चितवन राष्टिय निकुञ्जले निकुञ्जको जङ्गलभित्र घाँसे मैदान बनाउने प्रस्ताव अगाडि सारेको छ। राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र विभिन्न पाँच स्थानमा १० देखि १५ हेक्टर क्षेत्रफलको घाँसे मैदान निर्माण गर्नका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रस्ताव पठाएको हो। उक्त घाँसे मैदानमा बा–है महीना घाँस पलाउने गरी मजदूर कर्मचारी खटाएर व्यवस्थापन गर्ने निकुञ्जको कार्ययोजना छ। निकुञ्जको क्षेत्रमा पर्ने जिल्लाहरूमा पर्सा, मकवानपुर, चितवन र नवलपरासी हुन्। पर्सा राष्ट्रिय निकुञ्जसमेत चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुको क्रियाकलापबाट प्रत्यक्ष प्रभावित रहेकोले पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएका जिल्लाहरू पनि चितवन राष्ट्रिय निकुञ्जको प्रभाव क्षेत्र मानिनुपर्छ। पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएका क्ष्Fेत्रहरूमा वन्यजन्तुबाट जति पनि क्षति भएका छन्, त्यसरी क्षति पु–याउने हात्ती, गैंडा, बाघलगायतका जनावर अधिकांश चितवनबाटै पर्सामा प्रवेश गरेका हुन्छन्। हुनत पर्सा राष्ट्रिय निकुञ्जको आफ्नै विशेषता छ। यहाँका वन तथा वन्यजन्तुको पहिचान अलग छ, फेरि पनि चितवनमा जङ्गली जनावरको घनत्व, चरण क्षेत्र एवं जनावरको आहार उपलब्धतालगायतमा फरक पर्दा त्यसको प्रत्यक्ष असर पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्छ। अतः चितवनको वन तथा वन्यजन्तु संरक्षणमा पर्सा राष्ट्रिय निकुञ्जको ठूलो योगदान छ। दुवै राष्ट्रिय निकुञ्ज अभिन्नरूपमा सीमा जोडिएको हुँदा यसो भएको हो।
राष्ट्रिय निकुञ्जभित्र प्राकृतिकरूपमा कैयन घाँसे मैदान छन्। त्यस्ता घाँसे मैदानहरूको व्यवस्थापन केवल औपचारिकतामा मात्रै सीमित छ। विभाग वा दातृ निकायबाट प्राप्त सहयोग रकमबाट दुनो सोझ्याउने, गोजी भर्ने काम मात्रै भइरहेको छ। निकुञ्ज क्षेत्रभित्र वन तथा वन्यजन्तु संरक्षणका लागि युएनडिपी, डब्ल्यूडब्ल्यूफ, पार्क एन्ड पिपुल, ताललगायतका स्वदेशी तथा विदेशी सङ्घ/संस्थाहरूबाट दशकौंदेखि रकम खर्चिएका छन्। प्रतिफल भने एउटा संस्थाले लगानी गरेर गयो, अर्को आउँदा जस्ताको त्यस्तै।
एकपटक बनेको सम्पत्तिलाई निकुञ्जले स्वामित्वमा लिने र त्यसको निरन्तर व्यवस्थापन गर्ने स्थायी संयन्त्र निर्माण गरिनुपर्छ। बस्ती हटाइएका स्थानहरू पर्साको रामभौरीभाथा, चितवनको भीमपुर, पिप्ले, पदमपोखरी क्षेत्र व्यवस्थित र मनोरम घाँसे मैदान बन्न सक्छन्। यस्ता मैदानहरूले वन्यजन्तुलाई घाँस, बास र राज्यलाई पर्यटनबाट राजस्व दिन सक्छ। हाल उक्त क्षेत्रहरू मिचाहा प्रवृत्तिका झार र काम नलाग्ने बुट्यानहरूले ढाकिंदैछन्। यसको अलावा जङ्गलभित्र पनि प्राकृतिकरूपमा रहेका घाँसे मैदानहरूमा सिंचाइ, पोखरी साथै वरिपरि अग्निरेखाको व्यवस्था गर्ने साथै वन्यजन्तुलाई काम नलाग्ने झार, बुट्टाहरू हटाएर बा–ह मासे जातका भुइँ घाँसहरू लगाउनु जरुरी छ। यसो हुन सकेमा बाली खान बस्ती चहार्ने वन्यजन्तु त्यतै रमाउनेछन् र प्रभावित क्षेत्रका बासिन्दाले पनि राहत पाउनेछन्। यसतर्फ सम्बन्धित निकुञ्ज र सरकार संवेदनशील हुनुपर्छ। चितवनमा घाँसे मैदानको प्रस्ताव वन तथा वन्यजन्तु संरक्षणको पक्षमा साकार होस्।