– राजेश मिश्र

बिरामी- सर, एगो पुर्जी काट दिं ना। (सर, एउटा पुर्जी काटिदिनुस् न।)

कर्मचारी- कथी बेमारी भइल बा ? (के रोग लागेको छ ?)

बिरामी- बोखार लागता। (ज्वरो लागिरहेको छ।)

बिहानदेखि पुर्जी काट्ने काउन्टरमा भीड हुन्छ र दैनिक यस्तो संवाद सुन्न पाइन्छ। त्यसपछि ओपिडी सेवातर्फ बिरामीको पाइला बढ्छ। उहिले टहराबाट स्वास्थ्य सेवा शुरू भएको अस्पताल झन्डै तीन वर्षअघि केन्द्रीय अस्पतालमा स्तरोन्नति भइसकेको छ। चिकित्सकहरू जन्म वा मृत्युका कारक पक्ष होइनन्। यद्यपि चिकित्सकले आफ्नो दक्षता र स्वास्थ्य संसाधनको सहायताले उपचार गर्ने हरसम्भव प्रयास गर्नुपर्छ। मानवीय नाताले पनि बिरामीलाई निको पार्ने प्रयत्न गर्नु चिकित्सकको परम कर्तव्य हो। त्यसैले अन्य पेशा/सेवाभन्दा स्वास्थ्य सेवालाई सबैभन्दा उपल्लो श्रेणीको मान्यताप्राप्त छ। सेवाभावकै कारण स्वास्थ्य सेवामा समर्पित चिकित्सक तथा स्वास्थ्यकर्मीलगायत स्वास्थ्य सेवासँग आबद्ध समग्र जनशक्तिलाई सम्मानित दृष्टिकोणले हेरिन्छ। यद्यपि अन्य क्षेत्रसँगै स्वास्थ्य क्षेत्रमा पनि हेल्चक्रयाइँ, लोभ, मोह र स्वार्थ छैन भन्ने कुरा कदापि होइन।

उहिले वीरगंजको पहिचान नेपाल रेलवे, वीरगंज चिनी कारखाना, कृषिऔजार कारखाना, ठाकुर राम बहुमुखी क्याम्पस त थिए नै, उपचारको लागि एकमात्र छपकैयास्थित वीरगंज अस्पताल थियो। उहिलेको वीरगंज कस्तो थियो भन्ने कुरा अहिले केवल कल्पना गर्न सकिन्छ। उहिलेको वीरगंज देखेका पुस्ता अपवादबाहेक अहिले ब्रह्मलीन भइसकेका छन्। हाम्रा पूर्वजहरूले भोकले भन्दा बढी रोगले मृत्युवरण गरेको दृष्टान्त छ। सात/आठ दशकअघि स्वास्थ्य उपचार सेवामा अपवादबाहेक जनताको पहुँच थिएन। त्यसैले उहिले उपचारको अभावभन्दा पनि मृत्युलाई भाग्यको खेल मानिन्थ्यो। वीरगंजको लागि त्यो समय अति सुखद थियो, जतिबेला महेन्द्र आरोग्य भवनमा विशेषज्ञ चिकित्सकसहित वीरगंज अस्पताल सञ्चालित भयो। वीरगंज अस्पतालपछि नारायणी अञ्चल अस्पतालमा रूपान्तरण भयो। सोको केही वर्षपछि उपक्षेत्रीय अस्पतालको दर्जा पायो। र आज केन्द्रीय अस्पतालमा परिणत भई सेवाप्रवाह गरिरहेको छ।

आजको यस आलेखमा महेन्द्र आरोग्य भवन बन्नुभन्दा अघि वीरगंज अस्पतालको भौतिक संरचना कस्तो थियो ? महेन्द्र आरोग्य भवनको उद्घाटन कहिले र कसले गरेका थिए ? पहिलो नियुक्ति पाउने महिलासहित विशेषज्ञ चिकित्सक को को थिए ? श्री ५ ऐश्वर्य प्रसूति गृहको स्थापना कहिले भएको थियो ? क्लथ मर्चेन्ट, वीरगंजले कति र कहिले आर्थिक सहयोग गरेको थियो ? लगायतका वृतान्त विभिन्न पुरनियाहरूसँग भएको संवाद, अस्पताल तथा उपलब्ध दस्तावेजको आधारमा तयार पारिएको छ।

पृथ्वी वीर अस्पताल, वीरगंज

वीरगंज अस्पताल हुनु भन्दा पहिले ‘पृथ्वी वीर अस्पताल’ नाम थियो भन्ने कुरा केही व्यक्तित्वहरूको अभिव्यक्तिबाट जानकारीमा आयो। यद्यपि सोको सटीक प्रमाण खोेज्ने प्रयास सफल भएन। त्यस कारण यसबारेमा विस्तारमा वर्णन गर्न असमर्थ छु।

महेन्द्र आरोग्य भवनमा ‘वीरगंज अस्पताल’

विसं २०१८ सम्म ‘वीरगंज अस्पताल’ टहरामा सीमित थियो। पुरनियाहरूका अनुसार छपकैयास्थित मुख्य सडकको पश्चिमतर्फ एक/दुई वटा टहरा थिए। सोहीमा अहेबसरहका स्वास्थ्यकर्मीहरूबाट ज्वरो, रुघाखोकी, घाउ, चोटपटक आदि सामान्य उपचार सेवा प्रवाह गरिन्थ्यो। त्यसपछि वीरगंजका एक दाता अस्पतालको पक्की भवन निर्माणको लागि अग्रसर भए र उनले भारतीय रुपैयाँ दुई लाख पच्चीस हजार चन्दा सहयोग गरेको नेपाल गजेटमा उल्लेख छ।

विसं २००८ असोज २९ गते प्रकाशित भएको नेपाल गजेटमा यस्तो उल्लेख छ, “उद्योग तथा वाणिज्य मन्त्रालयबाट प्रकाशित एउटा सूचनामा भनिएको छ कि वीरगंजको क्लथमर्चेन्ट आसोशिएशनले आफूखुशी वीरगंजमा अस्पताल भवन बनाउनलाई कम्पनी रु २,२५,००० (दुई लाख पच्चीस हजार) दिने इच्छा गरेको छ, सो रुपैयाँ यौटा बोर्डको जिम्मामा रहनेछ। सो बोर्डमा एक सरकारी प्रतिनिधि र अर्को एक क्लथमर्चेन्ट आसोशिएशनका प्रतिनिधि रहनेछ।”

विसं २०१३ ताका वीरगंजका तत्कालीन बडाहाकिम जयवर सिंह थिए। उनकै पहलमा विभिन्न उद्योगी–व्यवसायीहरूबाट थप आर्थिक सहयोग सङ्कलन भयो। त्यसपछि पक्की भवनको निर्माण कार्यले गति लियो। विसं २०१८ मा नेपालका अन्य थुप्रै अस्पतालसँगै ‘वीरगंज अस्पताल’मा एकजना महिलासहित दुईजना चिकित्सकको नियुक्ति भएको कुरा विसं २०१८ माघ ९ गते प्रकाशित नेपाल गजेटमा उल्लेख छ। नियुक्ति पाएका सिनियर मेडिकल अफिसर डा जगदीशचन्द्र सिन्हा (द्वितीय श्रेणी) र लेडी डा सावित्रीदेवी कानू (तृतीय श्रेणी) थिए। त्यस्तै, निर्माण संचार मन्त्रालय, रेलवे विभाग (एनजिआर) वीरगंजमा मेडिकल अफिसर डा रामचन्द्र तेवारी नियुक्त भएकोे गजेटमा उल्लेख छ। सोको तीन दिनपछि वीरगंज अस्पताल सञ्चालनका लागि ‘महेन्द्र आरोग्य भवन’को उद्घाटन भयो। हाल जीर्ण अवस्थामा रहेको यस भवनको मुख्य द्वारमा ‘श्री ५ बडामहाराजाधिराज सरकार महेन्द्र वीर विक्रम शाह देवको बाहुबलीबाट विसं २०१८ साल माघ १२ गते उद्घाटन गरिबक्सेको’ उल्लेख छ। तत्कालीन सरकारको अवधारणा बमोजिम अस्पताल विकासको लागि विसं २०४३ मा नारायणी अस्पताल विकास समितिको उदय भयो। सम्भवतः महेन्द्र आरोग्य भवनमा सञ्चालित वीरगंज अस्पताल जिल्ला तहको अस्पताल थियो भन्ने कुरा अनुमान गर्न सकिन्छ।

श्री ५ ऐश्वर्य प्रसूति गृह

विसं २०४२ सालमा स्थापित भएको श्री ५ ऐश्वर्य प्रसूति गृह त्योभन्दा अघि खाली मैदान थियो। उक्त मैदान बच्चाहरूको खेल्ने र पशुहरूको चरन स्थल थियो। वीरगंजको छपकैयास्थित महेन्द्र आरोग्य भवन र त्रिभुवन राजपथदेखि पूर्वको खाली जग्गामा विसं २०४२ सालमा तत्कालीन सरकार र दाताको लगानीमा ऐश्वर्य प्रसूति गृह स्थापना भयो। विगतको तुलनामा विसं २०४२ ताका तत्कालीन वीरगंज नगरपञ्चायत निकै परिवर्तन भइसकेको थियो। राज्यको आर्थिक ढुकुटीको उपाधि पाएको वीरगंज शहर विस्तार हुने क्रममा थियो। जनसङ्ख्या, घर र व्यवसाय आदि थपिंदै गइरहेका थिए। यद्यपि पर्सा र बाराका ग्रामीण भेगबाट उहिले वीरगंज आउनु ढुङ्गाको चिउरा चपाउनु सरह थियो। वीरगंजसम्म पुग्नको लागि सडक र सवारीको अभाव थियो। वीरगंज आसपासका गर्भवती महिलाहरूका लागि प्रसूति गृह वरदान साबित भयो। यद्यपि सवारीको अभावमा उपचार सेवा ग्रामीण भेगका महिलाहरूका लागि अपवादबाहेक सम्भव थिएन। उपचारको अभावमा कतिपय गर्भवती महिलाहरूको ज्यान जान्थ्यो, र ग्रामीण समाजले दैवको लीला भन्दै सन्तोष गर्नुको विकल्प थिएन।

अहिले ‘नारायणी केन्द्रीय अस्पताल’

महेन्द्र आरोग्य भवनमा सञ्चालित वीरगंज अस्पताल स्तरोन्नति हुँदै ‘नारायणी अञ्चल अस्पताल’ र त्यसपछि पञ्चायतकालमैं नारायणी उपक्षेत्रीय अस्पतालमा स्तरोन्नति भयो। विसं २०७२ पछि पुनः शासन व्यवस्था परिवर्तन भयो र अहिले गणतन्त्रीय शासन व्यवस्था कायम छ। पछिल्लो समय अर्थात् झन्डै तीन वर्षअघि तत्कालीन नारायणी उपक्षेत्रीय अस्पताल अहिले ‘नारायणी केन्द्रीय अस्पताल’मा स्तरोन्नति भइसकेको छ।

आपत्कालीन सेवा, प्रसूति तथा स्त्रीरोग, बालरोग, सामान्य शल्यक्रिया, अर्थोपेडिक्स र ट्रमा, छाला रोग, परिवार नियोजन, ईएनटी (नाक, कान, घाँटी), दन्तरोग, नेत्ररोग, मनोचिकित्सा, फिजियोथेरापी, रेडियोलोजी, प्याथोलोजी, नेफ्रोलोजी, एनेस्थेसियोलोजीलगायत विभिन्न उपचार सेवा उपलब्ध छन्।

विसं २०१८ मा दुईजना चिकित्सक तथा केही स्वास्थ्यकर्मीहरूबाट स्वास्थ्य सेवा शुरू भएको उक्त अस्पतालमा अहिले ७० जनाभन्दा बढी विशेषज्ञ चिकित्सक कार्यरत छन्। त्यस्तै, स्वास्थ्यकर्मी, कार्यालय सहायक, सफाइकर्मी तथा प्रशासन गरी दुई सयभन्दा बढी जनशक्ति छ। नेपाल सरकारको स्थायी दरबन्दी, छात्रवृत्ति करार, अस्पताल विकास समितिबाट नियुक्त जनशक्ति तथा ज्यालादारीमा गरी झन्डै तीन सय कर्मचारी अहिले नारायणी अस्पतालमा सेवारत छन्। अस्पताल स्रोतको अनुसार कुनै विभागमा आवश्यकताभन्दा बढी विशेषज्ञ चिकित्सक छन् भने कुनै विभागमा आवश्यकताभन्दा कम छन्।

देवतातुल्य दाताहरू

विसं २००८ देखि वर्तमानसम्म, नारायणी अस्पतालमा दाताहरूको सहयोग अनुकरणीय छ। अस्पतालको भवन निर्माण गर्नको लागि वीरगंज क्लथ मर्चेन्टबाट शुरू भएको सहयोग समयसमयमा विभिन्न स्थानीय दाताहरूबाट अस्पताललाई निरन्तर जारी छ। आकस्मिक कक्ष, प्रवेशद्वार, पार्क, विश्रामालय, पेय जल, जेनेरेटर, अक्सिजन प्लान्ट, पाइपलाइन गरी विभिन्न भौतिक संरचना तथा उपकरण दाताहरूको सहयोगले सम्भव भएको कुराको जति प्रशंसा गरे पनि कम हुन्छ। उहिलेदेखि अहिलेसम्मका दाताहरूलाई सम्मानित गर्नेतर्फ अस्पताल प्रशासन तथा अस्पताल विकास समितिको ध्यानाकर्षण हुनु अपरिहार्य छ।

उहिलेदेखि अहिलेसम्मका दाताहरूको सहयोगलाई एकछिन झिकेर हेर्दा सरकारी अन्धदृष्टि छर्लङ्ग हुन्छ। रिबन काट्न र वाहवाही लुट्न लालायित नेतागणहरू सङ्गीर्ण मानसिकताबाट मुक्त भई सकारात्मक पहल गर्ने हो भने यस क्षेत्रका नागरिकले स्वास्थ्योपचारको लागि महँगो अस्पताल धाउनुपर्दैन।

निष्कर्ष

उहिलेदेखि अहिलेसम्मको अवस्थामाथि विचार गर्दा अस्पतालको अवस्था सुधार नहुनुमा सरकारको पूर्वाग्रह, अस्पताल विकास समितिको किंकर्तव्यविमूढता र चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीबीचको अन्तरकलह मुख्य कारण देखिन्छ। कतिपय चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी सरकारी सेवाभन्दा निजी स्वास्थ्य संस्थातर्फ बढी क्रियाशील देखिन्छन्। सरकारी सेवामा बहाल भएर निजी स्वास्थ्य संस्था वा आफ्नै नर्सिङ होमतर्फ केन्द्रित चिकित्सकले सरकारी सेवा परित्याग गरी सरकारको बोझ हल्का गर्नुपर्छ। अन्य चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू उत्तरदायी हुनुपर्छ। दायित्वबोध गर्नुपर्छ। हाजिरीमा सीमित मानसिकताभन्दा बाहिर आउनुपर्छ। अस्पताल विकास समितिले अस्पतालको विकासमा ध्यान दिनुपर्छ, न कि कर्मचारी भर्नामा मात्र। कार्यकर्ताहरूको थपडीमाझ भाषण गरी रमाउने नेतागण अस्पतालप्रति संवेदनशील हुनुपर्दछ। अस्पतालको समस्या केन्द्रसम्म पु–याउनुपर्छ। कार्यान्वयन हुने गरी सकारात्मक अग्रसरता अपरिहार्य छ। राम्रो गर्नेलाई प्रोत्साहन र आचरणविरुद्ध काम गर्ने पात्रलाई कारबाईको भागीदारी बनाइनुपर्छ। राम्रो गर्नेको खुट्टा तान्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ।

जुनसुकै पेशाकर्मीका लागि पेशासँग सम्बन्धित संसाधन अनिवार्य आवश्यकता हो। कर्तव्य निर्वाहको सिलसिलामा संसाधनको अभावमा दक्ष जनशक्ति भए तापनि प्रभावकारी सेवा प्रवाह हुन सक्दैन। भौतिक संरचना, उपकरण, औषधि र दक्ष जनशक्ति स्वास्थ्य सेवाका लागि आवश्यक स्तम्भहरू हुन्। यी स्तम्भहरूमध्ये कुनै पनि एकको अभावमा सेवा प्रवाह अवरुद्ध मात्र हुँदैन, अपेक्षित परिणाम पनि प्राप्त गर्न सकिंदैन। जीर्ण भइसकेका भौतिक संरचनाको मर्मत सम्भारसँगै आधुनिक उपकरण तथा आवश्यक दक्ष जनशक्तिको पूर्ति गर्नु सरकारको प्रमुख दायित्व हो। कतिपय उपकरण मर्मतसम्भारको अभावमा वर्षौंदेखि बिग्रिएर थन्किएका छन्। यसर्थ केन्द्रीय अस्पतालको अनुभूति हुने गरी सरकारको सरोकार अपेक्षित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here