प्रस, परवानीपुर, २ फागुन/

वीरगंज भन्सार मातहतको एकीकृत जाँच चौकी (आइसिपी) नाकामा वीरगंज भन्सारका कर्मचारी तथा सशस्त्र प्रहरी बेस क्याम्पका सुरक्ष्Fाकर्मीले अवैध असुली गरिरहेका छन् ।

भारतबाट मालसामान बोकेर नेपाल भित्रिएका भारतीय गाडीहरूबाट अवैध असुली भइरहेको चालकहरूको गुनासो छ ।

कुनै पनि भारतीय गाडीलाई मालसामान लिएर नेपाल आउँदा भन्सारको नियम अनुसार ७२ घण्टाभित्र सामान अनलोड गरी फर्किनुपर्ने समयावधि तोकिएको छ । तर सार्वजनिक बिदा, बन्द, हडताल, चक्काजाम, दुर्घटनालगायत विविध कारणले ती गाडीहरू तोकिएको समयमा फिर्ता हुन नसकेमा त्यस्ता गाडीबाट अवैध असुली गरिंदै आएको छ ।

७२ घण्टाभन्दा बढी समय नेपालमा बिताएका भारतीय गाडीले प्रतिदिन रु एक हजार ७०० जरिवानाबापत राजस्व तिरेर जानुपर्ने नियम रहे तापनि केही बिचौलियाहरूको सेटिङमा एउटा गाडीसँग दिनको एक हजार रुपैयाँको दरले अवैध असुली गरी ती गाडीहरूलाई भारततर्फ पास गर्ने गरिएको छ ।

दैनिकरूपमा दशदेखि पन्ध्रवटा भन्सार फेल भएका गाडी भारत जाने गरेका छन् । जसबाट दैनिक २० देखि ३० हजार रुपैयाँ भन्सार कार्यालयका सहयोगी एवं सशस्त्र प्रहरीले अवैधरूपमा असुल्ने गरेको बताइएको छ ।

यस विषयमा वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत दीलिप केसीले आफूलाई सोबारे जानकारी नभएको र यदि गलत काम भइरहेको छ भने अनुसन्धान गरी कर्मचारीलाई कारबाई गर्ने बताए ।

त्यसैगरी, सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले यस्तो अवैध धन्दामा सशस्त्र प्रहरी संलग्न छ भने कारबाई गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here