प्रस, पोखरिया, १ फागुन/
पोखरिया नगरपालिकाले किसानहरूलाई अनुदानको लागि ल्याएको धानको बीउ कुहिएर नष्ट भएको छ । गत जेठको अन्तिममा धानबाली लगाइसकेपछि नगरपालिकाले सुवर्ण सय एक र ६४४४ हाइब्रिड धानको बीउ खरीद गरेको थियो ।
दुवै धान गरी ३८ क्विन्टल खरीद गरेको र किसानलाई पचास प्रतिशत अनुदान सहयोगमा वितरण गर्ने योजना थियो तर अधिकांश किसानले धान रोपिसकेपछि नगरपालिकाले ल्याएको यो हाइब्रिड धानको बीउ केवल तीन क्विन्टल मात्र अनुदान सहयोगमा वितरण भयो ।
सुवर्ण सय एकको प्रतिकिलो रु एक सय मूल्य थियो भने ६४४४ प्रतिकिलो रु छ सय किलो थियो । यति महँगो धानको बीउ समय व्यतीत गरेर खरीद गरेको कारण त्यतिखेर किसानहरूले खरीद गरेनन् । बिक्री नभएको धानको बीउलाई कृषि कार्यालयमा भण्डारण गरिएको थियो । अहिले सो बीउ मुसाले खाएर छरिएको अवस्थामा छ भने केही कुहिएका छन् ।
कृषि कार्यालयका जेटिए राजेश महतोले जेठको अन्तिममा धान बीउ खरीद भएर आएको कारण बिक्री हुन नसकेको बताए । उनले समयमा धानको बीउ उपलब्ध भएको भए किसानहरूले सहुलियतमा खरीद गर्थे तर त्यसो नभएको कारण बीउ वितरण हुन सकेन र अहिले यो अवस्थामा पुगेको हो ।