प्रस, वीरगंज, २ फागुन/
नारायणी अस्पतालमा औषधि खरीद प्रक्रियामा ढिला भएको छ । अस्पतालले औषधि खरीदका लागि लेखा अधिकृत राजेन्द्र कर्णको संयोजकत्वमा कमिटी गठन गरेको थियो । कमिटीमा स्टोर फार्मेसी र अस्पतालबाहिरका विज्ञ तथा लेखापाल सदस्य
छन् ।
इबिडिङबाट ठेक्का लगाइएको र सो सम्बन्धमा माघ १२ गते ठेकेदारहरूको सूची प्रकाशन भएको थियो । सो सूचीको सम्बन्धमा समितिका सदस्यहरूले छानबीन गरी सप्लायर्स तय गरेर संयोजक प्रमुख लेखा अधिकृत कर्णलाई बुझाएका थिए । तर अहिलेसम्म सोसम्बन्धी टुङ्गो लागेको छैन ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले औषधि खरीदका सबै प्रक्रिया पूरा भएको तर संयोजकले सोसम्बन्धी प्रतिवेदन उपलब्ध नगराएको कारण ढिला भएको बताए । उनले आफूले यसबारे लेखा अधिकृतसँग बुझ्दा उनले प्रक्रियागत त्रुटि रहेको मौखिक जवाफ दिएको र अहिलेसम्म सोको निक्र्योल नगरेको बताए । उनले यसबारे सम्बन्धित कार्यालयहरूसँग राय–परामर्श लिएर औषधि खरीद प्रक्रिया शुरू गर्नुपर्नेमा ढिला भएको र स्वास्थ्य बीमालगायतका सेवाग्राहीहरूले औषधि नपाइरहेको अवस्था रहेको बताए ।
उनले औषधि खरीद प्रक्रिया टुङ्गो नलागेको अवस्थामा अस्पतालले अन्यत्रबाट थोरबहुत औषधि खरीद गरी स्वास्थ्य बीमा गराएकाहरूलाई आपूर्ति गराउँदै आएको बताए । उनले यसबारे मन्त्रालयको ध्यानाकर्षण पनि गराएको जानकारी गराएका
छन् ।
लेखा अधिकृतले भने प्रक्रियागत त्रुटि रहेको र त्यसलाई सच्याएर चाँडै औषधि आपूर्ति हुने बताएका छन् । नारायणी अस्पतालमा औषधि खरीद सम्बन्धमा यसअघिदेखि नै विवाद हुने गरेको छ । अस्पतालमा रहेका औषधि विक्रेता गिरोहहरूले कमिशनको लोभमा आफ्नो स्वार्थपूर्ति हुने खालका कामहरू गराउँदै आएका छन्, जसले गर्दा टेन्डरबाट औषधि खरीद प्रक्रिया अस्पतालमा विरलै हुने गरेको छ ।
यसपटक इबिडिङबाट औषधि खरीद प्रक्रिया गरिए पनि सफल नहुनुको कारण कमिशन नै भएको स्रोतले जनाएको छ ।