काठमाडौं, २९ माघ/रासस
चार देशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा शनिवार भएको खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको हो । १९३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६७ रनमा समेटियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४१ रनको योगदान दिए । ३३ बल खेलेका उनले पाँच चौकाको मदतमा ४१ रन जोडेका थिए ।
त्यस्तै, लोकेश बमले २१ बलमा ३३ रन जोडे । उनले दुई चौका र दुई छक्का प्रहार
गरे । आशिफ शेखले २९ बलमा ३४ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे । ज्ञानेन्द्र मल्लले १९ बलमा २२ रन बनाउँदा दुई चौका र एक छक्का हिर्काए । आरिफ शेखले ११ रन र शरद भेषवाकरले १० रन जोडे ।
युएईका रोहन मुस्तफा र कासिफ दाउदले समान दुई/दुई विकेट लिए भने जुनैद सिद्धिकीले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १९२ रन जोड्यो । युएईका लागि चिराग सुरीले अविजित सर्वाधिक ८४ रनको योगदान गरे । उनले पाँच चौका र पाँच छक्का प्रहार गरे । रोहन मुस्ताफाले ३५ बलमा ४९ रन बनाए । उनले पाँच चौका र दुई छक्का हिर्काए ।
त्यस्तै, मोहमद वासिमले १३ बलमा २२ रन जोडे । उनले एक चौका र दुई छक्का प्रहार गरे । मोहमद बुटाले १४ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहाब आलमले एक/एक विकेट लिए । नेपालले हिजो भएको पहिलो खेलमा ओमानलाई छ विकेटले पराजित गरेको थियो । नेपालले चार देश सम्मिलित टी–ट्वान्टी सिरिजमा अन्तिम खेल फागुन २ गते आयरल्यान्डसँग खेल्नेछ ।