग जोडिएको जानकारी दिए ।

एक अर्को प्रसङ्गमा उनले राजनीतिक कारणले नेपालले चाहे जति विकास गर्न नसकेको बताउँदै विदेशबाट अर्बौंको खाद्यान्यलगायत विभिन्न मालसामान आयात मात्र गर्ने मुलुक नेपाल बनेकोमा चिन्ता व्यक्त गर्दै यस पुण्य कार्यमा निजगढवासीको उत्साह सराहनीय रहेको बताए ।

त्यस्तै, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले आँखा जस्तो संवेदनशील अङ्गको उपचारसँगै स्वास्थ्योपचारका विभिन्न क्षेत्रलाई समेट्ने गरी अस्पताल निर्माण भइरहेको मा शुभकामना व्यक्त गरे । त्यसैगरी, निजगढ नपाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले ढिलै भएपनि निजगढले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्नेमा आफू आशावादी रहेको बताउँदै नगरपालिकाको तर्फबाट गर्नुपर्ने सहयोगमा जहिल्यै अग्रसर हुने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, वडाध्यक्ष एवं प्राथमिक स्वास्थ्य केन्द्र, निजगढ–९ का अध्यक्ष सुदर्शनप्रसाद बडालले सकारात्मक कार्यको थालनीले राम्रो प्रतिफल पाउनेमा निजगढवासी आशावादी रहेको बताए । आँखा अस्पतालको लागि निजगढ नगरपालिकाले वडा नं ९ मा छ करोड मूल्यबराबरको १० कट्ठा जमीन निश्शुल्क उपलब्ध गराएको छ ।

मोडल अस्पतालको रूपमा आँखालगायत अन्य अङ्गको समेत उपचार हुने गरी निर्माण थालिएको सो अस्पतालको निर्माण साथै सेवा सञ्चालन गर्न २८ करोड रुपैयाँ लाग्ने जसमा ११ करोड रुपैयाँ भवन निर्माणमा खर्च हुने जनाइएको छ । द फ्रेड हलोज फाउन्डेशनले ५९ प्रतिशत, नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठानले आन्तरिक स्रोत परिचालन गरी ४१ प्रतिशत रकम उपलब्ध गराउने छन् ।

सो भवन निर्माण सम्पन्न गर्न दुई वर्ष लाग्ने जनाइएको छ । कार्यक्रममा नेपाल आँखा कार्यक्रमका सिद्धिलाल श्रेष्ठ, डा मोहनकृष्ण श्रेष्ठ, पीताम्बर अधिकारी, डा लीलाराज पुरीलगायत सहभागी थिए ।

आजैबाट सो अस्पतालले प्राथमिक स्वास्थ्य केन्द्रबाट आँखाको उपचार सेवा शुरू गरेको छ । पाँच वर्षभित्र दुई लाखभन्दा बढी बिरामीको आँखा जाँच र २५ हजार बिरामीको विभिन्न प्रकारका शल्यक्रियासमेत गर्ने लक्ष्य राखेको छ ।

नेपाल आँखा कार्यक्रमका अध्यक्ष सुहद घिमिरेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत सिद्धिलाल श्रेष्ठ र सञ्चालन हरिबहादुर कार्कीले गरेका थिए । कार्यक्रममा स्थानीय विभिन्न राजनीतिक दलका प्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि, स्थानीयवासी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here