प्रस, रौतहट, २ फागुन/
पूर्वमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले शहीदले बगाएको रगतबाट सत्तामा पुगेकाहरूले शहीदको खिल्ली उडाइरहेको आरोप लगाएका छन् । रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं ५ विजयपुरमा शहीद मनरूप महतो स्मृति भवन तथा शहीद मनरूप स्मृति पार्कको उद्घाटन गर्दै उक्त आरोप लगाएका हुन् ।
देशमा परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा शहादत प्राप्त वीर शहीदको बलिदानीकै बलमा सत्तामा पुग्नेहरूले पटकपटक शहीदलाई अपमान गर्ने काम गर्दै आएको उनले बताए । शहीदको बलिदानीकै बलमा देशमा अहिले आमूल परिवर्तन भएकोले शहीदका परिवारलाई सधैं सम्मान र आदर गर्नुपर्ने उनले बताए ।
जनयुद्ध दिवसको अवसर पारेर नेता साहले उद्घाटन गरेसँगै आइतवारदेखि नै उक्त भवन तथा पार्क सञ्चालनमा आएको छ । फतुवा विजयपुर नगरपालिकाको विजयपुरमा स्मृति भवन निर्माण भई सञ्चालन भएको छ भने सोही नगरपालिकाको भैसहीमा उक्त पार्क सञ्चालनमा आएको हो ।
जनयुद्धमा शहादत प्राप्त गरेका मनरूप महतोको सम्झनामा एमाले नेता प्रभु साहले उनकै नामबाट स्मृति भवन तथा पार्कको निर्माण गरी उद्घाटन गरेका हुन् । फतुवा विजयपुर नगरपालिका र विभिन्न दातृ निकायको सहयोगमा निर्माण भएको १४ कोठे दुई तले भवन आइतवारदेखि सर्वसाधारणको विवाह, व्रतबन्ध आदि कार्यका लागि खुला गरिएको छ ।
कार्यक्रममा नेता साहले ५१ जना शहीद तथा बेपत्ता भएकाहरूका परिवारलाई सम्मान गरेका थिए । उनले नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । फतुवा विजयपुरकी उपप्रमुख कान्तिदेवी महतोको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एमालेका जिल्ला इन्चार्ज उपेन्द्र साह, जिल्ला अध्यक्ष अमर साह, कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहा, मौलापुर नगरपालिकाका प्रमुख रीनादेवी साहको सहभागिता थियो ।