राधेश्याम पटेल, वीरगंज, २ फागुन/
नेपाल सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै मधेस प्रदेशको सुदूरपश्चिम जिल्ला पर्सामा चुनावी सरगर्मी बढेको छ । मधेस प्रदेशको एकमात्र महानगर वीरगंज, जिल्लाका अन्य तीन नगरपालिका र १० वटा गाउँँपालिकामा चुनावी सरगर्मी बढेको नेता, कार्यकर्ताहरूले बताएका छन् । वीरगंजमा चुनावी सरगर्मीलाई लिएर बिहानदेखि बेलुकासम्म नेता, कार्यकर्ताहरूको टोल दौडाहा तथा दलका अगुवा कार्यकर्ताहरूबीच छलफल तीव्र भएको छ ।
वीरगंजमा विभिन्न राजनीतिक दलका नेताहरूबीच चुनावी प्रतिस्पर्धामा भाग लिने रस्साकसी चलिरहेको छ । वीरगंज महानगरमा पुरानै अनुहारबीच स्थानीय तहको चुनाव हुने चर्चा छ ।
वीरगंज महानगरको प्रमुखमा जनता समाजवादी पार्टीबाट पुनः नगरप्रमुख विजयकुमार सरावगी, नेपाली काङ्ग्रेसबाट अजयकुमार द्विवेदी, राजेन्द्रबहादुर अमात्यको चर्चा छ भने नेकपा एमालेबाट बसरुद्दीन अन्सारी एवं लोकतान्त्रिक समाजवादी पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका राजेशमान सिंहमध्ये एकजनाको उम्मेदवारी पर्ने सम्भावना बढी छ ।
त्यसैगरी, माओवादी केन्द्रबाट रहबर अन्सारी तथा लोसपाबाट नयाँ उम्मेदवारलाई टिकट दिइने पर्साको राजनीतिक वृत्तमा चर्चा चलेको छ । आगामी चुनावमा नेकपा एमाले र लोसपाबीच कार्यगत एकता हुने तथा जसपा, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच पनि कार्यगत एकता हुने चर्चा छ ।
यदि कार्यगत एकता भयो भने नेपाली काङ्ग्रेस, नेकपा एमाले–लोसपा, जसपा–माओवादी–एकीकृत समाजवादी पार्टीलगायतका गठबन्धनका उम्मेदवारहरूले आगामी चुनाव लड्ने सम्भावना देखिएको छ ।
अहिले पार्टीमा आएको उथलपुथल र राजनीति उतारचढावका कारण यसअघिको भन्दा आगामी निर्वाचनको नतीजामा उल्लेख्य परिवर्तन हुन सक्ने अनुमान गर्न सकिन्छ ।