नितेश कर्ण, वीरगंज, २८ माघ/
सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत वीरगंज महानगरपालिकाका तीसवटा सडकखण्ड निर्माण तथा स्तरोन्नतिको काम साढे तीन वर्षदेखि सम्पन्न हुन सकेको छैन ।

करीब डेढ सय करोडको वीरगंज महानगरपालिकाको तीसवटा सडकखण्ड (५२ किलोमिटर) निर्माण तथा स्तरोन्नतिको लागि २०७५ वैशाख र जेठमा दुईवटा ठेकेदार कम्पनीले सकार गरे पनि अहिलेसम्म एउटा ठेकेदारले आधा र अर्को ठेकेदारले ७० प्रतिशत मात्र काम सम्पन्न गर्न सकेको छ । सघन शहरी तथा भवन निर्माण आयोजना, वीरगंजका इन्जिनीयर विवेक नेपालले वीरगंज महानगरपालिकाका सत्रवटा सडकको निर्माण, स्तरोन्नतिका लागि स्वच्छन्द, पप्पु, युनाइटेड बिल्डर्स काठमाडौंले २६ किलोमिटरको लागि २०७५/०२/१९ गते रु ७५ करोड २० लाख ८२ हजारमा ठेक्का सकार गरेको र अहिलेसम्म पचास प्रतिशत मात्र काम सम्पन्न गरेको बताए ।

उनले यो सम्झौता अनुसार २०७७/२/८ मा कार्य सम्पन्न गर्नुपर्नेमा तोकिएको समयमा कोरोनासमेतको कारण कार्य सम्पन्न नहुँदा २०७८/१२/३० गतेसम्म म्याद थप गरेको र अहिले यसको प्रगति ५० प्रतिशत तथा वित्तीय प्रगति ३२ प्रतिशत रहेको बताए । यो सडकखण्ड अन्तर्गत हरपतगंज–हाइवे, कलौटी–कुहाडी–रामपुर नदी, अपौनी विद्यालय, सौराहाटोल–हाइवे, इनर्वा–मनियारी, झाँगीटोल–श्रीपुर, मनियारी–रामजानकीरोड, नेशनल इन्फोटेक– लक्ष्मणवा छठघाट, प्रसौनी स्कूल–मनियारी–इनर्वा, परवानीपुर–ताजपुर, पटेलनगर–परवानीपुर, पुवारीटोल पोखरी–वडा कार्यालय, रामगढवापुल–स्कूलमा २६ किलोमिटर बाटो निर्माण तथा स्तरोन्नतिको काम गर्नुपर्नेमा अहिलेसम्म पूर्ण हुन सकेको छैन ।
यसैगरी, वीरगंज महानगरपालिकाका विभिन्न १३ वटा सडकखण्डहरूको निर्माण तथा स्तरोन्नतिको लागि अर्को ठेकेदार कम्पनी रमण/श्याम/युनाइटेड बिल्डर्स काठमाडौंले ७४ करोड ८७ लाख ६५ हजारमा २०७५/१/३१ गते ठेक्का सकार गरेको र सम्झौता अनुसार २०७७/१/३० मा कार्य सम्पन्न गर्नुपर्नेमा हालसम्म भौतिक प्रगति ७० प्रतिशत मात्र गरेको इन्जिनीयर नेपालले बताए । उनले यो योजनाको अवधि पनि कोरोनालगायतको कारणले चैत मसान्तसम्म थप गरिएको छ ।

योजना अन्तर्गत छपकैया पुल–भन्सार, मेडिकल कलेज–हाइवे ढाट, मेडिकल कलेज–नगवा, मेडिकल कलेज–पुल भन्सार–नगवा, आदर्शनगर सडक, एनएमसी त्रिशूलचोक, ओमआश्रम सडक, रानीघाट–घण्टाघर, अलौंचोक–सुगौलीचोक, फिल्म हल–धर्मशाला–कलभर्ट, सुगौली प्रहरी चौकी–पद्मरोड गरी २६ किलोमिटर सडक निर्माण तथा स्तरोन्नतिको ठेक्का भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here