– शीतल गिरी

गताङ्कको बाँकी

त्यस्तै, चक्रपूजा र तन्त्रमन्त्रको साधना पद्धति बेबिलोन र मिश्रबाट दक्षिण भारतमा पैठारी भयो भन्दा आपत्ति हुनुहुँदैन। आसुरी विद्याको नामले पौराणिक साहित्यमा चर्चित विद्या पनि जादूटुना हो भन्ने बुझिन्छ। भगवान् महावीर र भगवान् बुद्धले पनि ज्ञानप्राप्तिको लागि कठोर तपस्या नै गरेका हुन्। (भिक्षु अमृतानन्द, जैन धर्मका बृहत् इतिहास तथा बुद्ध जीवनी) बुद्धले समाधि दशामा पुगेर ज्ञानज्योति प्राप्त गर्न शरीर सुकाएर होइन, सदाचार र सच्चरित्रताद्वारा वैचारिक एकताको नाउँमा शरीरलाई व्यर्थ दुःख दिनुले लाभ छैन, ज्ञानको निम्ति इन्द्रियजयी हुनु नै मुख्य हो भन्ने थाहा पाए।

आन्तरिक भावनामा आश्रित इन्द्रिय विजय गर्न मानसिक एकाग्रता चाहिने र यसको निम्ति सचेत मनले गरिने अष्टाङ्गिक मार्ग नै साधना पथ हो भन्ने बुझेकाले शरीर सुकाउनु वा मोटाउनुले केही फरक पर्दैनथ्यो। (राहुल, बुद्धचर्या) बुद्धदर्शनका निर्देशित साधना मार्गमा लागेका भिक्षुहरूले मानसिक एकाग्रता प्राप्त गरी तीव्ररूपमा मनशक्तिको विकास गरेकाले सानातिना चमत्कार देखाउन सफल भए। यसलाई बढ्ता सिद्धियुक्त बनाउन योगविद्यालाई विकसित गरेर शैव सम्प्रदायका योगीहरूले नाना किसिमका हठ–योग र त्राटक–क्रियाले सिद्धिलाभ गरेका थिए। राजयोग अथवा बुद्धद्वारा निर्देशित साधना पथ सरल भएपनि धेरै समय लाग्ने भएकोले तुरुन्त सफलता प्राप्त गरी जनमानसलाई आकर्षित गर्न लालायित बुद्धभिक्षुहरूले हठ योगलाई साधन बनाए। मन्त्रसाधक सिद्धहरूमा एकथरी स्वान्तः सुखाय साधना गर्दथे र अर्काथरी झटपट सिद्धिप्राप्त गरेर चमत्कारी बन्न चाहन्थे। श्रद्धालु भक्तजनलाई श्रद्धाको चुलीमा पु–याएर लाभ पनि हुन्थ्यो र मानमर्यादा पनि पाइन्थ्यो। नयाँ मन्त्र, नयाँ–नयाँ साधनापद्धति, नयाँ–नयाँ देवताका आविष्कारकर्ताहरू दोस्रो पक्षका भिक्षुहरू नै थिए। सिद्धियुक्त भिक्षुको मानभाउ बढ्ने नै भयो। विद्वान्हरू पश्चिम एशियाका मुलुकहरूमा सहस्रौं वर्षपूर्व नै भैरवीचक्रको चमत्कार चलेकोमा विश्वास गर्दछन्। यो कुरा सत्य हो भने त्यहाँबाट यो परम पवित्र र अनमोल चक्र यहाँ भिœयाउने श्रेय महायानी भिक्षुलाई नै दिनुपर्छ। विशुद्ध बौद्ध साधना पद्धतिमा मन्त्र, तन्त्र, हठयोग, मद्य, मास, मत्स्य, मुद्रा, मैथुन यी पाँच प्रकारका सर्वोपरि मान्यता बज्रयानको उदयपछि भयो भन्ने कुरामा विद्वान्हरू सहमत छन्। अहिंसा, सत्य, शौच, अस्तेय, ब्रह्मचर्य आदि दश शील धर्मको देशना गर्ने बुद्धयानी (बज्रसत्व) भिक्षुहरू साधना गरून्। मन्त्रयान सम्प्रदायका आविष्कार गर्नेमा पहिलो आचार्य नागार्जुन नै मानिन्छन्। वेद, विद्या पढेका तीक्ष्ण बुद्धियुक्त सर्वतोमुखी प्रतिभा भएका नागार्जुन, दक्षिण भारतका ब्राह्मणकुलमा जन्मेका थिए र वैदिक धर्मका शास्त्रमा निष्णात् भएपछि नै बुद्धधर्ममा दीक्षित भएका थिए भन्ने कुरा इतिहासविद्हरूले उल्लेख गरेका छन्।

यिनीलाई रसायनशास्त्रका ज्ञाता एवं आयुर्वेदशास्त्रका धुरन्धर विद्वान् थिए भनेर पनि मानिएको छ र कनिष्कको राजसभा (ईस्वी सन् ५८–१२५) का सभापण्डितको रूपमा पनि इतिहासकारहरूले नागार्जुनको स्थिति मानेका छन्। शून्यवादका पनि यिनी आद्याचार्य मानिन्छन्। (मनराल, डा पिएस (सन् १९८३), प्राचीन भारतका इतिहास) तन्त्रमन्त्रको उद्भव र विकासमा दक्षिण भारत नै मुख्य गढ थियो।

विदर्भ देशमा जन्मेका नागार्जुन प्रकाण्ड पण्डित थिए र यिनको माध्यमिक सूत्रमा सृष्टि सिद्धान्त

(सापेक्षवाद)को व्याख्या छ। यस कारण यिनीलाई वैज्ञानिक, तार्किक, मन्त्रतन्त्रका ज्ञाता आदि विशेषण दिइएको छ। यिनी ई. प्रथम सदीका मानिएको पक्षमा मन्त्रयानको शुरू प्रथम शताब्दी नै मान्नुपर्ने हुन्छ र राहुल सांस्कृत्यायनको कालविभाजन युक्तियुक्त देखिंदैन। सम्भवतः नागार्जुन विभिन्न सदीमा छुट्टाछुट्टै जन्मेका मान्नमा आपत्ति छैन, तापनि मन्त्रयान, विज्ञान शून्यवादी महायानशास्त्रका प्रवर्तक र रसायनशास्त्री नागार्जुनको समय केही विद्वान्ले पहिलो शताब्दी नै राखेका छन्। (केतु, डा सत्य ः भारतका प्राचीन इतिहास, पृ.४०१) वैपुल्यवाद र त्योभन्दा पूर्वको अन्धक निकायमा विशेष अभिप्रायले मैथुनको अनुज्ञा भएको पाइन्छ। तथापि खुलारूपमा आनन्दको लागि यो अगाडि आउन सकेको थिएन। मञ्जुश्री मूलकल्प मन्त्रयानको पुरानो ग्रन्थ मानिन्छ तथा वैपुल्य सूत्रमा पनि यस ग्रन्थको नाम आएको छ। युवक, युवती, भिक्षु, भिक्षुणीले जब काम पिपासा जित्न नसकेर साधना मार्गमा चित्त लगाउन सक्तैनन्, त्यो बेलाको निम्ति अनुज्ञा पाएको मैथुनलाई खुला समर्थन गर्न सकेको पाइँदैन। लामा लामा सूत्रमा रहेका बुद्धवचनको धारणी मन्त्र यिनीहरूले नै बनाए। भक्तजनको सुविधाको निम्ति पछि झन् छोटा मन्त्रहरू बने।

मन्त्रयानको विषयमा अनेकौं तन्त्र मन्त्रको विधान भए तापनि सदाचारलाई छोडेको पाइँदैन। बज्रयानको उदयमा भैरवी चक्र सेवनले बुद्धधर्मलाई अन्तिम चरणमा पु–याइदियो। (सांस्कृत्यायन, राहुल, पुरातत्व निबन्धावली, पृष्ठ ११५) राहुल सांस्कृत्यायन भन्छन्, “यो युगलाई गुप्त साम्राज्यमा शुरू र हर्ष साम्राज्यमा मन्त्रयानको समाप्ति मान्नुपर्दछ। यसको उत्पत्ति उत्तर भारत नभएर दक्षिण भारतको धान्यटक तथा श्रीपर्वतमा नै भएको हो।”

श्रीपर्वते महाशैले दीषणा पथ संज्ञके।

श्री धान्य कटके शैले जिन धातुधरे भुवि।

सिध्यन्ते तन्त्रमन्त्रान्वै क्षिप्रं सर्वार्थ कमेसु। (मूल कल्पपृष्ठ ८८)

तन्त्रमन्त्रशास्त्र र साधनापथको निमित्त श्रीपर्वत प्रसिद्ध थियो भन्ने कुरा छैटौं शताब्दीका बाण भट्टले हर्ष चरित्र प्रथम उच्छवासमा पनि उल्लेख गरेका छन्। (भट्ट, बाण ः (सन् ६००) हर्ष चरित्र) बङ्गालमा जादूटुनाको र श्रीपर्वतमा तन्त्रमन्त्रको विकास र मान्यता मुसलमानको आक्रमणकालसम्म रहेको इतिहासकारहरूले उल्लेख गरेका छन्। श्रीपर्वतको स्थिति, वर्तमान श्रीशैल नभएर नागार्जुनी कोंडाको “नहरल्ल–बडु” पहाड हो भन्ने कुरा कोण्डाको उत्खननबाट ज्ञात भएको छ। ब्राह्मणहरूले वेदविद्याको अभ्यास गरी ब्रह्मकर्मद्वारा मात्र ब्राह्मण हुन पाउने वैदिक प्रथा उत्तरकालमा समाप्त भयो। जन्मना जातिको मान्यताले अशिक्षित ब्राह्मण क्षत्रियको पनि अस्तित्वचाहिं बचायो साथै जातिवादको कट्टरतालाई पनि प्रश्रय दियो। शिक्षितको निम्ति कर्तव्यबोध गराउनुपर्ने आवश्यक थिएन। परन्तु अशिक्षितलाई कडा नियमले नबाँधिदिए खस्तै–खस्तै यिनको स्थिति तल पुग्थ्यो र ब्राह्मणेतर वृत्ति गर्नेहरू स्वयम् पेशागत अन्य जातिमा गएर मिल्ने थिए। जातिप्रथाको दूषित पक्षको विरोधमा बुद्ध र महावीर खडा भएका थिए। सदैव सचेत मनले संयम जीवन बिताउने उपदेश बुद्धले दिएका थिए। तापनि ठूलो समूह बनेको भिक्षुसङ्घमा यो संयम र नियम चिरस्थायी रहन सम्भव थिएन।

एकपटक जानीनजानी खसेपछि बराबर खसिरहन आपत्ति हुँदैन। वैपुल्यवादले विशेष कारणमा मैथूनको आज्ञा दिएपछि यस्ता कारण बराबर परि नै रहे। भैरवी चक्र पनि विनाकारण आएन। विकासक्रमले निकै समय लिन्छ। मत्सेन्द्रनाथको समयमा चरमसीमामा पुगेको बज्रयानको प्रारम्भ छैटौं सदीको शुरूमैं भएको थियो। तन्त्र साधना पद्धति गोप्य रहने हुँदा भित्रभित्रै गृह्य समाजले व्यापकता पाउँदै गयो र सातौं–आठौं सदीमा पूर्ण विकसितरूपमा प्रकट भयो। सामाजिक क्षेत्रमा दुराचार मानिने पन्थको कडा विरोध हुने र घृणास्पद मानिने हुँदा समाजमा बहुमत नभएसम्म देखा परेन। बज्रयान सम्प्रदायका प्रामाणिक शास्त्रको रूपमा १. गूढ विनय, २. मायाजालतन्त्र (भोट कन्जूर ८४।१०), ३. गृह्य समाजतन्त्र, (कन्जूर ८३।२), ४. महासमय तत्व, ५. पद निक्षेप, ६. तत्व सङ्ग्रह (कन्जूर), ७. भूत या (डामर) तन्त्र (कन्जूर ४३।८), ८. बज्रामृत (कन्जूर ८०।१), ९. चक्रसम्वर (कन्जूर ८०।१), १०. द्वादश चक्र (काल चक्रयान), ११. भेदकाद्बुद (हेरूकाद्भूत), १२. महामाया (कन्जूर ८२।३), १३. पदनिः क्षेप, १४. चतुष्पिपट (चतुः पीठतन्त्र), १५. परामर्द (महासहस्र प्रमर्दनी), १६. मारीच्युद्भव, १७. सर्वबुद्ध (सर्वबुद्ध समायोग), १८. सर्वगुह्य (क्रोधराज सर्वमन्त्र गृह्यतन्त्र), १९. समुच्चय (बज्रयान समुच्चय), २०. माया मारीचि कल्प (कन्जूर ९१।६), २१. हेरम्ब कल्प, २२. त्रिसमय कल्प (त्रिसमूह व्यूह राजतन्त्र), २३. बज्रगान्धार कल्प

(मारीचि कल्प), २४. राज कल्प (परमादि कल्प राज), २५. बज्रगान्धार कल्प

(मारीचि कल्प), २६. गुह्य कल्प (गुह्य परम रहस्य कल्प राज) र २७. शुद्ध समुच्चय कल्प (सर्वकल्प समुच्चय) मानिन्छन्। तिब्बती साहित्यमा बज्रयान धर्मचक्र प्रवर्तन बुद्धबाट भएको भन्ने र यस निकायको धर्मग्रन्थको परिगणन गर्ने “निकाय सङ्ग्रह” भन्ने ग्रन्थको रचना पनि दक्षिण भारतमैं भएकोले यसको उत्पत्ति र विकास आन्ध्रमा नै भयो। त्यतैबाट उडिसा हुँदै बङ्गाल र बिहारमा आएको विद्वान्हरूले अनुमान गरेका छन्। यी शास्त्रहरूको विस्तृतीकरण, सङ्क्षेप, भाष्य र अन्य विशेषताका साथै नयाँ ग्रन्थको रचना नालन्दा विक्रमशिला विश्वविद्यालयमा भएको हुँदा हुन्, ती सबै मुस्लिम आक्रमणमा परेर स्वाहा भए, बज्रयानका ग्रन्थहरूले हठयोग–साधना गरी सिद्धिलाभ गरेका महायोगीहरू समदृष्टि हुन्छन् र सबै विषयभोग गरे पनि विनिर्मुक्त भएका मानिन्छन्। तर समाजमा सभ्यताको शुरू भएदेखि नै अकर्तव्य मानिएको र अनियमित प्राकृत जीवनका धरातलमा फेरि पु–याउने काम कुराहरूको यो पन्थमा शुरू भए। प्राणीको वध गर्नु, झूटो बोल्नू, नदिएको लिनू (चोरी गर्नु), आमा, बहिनी, छोरी, भान्जी, बाहुनी, धोबिनी, डुमिनी, चाण्डाल्नी जुनसुकै जातिको भएपनि र जेजस्तो नाता लाग्ने भएपनि स्त्रीसेवन (मैथुन) गर्नुहुन्छ भन्ने यी मन्त्रका वचनहरूले बुद्धधर्मको शाश्वत् मर्यादालाई कसरी उल्लङ्घन ग–यो भन्ने थाहा हुन्छ। क्रमशः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here